ऊर्जामन्त्री दीपक खड्काको निजी होटलमा स्वार्थ बाझिने गरी संसदीय समितिको बैठक राखिएपछि त्यसको विरोध भएको छ । डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद, स्काउट जग्गा विवाद, मुगु–कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको अपारदर्शी ठेक्का र जगदुल्ला जलविद्युत् ठेक्का विवादमा प्रश्न उठेका मन्त्री खड्काले बुढानीलकण्ठको मुहानपोखरीस्थित होटेल होलिडे इनमा आवासीय बैठक राखेको भन्दै माओवादी सांसदहरूले बहिष्कार गरेका थिए ।
प्रश्न उठेका मन्त्रीलाई बोलाएर सम्बन्धित विषयमा स्पष्टीकरण सोध्नुपर्ने र निर्देशन दिनुपर्ने निगरानीको भूमिका छाडेर आफैँ मन्त्री भएर मन्त्रालयको पैसा आफ्नै होटेलमा खर्च गर्ने गरी राज्यकोषको दुरुपयोग हुने छलफलमा समिति सहभागी हुनु दुःखद भएको टिप्पणी प्रमुख प्रतिपक्षीले गरेको छ । होटेल इनमा ७ र ८ माघमा जलस्रोत विधेयकमाथि विज्ञसँग अन्तरक्रिया गर्न प्रतिनिधिसभाको पूर्वाधार समितिको बैठक बसेको हो । तर मन्त्री खड्का आफू उपस्थित नभई ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई पठाएका थिए ।
माओवादीले प्रश्न उठेका विवादित मन्त्रीलाई समितिमा बोलाएर स्ष्टीकरण सोध्नुको साटो उनैले आफ्नो होटेलमा आयोजना गरेको छलफलमा समिति किन गयो भनेर पहिलो प्रश्न उठाएको छ । यस्तै, यसअघि विद्युत् विधेयकमा प्रदेशहरूबाट सुझाव लिन फिल्डमै जानका लागि खर्च माग्दा बजेट छैन भनेको मन्त्रालयसँग अहिले होटेल–होटेलमा खर्च गर्न पैसा कसरी जुट्यो भनेर माओवादीले दोस्रो प्रश्न उठाएको छ । तेस्रो, मन्त्रालयले महँगा होटेलमा फजुल खर्च गर्ने हैसियत कसरी राख्यो भनेर विपक्षीले प्रश्न उठाएका छन् ।
होटेलमा कार्यक्रम गर्नैहुन्न भन्ने आफूहरूको धारणा नरहेको, तर प्रश्नको कठघरामा उभ्याउनुपर्ने मन्त्रीकै योजनामा समिति किन चलेको र विद्युत विधेयकमा प्रदेशहरूमा छलफल चलाउन खर्च माग्दा पैसा छैन भनेको मन्त्रालयले होटेलमा अन्तक्र्रिया गर्न किन तयार भएको भनेर प्रश्न उठाएको माओवादी सांसद माधव सापकोटाले बताए । ‘गम्भीर प्रकृतिका विषयमा बोलाउँदा मन्त्रीको समय नमिल्ने, होटेलमा लैजान समय हुने ?’ उनले प्रश्न गरे । विधायिकी कार्यसमिति हलमै हुनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उनको भनाइ थियो ।
कांग्रेस सांसद राजेन्द्र बजगाईं विज्ञको सुझाव लिने नाममा विधेयकको छलफल होटेलमा गर्दा स्वार्थको द्वन्द्वको जोखिम हुन सक्नेतर्फ समितिले ख्याल गर्नुपर्ने बताए । लेखा समितिका पूर्वसचिव सोमबहादुर थापाले विधेयकको छलफल होटेलमा चलाउनु ठिक नभएको बताए । ‘समितिले आफैँले छलफल चलाउन ठिक होइन । मन्त्रालयले आयोजना गरेको हो भने पनि विचार गर्नुपर्छ,’ उनले भने ।
विधेयकमा विषयहरू छुट्यो भनेर ऊर्जामन्त्री खड्काले होटेलमा छलफल राख्नु उचित नभएको उनको भनाइ छ । ‘यसमा स्वार्थको द्वन्द्व देखिन्छ । मन्त्रीको इमानदारिता, नैतिकता, सदाचार देखिएन । उनको आचरण र नैतिकता भएन,’ थापाले भने, ‘उनलाई लागेको छ भने समितिमा छलफल गर्न सक्छन् । आएर विधेयकमा प्रस्ताव गर्न सक्छन् । तर, समितिलाई नै बाहिर लानु ठिक भएन ।’ मन्त्रीले संसदीय समितिलाई नै प्रभावमा पारेको पूर्वसचिव थापाको ठम्याइ छ ।
पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह मन्त्रालयले व्यवस्था मिलाएर बुढानीलकण्ठको होटेलमा दुईदिने छलफल भएको र आफूले कुनै नियत नराखेको बताए । ‘मन्त्रालयले व्यवस्था मिलाएपछि समितिले सञ्चालन गरेको हो । छलफलमा कुनै नियत राखेको थिएन । सक्दो राम्रो गर्न खोजेको हो,’ उनले भने, ‘विधेयकमा ड्याम सेफ्टीको विषय छुटेको रहेछ । विस्तृतमा राम्रो छलफल भयो । सुझावहरू राम्रा आएका छन् । यो विधेयक राम्रो बनोस् ।’
