संखुवासभाका सुमन विश्वकर्माको दुबईमा सात दिनअघि हत्या भएको छ । वैदेशिक रोजगारीको सिलसिला एक महिनाअघि मात्रै दुबई पुगेका सुमनको हत्या भएको हो ।
खाँदबारी नगरपालिका–८, डाँडागाउँका ३५ वर्षीय सुमन विश्वकर्मा वैदेशिक रोजगारीको सिलसिलामा पुसमा दुबई पुगेका थिए । उनी दुबई पुगेको १५ दिन कामविहीन बसे भने काममा लागेको १५ दिनमा नै उनको हत्या भएको खबर आएको श्रीमती प्रतिमा विश्वकर्माले बताइन्। सुमन र कोहलपुरका मगर थर भएका युवासँगै कम्पनीमा काम गर्ने र एउटै कोठमा सुत्ने भनेर कम्पनीले दिएको थियो । एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्ने साथी भएकाले १५ दिनभित्र उनीहरू साथी भइसकेका थिए । एक दिन दुवैजना मदिरा पिउने क्रममा आपसमा विवाद हुँदा साथीले छुरा प्रहार गरी हत्या गरेको खबर आएको परिवारको भनाइ छ । उनका साथीलाई भने दुबई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुमनको श्रीमती प्रतिमाले श्रीमानको शव उपलब्ध गराइदिन स्थानीय सरकार र जनप्रतिनिधिहरूसँग अनुरोध गरेकी छिन् । हत्यापछि दुबईस्थित अस्पतालको पोस्टमार्टम र कानुनी प्रक्रिया नै बाँकी रहेकाले शव पठाउन केही समय लाग्ने खबर पाएको परिवारको भनाइ छ।
खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले घरैमा पुगेर सुमनको परिवारलाई ढाडस दिँदै चामल, दाल, नुन तेललगायतको राहत सामग्री हस्तान्तरण गरेका छन् । उनले जतिसक्दो चाँडो सुमनको शव नेपाल ल्याउन संघीय सरकारका प्रतिनिधि र मन्त्रीहरूसँग कुराकानी भइरहेको बताए । मेयर थपलिया सोही वडावासीसमेत हुन् ।
सुमनको हत्यापछि प्रतिमाको बिचल्ली भएको छ । उनको दुई छोरा र एक छोरी छन् । छोराछोरी सानै छन् । निम्न आर्थिक अवस्थाका सुमन पाँच वर्षअघि मात्रै भोजपुरको दिङलादेखि बसाइँ गरेर खाँदबारी आएका थिए । दैनिक ज्याला मजदुरी गर्दै परिवार पाल्दै आएका सुमन ठुलो सपना बोकेर दुबई पुगेका थिए । तर, दुबई पुगेको एक महिनामा नै कहिल्यै नफर्किने गरी अस्ताए ।
श्रीमानकाे कमाइबाट परिवारको गर्जो चल्दै आएकोमा सुमनको हत्यापछि परिवारको बिचल्ली भएको छ । प्रतिमालाई यतिखेर आफ्नो सिँदूर पुछिनुका साथै छोराछोरीको कसरी लालनपालन गर्ने भन्ने चिन्ता बढेको छ ।
श्रीमानकाे शव जतिसक्दो चाँडो घरमा ल्याई आफ्नो जातीय परम्पराअनुसार अत्येष्टि गर्न पाए मन शान्त हुने प्रतिमाको भनाइ छ ।