पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले शीतयुद्धपछि अभ्यासमा रहेको अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत आधार खल्बलिन थालेको र नेपालले चनाखो हुनुपर्ने बताएका छन्। नेपालको भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रधानता मिडियाद्वारा शनिबार नेपाल बार एसोसिएसनमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दे पाण्डेले भूगोलको उपयोगमा नेपाल संयम हुनुपर्ने उल्लेख गरे।
छिमेकी भारत र चीनलाई नेपालको महत्व सम्झाउन सक्नुपर्नेमा जोड दिँदै पाण्डेले यसका लागि कूटनीतिक सिप विकास गर्नुपर्ने सुझाव दिए। ‘अविकसित राष्ट्रको अवस्थाबाट उनीहरू आर्थिक महाशक्ति भएका छन् र विश्व महाशक्ति बन्ने दौडमा छन्,’ पाण्डेले भने, ‘भारत र चीनले आर्जन गरेको प्रगति, शक्ति, वैभव र स्थायित्व त्यति वेला मात्र बलियो हुन्छ जब नेपालजस्तो छिमेक आर्थिक रूपमा बलियो हुन्छ भन्ने कुरा सम्झाउने सिप नेपाललाई चाहिएको छ।’
नेपालको विश्व सम्बन्धका अनुभवहरूमा प्रकाश पार्दै पाण्डेले भने, ‘कूटनीतिक सिपमा खिया लाग्दै गएको र छिमेकीहरूसँगको विश्वासको सञ्चिति रित्तिन थालेकोमा मलाई चिन्ता छ। अहिले भारत चीन र अमेरिकाको सामरिक चिन्तन र अन्तर्राष्ट्रिय नीति आत्मकेन्द्रित हुन थालेकाले नेपालको लागि वैदेशिक सम्बन्धमा समायोजन तथा भूगोलको उपयोगमा संयम हितकर हुन्छ।’
अर्को सन्दर्भमा सोधिएको प्रश्नमा पूर्वपरराष्ट्रमन्त्री पाण्डेले नेपालले युक्रेनविरुद्ध रुसको आक्रमणलाई समर्थन गर्नु जायज भएको पनि बताए। ‘ठुलो देशको थिचोमिचो वा आक्रमणलाई नेपालजस्तो देशले समर्थन गर्दैन। युक्रेनका सन्दर्भमा नेपालले लिएको कदम ठिक थियो,’ पाण्डेले भने।