अछामको ढकारी गाउँपालिका–१ छिन्ने वडारको जंगलमा मृत भेटिएकी सरस्वती खड्का र इसरा खड्काको आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ। यौन प्रस्ताव गर्दा नमानेपछि सुरुमा सरस्वतीको हत्या गरिएको र घटना सार्वजनिक हुने डरले इसरालाई पनि ढुंगाले हानेर मारिएको हो।
जिल्ला प्रहरी कार्यालय, अछामले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार घटनामा संलग्न १५ वर्षीय किशोर र सरस्वती तथा १७ वर्षीय अर्का किशोर र इसरा प्रेमी-प्रेमिका हुन्। उनीहरूबिच यसअघि पनि पटक–पटक भेट तथा फोनमा कुराकानी हुने गरेको अनुसन्धानका क्रममा खुलेको छ। दुई दिनअघिदेखि फोन सम्पर्कमा भएको सल्लाहबमोजिम माघ ११ गते शुक्रबार सरस्वती, इसरा तथा किशोरहरूबिच छिन्ने वडारमा भेट भएको हो। ढकारी–८, पल्साताको काँसेगडाकी १५ वर्षीया सरस्वती र १४ वर्षीया इसरा तथा दुवै किशोरहरूले सुरुमा जंगलको ठुलो ढुंगामाथि बसेर मोबाइलमा रहेका गीत, भिडियो आदानप्रदान गर्छन्। त्यसपछि दुवै किशोरले आफ्नी प्रेमीकासँग मायाको चिनो स्वरूप दोपट्टा माग्छन्। इसराले दोपट्टा दिन्छिन् भने सरस्वतीले अस्वीकार गर्छिन्। यतिकैमा सरस्वती र उनका प्रेमी बसेको ठाउँबाट अलि तल अर्को ठाउँमा गएर बस्छन्।
घटना विवरण सार्वजनिक गर्दै अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारी
त्यहाँ पुगेर सरस्वतीका प्रेमीले उनलाई विवाह गर्ने सर्तमा यौन प्रस्ताव गर्छन्। अहिले उमेर नपुगेकाले पाँच वर्षपछि विवाह गर्ने, तर शारीरिक सम्बन्ध भने अहिले नै गर्नुपर्ने किशोरको अडान अस्वीकार गर्दा सुरुमा सरस्वतीको हत्या भएको पत्रकार सम्मेलनमा अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। ‘उनका प्रेमीले पछाडिबाट ठुलो ढुंगाले हिर्काएको देखिन्छ,’ डिएसपी भण्डारीले भने, ‘त्यही चोटले सरस्वतीको मृत्यु भएको हो।’ सरस्वतीको हत्यापछि घटनालाई भवितव्य देखाउन उनले माथिबाट ढुंगा खसाउन थालेपछि नजिकै बसेका इसरा र उनका प्रेमीले थाहा पाए। सरस्वतीको शवनजिकै आएर इसराले फुपूलाई तिमीहरूले मार्यौ, अब म घरमा भन्छु भन्दै चिच्याउन थालेपछि दुवै किशोर मिलेर यो घटना कतै नभन्न आग्रह गर्दा पनि उनले नमानेपछि इसरालाई समेत ढुंगाले हानेर हत्या गरेको किशोरहरूले बयानमा स्विकारेका छन्।
इसरालाई सुरुमा उनकै प्रेमीले ढुंगा प्रहार गरेको र त्यसपछि अर्का किशोरले पनि सघाएर इसरालाई मारिएको थियो। स्थानीय विद्या प्रबोधनी माविमा कक्षा ८ मा पढ्ने सरस्वती र इसरा तथा ढकारीको गुरुकुल माविमा कक्षा ८ र १० मा पढ्ने ती किशोरहरूबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको दाबी छ। घटना घटेको दिन किशोरहरु ढकारी–१ डुफास्थित फूपुको घरबाट उनीहरूलाई भेट्न जंगल गएका थिए। माघीको कोसेली पुर्याउन फूपुको घर आएको मौकामा उनीहरूले त्यो दिन छिन्नेवडार जाने बाटो देखाइदिन भन्दै फुपूका १० वर्षीय छोरालाई समेत सँगै लिएर