गाउँसभाको १७औँ हिउँदे अधिवेशनले वडा नम्बर ७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले बृहत् संवाद कार्यक्रमको आयोजना गरी सातबुँदे दामराङ घोषणापत्र जारी गरेको छ ।
चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र कार्यक्रम प्रभावकारी रूपमा लागू गराउन राक्सिराङ– ७ दामराङमा बिहीबार बृहत् संवाद कार्यक्रमको आयोजना गरी घोषणापत्र जारी गरिएको हो । उक्त वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको गाउँपालिकाले जनाएको छ ।
सीमान्तकृत चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षण एवं चेपाङको थातथलोको संरक्षण गरी पर्या–पर्यटन प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यका साथ ७ नम्बर वडालाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।
बिहीबार सार्वजनिक घोषणापत्रमा विज्ञ समूह गठन गरी सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको तत्काल बृहत् गुरुयोजना तयार गर्ने, टोल विकास संस्था गठन तथा वडामा रहेका सामुदायिक संस्थाको सबलीकरण गरी सांस्कृतिक र पर्यटकीय क्षेत्र विकास, प्रवर्द्धन र परिचालन गर्न प्रतिबद्धता व्यक्त गर्ने, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र प्रवर्द्धनका लागि आठ ‘अ’ अलैँची, अम्रिसो, आलु, अकबरे खुर्सानी, ओखर, अदुवा, अनार, आँप एवं तीन च चमेरो, चिउरी र चेपाङ विकासका लागि प्रतिबद्धता व्यक्त गर्ने उल्लेख गरिएको छ ।
यसैगरी, चेपाङ समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार संरक्षण र प्रवर्द्धन गर्न परम्परागत ज्ञान, सीपको रक्षा एवं सांस्कृतिक रीतिरिवाज संरक्षण गर्ने, पालिकाले सांस्कृतिक तथा पर्यटकीय क्षेत्र विस्तार र प्रवर्द्धन गर्न आवश्यक नीति, कार्यक्रम र थप बजेट विनियोजन गर्नुका साथै घोषणा कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने जनाइएको छ ।
चेपाङ समुदायमा रहेको अनौपचारिक ज्ञान, परम्परागत सीप एवं जैविक विविधता, जलचर, थलचर संरक्षण, रैथाने बालीको विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ वडा नम्बर ७ क्षेत्रमा भ्रमण, अवलोकन भ्रमण, अध्ययन तथा अनुसन्धान गर्ने काममा विद्यालय र विश्वविद्यालयहरूलाई आह्वान गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकामा बहुसंख्यक रूपमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षण एवं चेपाङको थातथलोको संरक्षण गरी पर्या–पर्यटन प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले सरोकारवालहरूसँग संवाद गरी घोषणापत्र जारी गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
विपन्न चेपाङ जातिको उत्थानका लागि संघ र प्रदेश सरकारले सहयोग गर्ने भन्दै विभिन्न कार्यक्रम घोषणा गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले स्थानीय तह आफैँ जागरुक भएर विशेष क्षेत्र घोषणा गरेको उनको भनाइ छ ।
उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारअनुसार नै आफूहरू अघि बढेको बताए । कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङलगायतले ७ नम्बर वडाबाट सुरु गरिएको अभियानलाई चेपाङ समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाभरि नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।