Skip This
झोलुङे पुलले यात्रा अवधि छोटियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ११ शुक्रबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका म्याग्दी
२o८१ माघ ११ शुक्रबार १३:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

झोलुङे पुलले यात्रा अवधि छोटियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ माघ ११ शुक्रबार १३:४५:oo

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका– ४ खिवाङको खोलाखर्कमा झोलुङे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । ११२ मिटर लामो पुलबाट धवलागिरि– ४ खिवाङ, वडा नं. ५ मलम्पार र मराङका १७० घरका ८५० जनसंख्या लाभान्वित भएका छन् ।

रु. ५७ लाख ५२ हजार ५८८ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि एक घण्टा ३० मिनेटको बाटो पाँच मिनेटमा छोटिएको बताएका छन् । ‘पहाडको टुप्पोबाट फेदीमा झेरर जंगल र भिरको बाटो भएर पुनः डाँडामा उक्लँदा भालु, चितुवाको डर थियो,’ उनले भने, पुल बनेपछि सुरक्षित रूपमा छोटो बाटो हिँड्न पाएका छौँ ।’

धवलागिरि गाउँपालिका, उपभोक्ता र झोलुङे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप)को सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । गाउँपालिकाले रु. ७ लाख ४९ हजार ९२ सहयोग गरेको पुल निर्माणका लागि उपभोक्ताले रु. १ लाख १५ हजार २४५ बराबरको श्रमदान गरेका मिलन म्याग्दीका अध्यक्ष दिलु बिटालु बताउँछन् ।

स्वाप कार्यक्रममार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शुल्कका लागि रु. ४८ लाख ८८ हजार २५१ बराबरको सहयोग भएको छ । यस वर्ष धवलागिरिमा खोलाखर्क र हाडेभिर–खारा जोड्ने म्याग्दी खोलामाथि दुईवटा झोलुङे पुल निर्माण भएको छ । रु. ५७ लाख ८६ हजार ४८८ को लागतमा निर्माण भएको हाडेभिर–खारा जोड्ने १०१ मिटर लामो झोलुङे पुलबाट धारापानी, खारा, बिम, इल्पुका १७४ घरका एक हजार २३३ जनसंख्या लाभान्वित भएका छन् ।

खोलाखर्कको झोलुङे पुलको बिहीबार धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गरे । सडक सुविधाको पहुँच नभएको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भएको झोलुङे पुल सुरक्षित आवतजावत र यात्राअवधि छोट्याउन प्रभावकारी बनेका उनी बताउँछन् । समुदाय, दातृ निकाय र गैरसकारी संस्थासँग समन्वय गरेर आवश्यक अन्य ठाउँमा पनि पुल निर्माणका लागि गाउँपालिकाले पहल गरेको पुनले जनाए ।