
सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका अर्का सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।
महतलाई पोखरा महानगरपालिका लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गत तालिम केन्द्रमा मृत फेला पारिएको थियो । उनको मृत्युपछि परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा सशस्त्र प्रहरी बल २३ नम्बर मनकामना गण भानु तनहुँमा दरबन्दी भइ कास्कीमा कार्यरत सुदुरपश्चिम घर भएका जोशीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा किटानी जाहेरी दिएका थिए ।
परिवारको किटानी जाहेरीपछि कास्की प्रहरीले उजुरी दर्ता गरी सोमबार जोशीविरुद्ध जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि जोशीलाई सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर बुझाएको थियो ।
कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार घटनाको अनुसन्धानका लागि जोशीलाई थप सात दिन हिरासतमा राख्न मंगलबार अदालतबाट अनुमति पाएको हो ।
सन्धुपाल्चोक घर भएकी महत १७आँै ब्याच (२०८१) की निरीक्षक हुन् भने पक्राउ परेका निरीक्षक जोशी भने एक ब्याच सिनियर अर्थात १६आँै ब्याचका हुन् । सोतका अनुसार उनीहरू प्रेममा रहेको र सम्बन्धमा खटपट भएपछि महतले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । ०७२ सालमा जवानमा भर्ना भएकी महतले ०७८ सालमा असई र ०८१ मा निरीक्षकमा नाम निकालेर तालिम लिँदै थिइन् ।
महत शनिबार बेलुका २१ः३० बजे तालिम केन्द्रको महिला शौचालयको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । महत सिंस १७ को आधारभूत तालिम लिँदै थिइन् ।