एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तक सार्वजनिक भएको छ। शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त पुस्तक विमोचन गरेका हुन्।
एमाले मोरङको इन्चार्जसमेत रहेका घिमिरेले पञ्चायतविरुद्धको आन्दोलनमा झापा, मोरङ र सुनसरीमा भएको संघर्षका क्रममा उनले सँगालेका अनुभव, भोगेका घटना र संगत गरेका चार सयजना अगुवाको परिचय र भूमिका पुस्तकमा फोटोसहित समावेश छ।
सभामुख घिमिरेले ‘कमरेड हिजो र आज’ पुस्तकलाई गहन राजनीतिक चिन्तन बोकेको पुस्तक भन्दै हिजोको परिवर्तनमा भूमिका खेल्नेहरूको परिचयलाई बाहिर ल्याउन सफल भएको बताए। उनले परिवर्तनकारी आन्दोलनको योगदान एउटा सानो पुस्तकमा मात्र समेट्न गाह्रो हुने भएकोले अझै धेरै पुस्तक लेखेर संस्थागत रूपमा काम गर्नुपर्ने जोड दिए।
‘कमरेड हिजो र आज’ पुस्तक लेखेर पञ्चायतविरोधी आन्दोलनको इतिहास संरक्षण गरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी इन्चार्ज शेरधन राई, एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, माओवादी प्रदेश सांसद गीता तिम्सिनालगायतले लेखक घिमिरेलाई धन्यवाद दिए। समालोचक डा. रमेश भट्टराई, रेडियोकर्मी चन्द्र भण्डारी, शिक्षक निर्मला कोइरालालगायतले टिप्पणी गर्दै इतिहासलाई सम्झाउन सफल ‘कमरेड हिजो र आज’ ले लामो समय निष्ठाको राजनीतिकमा सक्रिय नेता घिमिरेको परिचय थप गर्न सफल भएको बताए।
पुस्तकमा पञ्चायतविरोधी आन्दोलनमा तत्कालका कम्युनिस्ट आन्दोनलमा योगदान गर्नेहरू मात्र नभएर अगुवा कांग्रेस नेताहरूको पनि परिचय समावेश छ। पुस्तकमा पञ्चायतविरोधी आन्दोलनमा सहयोग पुर्याउनेहरू प्राध्यापक, शिक्षक, साहित्यकार, संस्कृतिकर्मी, सामाजिक अभियन्ता, राजनीतिक नेता र कार्यकर्ताहरूको परिचय र भूमिका उल्लेख छ।
विमोचन कार्यक्रममा तत्काल झापा, मोरङ र सुनसरीमा रहेर पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भूमिका निभाउने सबै अगुवालाई आदर र १२ जना अगुवालाई सम्मान पनि गरिएको थियो।