पाँचौँ संकरणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता ०८१ को उपाधि महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल र पुरुषतर्फ नेपाल प्रहरीको नेपाल पुलिस क्लबले हात पारेका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा महिलातर्फ आयोजक टोलीले साविक विजेता सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा र पुरुषतर्फ पुलिसले घरेलु टोली गण्डकीले प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।
महिलातर्फको फाइनल खेलको पहिलो सेट १७–२५ ले पछि परेको आयोजकले दोस्रो सेट भने २९–२७ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेल एक एकको बराबरीमा भएको अवस्था तेस्रो सेट २५–२१ ले एपिएफले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट आयोजकले २५–१६ ले आफनो पक्षमा पारेको थियो ।
खेल दुई दुई सेटको बराबरीमा पुगेको अवस्थामा निर्णयक एवं अन्तिम सेटमा १५–१३ ले आफनो पक्षमा पार्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । पाँचाँै संस्करणसम्म आईपुग्दा प्रतियोगितामा आयोजकले महिला टोली सहभागिता गराएको यो पहिलोपटक हो ।
आयोजकको महिला टोलीले पहिलो पटकमै उपाधि उचाल्न समेत सफल भएको छ । सम्पन्न पाँचाँै संस्करणको फाइनल खेलसँगै एपिएफ र आयोजकको तेस्रोपटक भिडेका हुन् ।
यसअघि लिग चरणको खेलमा ३–० र क्वालिफायरमा ३–१ को सेटमा एपिएफ विजयी भएको थियो । यस अघिका दुई खेलमा विजयी एपिएफ तेस्रो जित हात पार्ने उदेश्यसहित मैदान उत्रेको थियो भने आयोजक दुई हारको बदला लिदै उपाधि उचाल्ने उदेश्यसहित मैदानमा प्रस्तुत भएको थियो । जितसँगै आयोजकले दुई खेलमा भएको हारको बदला उपाधि चुमेर लिएर छ ।
पुरुषतर्फ फाइनल खेलको पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफनो पक्षमा पारेको पुलिस तेस्रो सेटमा २०–२५ ले पछि परेको थियो भने चौथो सेट २५–२२ ले आफनो पक्षमा पादै पुलिसले उपाधि हात पारेको थियो ।
फाइनलसम्म आईपुग्दा सम्पन्न प्रतियोगितामा यसअघि नकआउट चरणको खेलमा पुलिसले गण्डकीलाई ३–२ को सेटमा पराजित गरेको थियो । फाइनल खेलमा पुलिस आफ्नो विजयी यात्रा जारी राख्ने उदेश्यसहित मैदान उत्रदा गण्डकी भने यसअघिको हारको बदला लिदै उपाधि उचाल्ने उदेश्यसहित मैदान उत्रेको थियो । उपाधिसँगै पुलिसले आफनो विजयी यात्रा जारी राख्दा गण्डकी भने बदला लिनबाट चुकेको छ ।
प्रतियोगितामा महिलातर्फ न्यु डायमण्डले तेस्रो स्थान हात पार्दा पुरुषतर्फ अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।
प्रतियोगितामा महिला पुरुष दुवैतर्फको विजेताले समान पाँच लाख ८५ हजार ५५५, दोस्रोले समान दुई लाख ८५ हजार ५५५ र तेस्रो हुनेले टोलीले समान एक लाख ८५ हजार ५५५ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाएका आयोजक ग्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।