कांग्रेस कञ्चनपुरका युवा नेता अच्यूतराज कलौनीको अन्त्येष्टि गरिएको छ। कांग्रेस भीमदत्त नगरका सभापति कलौनीको आइतबार दिउँसो महाकाली नदीमा अन्त्येष्टि गरिएको हो। कलौनी परिवारले हिन्दुसंस्कारअनुरूप कलौनीको पार्थिव शरीर महाकालीमा अन्त्येष्टि गरेका हुन्।
शनिबार भीमदत्त नगरपालिका–१८ को मामाभान्जा चोक सडक पेटीमा मृत अवस्थामा भेटिएका कलौनीको फोरेन्सिक मेडिसिनविज्ञ डा. अरबिन शाक्य नेतृत्वको चिकित्सकको टोलीले पोस्टमार्टम गरेको थियो। पोस्टमार्टमपछि घर, बैजनाथ मावि र पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गरी अन्त्येष्टि गरिएको हो।
कलौनीको अन्त्येष्टिमा गृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरका मेयर पदम बोगटीसहितका कांग्रेस नेता-कार्यकर्ता एवं सहकर्मी, सयौँ स्थानीयको सहभागिता थियो।