मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको नेपालकै सबैभन्दा ठुलो गढीमध्येको एक ऐतिहासिक मकवानपुरगढी दरबारमा २६२औँ विजय उत्सव मनाइएको छ ।
२६२ वर्षअघि आजकै दिन १० माघ १८१९ मा गुरगिन खाँको नेतृत्वको बंगालको सेनालाई पराजित गरेको सम्झनामा विजय उत्सव मनाइएको हो ।
उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नेपालको राष्ट्रिय झन्डाे झन्डोत्ताेलन गरेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक गढी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । उनले ऐतिहासिक घटना र स्थानहरूले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै मुख्यमन्त्री लामाले यस्ता ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले मकवानपुरगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले बहुवर्षीय योजनाका रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘इतिहास स्मरण गर्ने मात्रै विषय होइन, यो अध्यय्न र प्रवर्द्धन गर्ने विषय पनि हो ।
‘मकवानपुरगढी संरक्षणका लागि बागमती प्रदेश सरकारले बहुवर्षीय योजनाका रूपमा अगाडि बढाउँछ,’ उनले भने, ‘आउँदो बजेटमा मकवानपुरगढी क्षेत्रको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकार तयार छ ।’ उनले स्थानीय सरकारलाई मकवानपुरगढी क्षेत्रको संरक्षण र संवर्द्धनका लागि आवश्यक गुरुयोजनो बनाएर प्रदेश सरकारमा पेस गर्न आग्रह पनि गरे ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमनत्री विमल ठकुरीले मकवानपुरगढी संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्ने बताए । उनले आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।