जंगल गएको देखिन्छ। ती बालकको संलग्नता हालसम्म नदेखिएको, तर निगरानीमै राखिएको प्रहरीले जनाएको छ। हत्यापछि घटनालाई भवितव्य देखाउने उद्देश्यले फेरि भिरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसाली गाउँ हिँडेका उनीहरू आइतबार राति ढकारी–३, तालीस्थित घरबाटै पक्राउ परेका थिए। कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएका उनीहरू १८ वर्षभन्दा कम उमेरका भएकाले नाम सार्वजनिक गरिएको छैन। उनीहरूविरुद्ध यसअघि नै किटानी जाहेरी दर्ता भइसकेको छ। हत्या गरिएका सरस्वती र इसराको शव भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम गरिएको छ, तर रिपार्ट आउन बाँकी छ।
त्रुटिरहीत अनुसन्धान गर्ने प्रहरीको आवश्वासनपछि उनीहरूको गत बुधबार स्थानीय वर्षाली खोलामा दाहसंस्कार गरिएको थियो। यो घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले अनुसन्धान गरेको थियो।
अझै त्रासमा छ काँसेगडा
सरस्वती र इसराको गाउँ घोडासैनको काँसेगडाका स्थानीयले हत्या आरोपी सार्वजनिक भएपछि पनि सुरक्षित महसुस गर्न सकेका छैनन्। सरस्वती र इसराको परिवार त झनै बढी त्रासमा छ। ‘दिउँसो त बस्छौँ। तर, राति धेरै डर लाग्छ,’ सरस्वतीका बुबा उदयराम खड्काले भने। भारतमा मजदुरी गर्ने उनी छोरीको हत्यापछि भर्खर घर आएका हुन्। उनका पाँच सन्तानमध्ये सरस्वती कान्छी थिइन्। उनको हत्यापछि यो घरमा चुल्होमा आगो बलेको छैन।
घरको आँगनमा बसेका इशरा र सरस्वतीका परिवार
मान्छे मात्र होइन गाईवस्तु पनि भोकभोकै छन्। घटनापछि आफूहरू डरले आँगन छोडेर बाहिर निस्किन नसकेको सरस्वतीकी कान्छीआमा जुनादेवी खड्काले बताइन्। ‘हामीलाई पनि मार्दिन्छ कि भन्ने डर छ,’ उनले भनिन्, ‘मेलापात जानै सक्दैनौँ।’ सरस्वतीको शव भेटिएको दिनदेखि उनकी आमा तारा अझै अचेत छिन्। उनी खान, सुत्न मात्र होइन् बोल्नसमेत सक्दिनन्। ‘बोल्न सक्नुहुन्न, ’जुनादेवीले भनिन्, ‘इसराकी आमाको अवस्था पनि यस्तै हो।’ इसराकी भाउजू कृष्णा विष्टका अनुसार डरले दुवै परिवार रातभर जाग्राम बस्ने गरेको छ। यो दुई घरमा मात्र होइन काँसेगडा टोलका सबै पाँच घरमा नै त्रास छ। वरिपरि जंगलले घेरिएको काँसेगडा साँझ ढल्यो कि सुनसान हुन्छ। ‘राति कोठाबाट निस्कन धेरै डर लाग्छ,’ सरस्वतीकी भाउजू कल्पना खड्का भन्छिन्, ‘त्यो दिनदेखि एकछिन पनि निन्द्रा लागेको छैन।’
ढकारी–८ का पूर्ववडाध्यक्ष लालबहादुर भण्डारी यो घटनाले सिंगो गाउँमा त्रास उत्पन्न गरेको बताउँछन्। ‘यो टोलका सबैले असुरक्षित महसुस गरिरहेका छन्,’ उनी भन्छन्, ‘यसबारे पनि सोचिदिनुपर्छ।’ उनका अनुसार यो घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने स्थानीयको शंका छ। सरस्वतीका बुबा उदयराम खड्काले हत्यामा ६ जनाको संलग्नता रहेको दाबी गरे। दुईजना पक्राउ परे पनि अझै चारजना दोषीलाई पक्राउ नगरिएको उनको गुनासो छ। जसका कारण गाउँ त्रासमा रहेको उनले बताए।