संखुवासभाको मकालु गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज शुक्रबार बिहान करिब साढे ७ बजे मकालु गाउँपालिका– ५ रानीढुंगास्थित कोशी राजमार्गमा नुमबाट खाँदबारीतर्फ आउँदै गरेको ग.१ज ४९७३ नम्बरको ट्याक्सी (बाेलेरो गाडी) दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनको अनुसार, ट्याक्सीमा चालक र सहचालक सवार थिए ।
जसमा संखुवासभा जिल्ला चैनपुर– ५ बस्ने वर्ष २४ को जीवन अधिकारी र संखुवासभा जिल्ला खाँदबारी– ११ आङला बस्ने वर्ष २९ को कविराज श्रेष्ठ घाइते भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।
मकालु गाउँपालिकाको केन्द्र नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको ट्याक्सी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो । कविराज श्रेष्ठको शरीरभरि चोट छ । उनी बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते छन् भने जीवन अधिकारीलाई टाउको र शरीरमा सामान्य चोटपटक मात्रै लागेको प्रहरीको भनाइ छ ।
श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारी ल्याई धरानस्थित बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रिफर गरिएको प्रहरीको भनाइ छ । अधिकारीकाे खाँदबारी अस्पतालमा नै उपचार भइरहेको छ ।