सिराहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि किसानले मल पाएका छैनन्। मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको परिमाण यकिन नगर्दा किसानले मल नपाएका हुन्।
कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको परिमाण यकिन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताए।
‘जग्गाको क्षेत्रफलअनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या परेको हो। पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढ्छ।’
लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुंगा, सोलु र मधेश प्रदेशको सिराहामा रासायनिक मल वितरण गर्दै आएको छ। प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले भने जिल्लामा पठाउनुपर्ने मलको परिमाण उल्लेख गरी पठाइसकेकाले त्यहाँ माघको पहिलो हप्ताभित्रै मल वितरण भइसकेको छ।
प्रक्रियागत त्रुटिका कारण मधेशमा भने गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन्। तर, कृषि सामग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल मौज्दाद रहेको कार्यालयले जनाएको छ।