चालू आर्थिक वर्षको ६ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न २१३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
पक्राउ गरिएका अभियुक्तबाट गाँजा ३.६७ किलोग्राम, खैरो हिरोइन ७२०.८० ग्राम, ट्रमाडोल सात हजार २३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका अनुसार ६ महिनामा जिल्ला अदालत झापामा १५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेका छन् ।
लागुऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताए । ‘सीमानाका, गाउँबस्तीबाट सहरबजारसम्म लागुऔषधको कारोबार हुने गरेको देखियो,’ उनले भने, ‘लागुऔषध नियन्त्रणका लागि हामीले चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।’
६ महिनामा १४८ जना फरार प्रतिवादी पक्राउ
यसैगरी प्रहरीले ६ महिनामा १४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको एक करोड ६१ लाख १० हजार ७२२ मूल्यबराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।