
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विषयमा जारी विवाद समाधानको लागि ‘नो केबलकार समूह’ले चार सर्त अघि सारेको छ। गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि उनीहरूले चार सर्त अघि सारेर वार्तामा बस्ने विज्ञप्तिमार्फत जनाएका हुन्।
नो केबलकार समूहले मंगलबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा दिगो शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि संघर्षरत पक्षबाट वार्ताको वातावरण तयार गर्ने हो भने चार सर्त मान्नुपर्ने जनाएको हो।
विज्ञप्तिमार्फत उनीहरूले मन्त्रीस्तरीय वार्ता समिति गठन गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार हुनुपर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरीलगायत स्थानबाट पक्राउ गरिएकाहरूलाई निसर्त रिहाइ गरी ताप्लेजुङको निषेधाज्ञा हटाउनुपर्ने सर्त राखेका छन्। यस्तै, केबलकार निर्माण कार्य बन्द गरी निर्माणस्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नुपर्ने, पाथीभरा मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने माग गरेका छन्। गृह मन्त्रालयले यसअघि ९ फागुन र १२ फागुनमा विज्ञप्तिमार्फत वार्तामा आउन आग्रह गरेको थियो।
केबलकार निर्माण क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि गत २० माघमा गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो। ‘नो केबलकार’ समूहले ६ देखि ८ फागुनसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रमको अन्तिम दिन ८ फागुनमा केबलकार निर्माणस्थल काफ्लेपाटीमा ‘नो केबलकार’ समूह र प्रहरीबिच झडप भएको थियो।
उक्त झडपमा प्रहरी, सवारीचालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने झडपलाई नियन्त्रण प्रहरीले सात राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थिए।
काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समूह शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए। शनिबार साँझ पनि ‘नो केबुलकार समूह’ र प्रहरीबिच झडप हुँदा २४ जना घाइते भएका थिए। झडपमा १२ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका थिए। घाइतेमध्ये एकजना प्रहरी र तीनजना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ।