भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र बीभत्स हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँचजनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
आरोपीहरूले सन् २०२१ को जनवरीमा छत्तिसगढमा बस कुरिरहेका पीडित किशोरी र उनको परिवारलाई मोटरसाइकलमा लिफ्ट दिएका थिए । त्यसपछि तिनले किशोरीलाई एकान्तमा लगी सामूहिक बलात्कार गरे ।
पिताले प्रतिरोध गर्ने प्रयास गरेपछि उनको लगायत साथमा रहेकी तीन वर्षीया भतिजीको समेत हत्या गरिएको थियो । किशोरीलाई केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।