ललितपुर महानगरपालिकाका सबै सामुदायिक विद्यालयहरूमा हरित विद्यालय कार्यक्रम सुरु हुने भएको छ।
महानगरको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायका अनुसार ४० वटा सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउन एक–एक लाख रुपैयाँ अनुदान उपलब्ध गराइनेछ। तीमध्ये उत्कृष्ट बगैँचा बनाउने विद्यालयलाई आगामी महानगरको १०७औँ वार्षिक उत्सवमा विशेष पुरस्कारसमेत उपलब्ध गराइनेछ।
वातावरणमैत्री, बालमैत्रीको साथसाथै हरित विद्यालय बनाएर शैक्षिक गुणस्तर उपलब्धिलाई समेत वृद्धि गर्न योजना र प्रतिबद्धता लिएर जान लागेको महाशाखा प्रमुख उपाध्यायले जानकारी दिए।
यसैगरी, महानगरपालिकाले एसइईको नतिजा सुधारका लागि २५ वटा सामुदायिक विद्यालयलाई प्रतिविद्यालय ३०–३० हजार रुपैयाँ उपलब्ध गराएको छ। एसइईलाई लक्षित गरी ललितपुर महानगरको सहकार्यमा आइइनजी ग्रुपद्वारा तयार पारिएको अडियो भिजुअल भिडियो’सहितको ‘माई सेकेन्ड टिचर एप निःशुल्क रूपमा सबै सामुदायिक माध्यमिक विद्यालयका शिक्षक र कक्षा १० का विद्यार्थीहरूलाई उपलब्ध गराइने भएको छ।
उक्त कार्यका लागि नीति सम्बोधनअन्तर्गत आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेको महानगरपालिकाले जानकारी दिएको छ।