
सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ स्वास्थ्यकर्मी विगत चार महिनादेखि तलब पाउनबाट वञ्चित भएका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा जिल्ला अस्पतालमा कार्यरत १७ जना कर्मचारीले चार महिनादेखि तलब पाउन नसकेका हुन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ढिलाइले तलब नपाउँदा उनीहरूको दैनिक जीवन प्रभावित बनेको छ ।
रातदिन खटिएर ड्युटी गरिरहेको र तलब नआउँदा घरबाट खर्च लिएर काम गर्न बाध्य भएको अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट अञ्जना रानाले गुनासो गरिन् । उनले आफू अस्पतालमा विगत नौ वर्षदेखि कार्यरत रहेको र अहिले आएर सामाजिक विकास मन्त्रालयले बजेट नपठाउँदा चार महिनादेखि तलब नपाएको बताइन्।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढाले यस विषयमा पटक–पटक प्रदेश सरकारसँग पत्राचार गरेको, तर बजेट नपठाएको बताए। अस्पतालमा अहिले पनि जनशक्ति नहुँदा वेलावेला सेवा रोकिने समस्या भइरहेको अवस्थामा कर्मचारीले तलब नपाउनु दुःखद भएको बताए। मन्त्रालयले बजेट नपठाउँदा ०७५ सालदेखि विभिन्न शीर्षकमा कार्यरत करार सेवाका कर्मचारीले काम छोडनुपर्ने अवस्था आएको उनले बताए ।
अहिलेसम्म करारका कर्मचारीका भरमा सेवा प्रवाह विस्तार गरेको र कर्मचारी हटाउनुपर्दा सेवा घटाउनुपर्ने अवस्था आउने उल्लेख गरे। आर्थिक संकट झेलिरहेका करारका कर्मचारीले तत्काल तलब पाउने कि नपाउने भन्ने अन्योल कायमै छ । पटक–पटक सम्बन्धित निकायमा कुरा राख्दा पनि सुनुवाइ नभएको डा. बुढाले बताए।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संघबाट आउने बजेट कटौती भएकाले प्रदेश सरकारले बजेट पठाउन समस्या भएको बताए। उनले कर्णालीका अन्य जिल्ला अस्पतालमा पनि यो समस्या आएकाले अर्थ मन्त्रालयसँग बजेटको माग भइरहेको बताए। उनले भने, ‘बजेट थप भएमा करारका कर्मचारी निरन्तरता दिन सकिन्छ, तर बजेट थप नभएमा हटाउनुको विकल्प छैन ।’ सामाजिक विकास मन्त्रालयमा बजेट नभएको र अर्थ मन्त्रालयले बजेट व्यवस्था गरेमा तत्काल जिल्लामा पठाउने मन्त्री भण्डारीले बताए ।