सिराहा प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित गोलबजारका दुई युवकलाई पक्राउ गरेको छ । छिमेकी मुलुक भारतको जयनगरबाट मोटरसाइकल चढेर नेपालतर्फ प्रवेश गर्ने क्रममा भन्सारनजिक प्रहरीले चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएपछि गोलबजार नगरपालिका– ७ का करिब २५ वर्षीय हृदय सिंह र ८ का करिब २२ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिंहले चलाएको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाइकल शंका लागेर रोकेर शरीर खानलासी गर्दा ब्राउनसुगर बरामद भएपछि पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार सिंहले लगाएको पाइन्टको गोजीमा ब्राउनसुगरजस्तो देखिने प्लास्टिकसहित पाँच ग्राम दुई सय मिलिग्राम पदार्थ बरामद भएपछि सिंह र पछाडि बसेका यादवलाई मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
लागुऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडरको संयुक्त टोलीद्वारा सिराहा नगरपालिका– १७ माडर भन्सारनजिकबाट पक्राउ गरिएका दुवैजनालाई बिहीबार सिराहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।