प्रतिनिधिसभाको पूर्वाधार समितिले विद्युत् विधेयकमा विज्ञ र सरोकारवालाको सुझाव लिन होटेल धुलिखेल लजमा २८ र २९ पुस र १ माघमा गरी तीनदिने अन्तरक्रिया गर्यो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् नियमन आयोगले खर्च व्यहोरेको अन्तरक्रियामा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयका सचिव, मातहत निकायका पदाधिकारी, पूर्वपदाधिकारी, निजी जलविद्युत् कम्पनी (इप्पान)का पदाधिकारी उपस्थित थिए । पूर्वाधार समितिले यसअघि जलस्रोत विधेयकमा छलफल गर्न धुलिखेलकै महँगो होटेल आगन्तुकमा १४ र १५ पुसमा विज्ञसँग अन्तरक्रिया राखेको थियो । मन्त्रालयले खर्च व्यहोरेको भनिएको यो कार्यक्रममा मन्त्री सहभागी थिएनन् । यो छलफलपछि समितिले विधेयक दफावार छलफलमा लैजाने तयारी गरेको थियो । तर, मन्त्री खड्काले केही विषय छुटेको भन्दै फेरि एक चरण छलफल गर्न समय मागे । मागअनुसार सभापति दीपकबहादुर सिंहले सहमति जनाएका थिए ।
संसद् सचिवालयका अनुसार यसअघि अर्थ समितिले प्रिबजेट छलफल गर्न सोल्टी होटेलमा राखेको बैठकको तीन लाख ३५ हजार रुपैयाँ अझै तिरेको छैन । संसद् सचिवालयले सिंहदरबारबाहिर बैठक नराख्न भने पनि समितिले विज्ञसँग होटेलमा छलफल राखेपछि नतिरेको हो ।
संसदीय समितिमा सांसदहरूको प्रश्न
पूर्वाधार समितिको बुधबार बसेको बैठकमा विपक्षी सांसदहरूले होटेलमा बैठक राखेकोमा स्वार्थको द्वन्द्वको दृष्टिकोणबाट प्रश्न उठाएका थिए । माओवादीका माधव सापकोटाले विभिन्न जलविद्युत् परियोजना नियम मिचेर डकैती शैलीमा निर्णय गरेको, राज्यको इज्जत नै जाने गरी कुलमानजीसँग निहुँ खोज्दाखोज्दा विद्युत् प्राधिकरणमै लगेर कार्यकक्ष बनाएको, स्काउटको जग्गामा मुछिएको मन्त्रीसँग जवाफ माग्ने वेला होटेलमा जाने कुरा जायज नभएको बताए । सांसद शक्ति बस्नेतले स्वार्थको द्वन्द्व कहाँ छ भनेर मसिनो ढंगले हेर्नुपर्ने बताए ।
एमालेका ठाकुर गैरेले होटेलमा बस्ने कि नबस्ने विषय लामो समयदेखि छलफलमा रहेको भन्दै व्यवहारमा होटेलमै छलफलमा संलग्न हुने परिस्थिति रहेको बताए । धुलिखेल र बुढानीलकण्ठमा भएको छलफल फलदायी रहेको भन्दै उनले सभापतिलाई धन्यवाद पनि दिए । ‘मन्त्रीसँग सुलह गर्न, सुविधासम्पन्न होटेलमा बस्न भनेर आयो । त्यो खालको लालसा समितिमा कसैको छैन । कुनै होटेलमा छाक खाएकोमा खुसी हुने तहको मानिस यहाँ छैनौँ । लडेर, अवसर त्यागेर आएको हो,’ उनले भने । एमालेकै गोकर्ण विष्टले होटेलमा विज्ञ बोलाउने, छलफल गर्ने काम धेरै राम्रो भन्दै सभापतिको प्रशंसा गरे । उनले अझै छलफल गर्न सभापतिलाई अनुरोध पनि गरे । विष्टले संविधान निर्माणदेखि बजेट छलफलसम्म होटेलमै हुने गरेको इतिहास पनि सुनाए । यद्यपि, छलफल गर्दा स्वार्थ समूह र स्वार्थ मनोविज्ञानबाट बाहिर हुने गरी समिति अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘होटेलमा गरेको छलफल फाइनल होइन । इमानका साथ काम गरौँ,’ उनले भने ।
रास्वपा सचेतक निशा डाँगीले विधेयकको छलफल होटेलमा हुनुहुँदैन भन्ने आफूहरूको मत रहेको बताइन् । ‘सिंहदरबारमा राख्दा माननीयहरूले पूर्ण समय नदिने अवस्था हुन्छ । कार्यालय समयको सीमितता पनि हुन्छ । यसलाई करेक्सन गरेर समितिमै गम्भीरतापूर्वक छलफल गर्दा उपयुक्त हुन्छ भन्ने हाम्रो मत हो,’ उनले भनिन् । यद्यपि, बाहिर बस्दा लामो समय छलफल गर्न पाइने अनुभव उनले सुनाइन् ।
कांग्रेसका दिनेश यादवले विधेयक परिपक्व बनाउन बुढानीलकण्ठको छलफलले सघाएको बताए । उनले पनि यसका लागि सभापतिलाई धन्यवाद दिए । ‘मान्छे सिक्न कहाँ जाने, जहाँ उपयुक्त हुन्छ त्यहीँ जाने हो । हामी होटेलमा बस्ने, त्यहाँको खाना खाने मान्छे होइन । विधेयक छलफल गर्दै जाने परिपक्व बनाउँदै जाने हो,’ उनले भने । कांग्रेसकै प्रतिमा गौतमले विधेयकमा महत्वपूर्ण छलफल भएको, तर प्रचार नकारात्मक भएको गुनासो गरिन् । ‘जे–जति छलफल गर्यौँ उत्साहित बनाएको छ । कहाँ गर्यो, कसको होटेल भनेर छलफल नगरौँ । यस्ता विषयमा नजाउँ,’ उनले भनिन् ।