सप्तरीको डाक्नेश्वरी नगरपालिकाले मुख्य बजार पातोचोक तथा आसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ।
सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचनामाथि शनिबारदेखि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नगरपालिकाले डोजर चलाएको हो। डाक्नेश्वरीका मेयर रामलखन मुखियाले अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना गरिए पनि नहटाएपछि डोजर लगाएर भत्काउनुपरेको बताए।
सप्तरी जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत राजविराज हुँदै सर्वोच्चमा पुगेको जग्गाको उक्त मुद्दामा सर्वोच्चले सार्वजनिक जग्गा नै भएको ठहर गरेपछि सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर चलाएको उनले बताए।
व्यक्तिको एक इन्च जग्गा नछुने र सार्वजनिक जग्गा एक इन्च पनि नछाड्ने मेयर मुखियाले प्रस्ट्याएका छन्।