मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
नेत्र पन्थी काठमाडाैं
२o८१ माघ ८ मंगलबार o६:५५:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकामा ट्रम्पयुग सुरु : विश्व शान्तिका लागि काम गर्ने सन्देश, गैरकानुनी आप्रवासीप्रति कठोर नीति 

ट्रम्पले शपथ लिएलगत्तै ह्वाइटहाउसको वेबसाइटमा लेखियो– ‘अमेरिका इज ब्याक’

Read Time : > 3 मिनेट
नेत्र पन्थी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार o६:५५:oo

ट्रम्पका घोषणा

- आजदेखि अमेरिकाको स्वर्णयुग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु । अमेरिकाको सम्प्रभुता फर्काइनेछ । सुरक्षा पुनः स्थापित हुनेछ । र, न्यायको सन्तुलन कायम गरिनेछ । हाम्रो मुख्य प्राथमिकता एउटा यस्तो देश बनाउनु हो, जसले गर्व, समृद्धि र स्वतन्त्रताको भावना बोकेको होस् ।

- सन् २०१७ जस्तै, हामी फेरि विश्वकै सबभन्दा बलियो सैन्य शक्ति निर्माण गर्नेछौँ । हाम्रो सफलता हामीले जितेका युद्धहरूबाट मात्र होइन, हामीले अन्त्य गरेका युद्धहरूबाट र सबैभन्दा महत्वपूर्ण, हामीले कहिल्यै संलग्न हुनु नपरेका युद्धहरूबाट मापन हुनेछ । 

- अवैध प्रवेशलाई तत्काल रोकिने छ र सरकारले लाखौँ ‘अपराधी आप्रवासीहरू’लाई उनीहरूको देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्ने छ । दक्षिण सीमामा आपत्काल लागू हुनेछ । मेक्सिको सीमाबाट हुने घुसपैठ रोक्न सेना परिचालन गरिनेछ । 

डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतका प्रमुख न्यायाधीश जोन रोबर्टस्बाट संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइटहाउस प्रवेश गरेका छन् । सोमबार नै जेडी बन्सले उपराष्ट्रपति पदको शपथ लिएका छन् । बन्स अमेरिकाको ५०औँ उपराष्ट्रपति बनेका छन् । 

सामान्यतः अमेरिकी संसद् भवनबाहिर शपथग्रहण कार्यक्रम हुने भए पनि यसपालि कठोर चिसोको कारण संसद् भवनभित्रै शपथ गराइएको छ । ट्रम्पको शपथ समारोहमा पूर्वअमेरिकी राष्ट्रपतिहरू, नेताहरू, उद्योगपति र सेलिब्रेटीहरू सहभागी भए । 

शपथपछिको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिका पहिलो नीतिअन्तर्गत आफ्नो प्रशासनले काम गर्ने बताए । उनले चुनावमै लिएको अमेरिकालाई फेरि महान् बनाउने नारा दोहोर्‍याए । राष्ट्रपति ट्रम्पले न्याय विभागको अनुचित र पक्षपाती प्रयोगको अन्त्य गरिने बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारका विविधता, समानता र समावेशीकरण कार्यक्रमहरू अन्त्य गर्न नीतिहरूमा हस्ताक्षर गर्ने घोषणा गरे ।

निवर्तमान राष्ट्रपति जो बाइडेन कार्यकालको आलोचना गर्दै उनले अमेरिकामा सुनौलो युगको सुरुवात भएको बताए । ‘आजदेखि अमेरिकाको स्वर्णयुग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’ राष्ट्रपति ट्रम्पले भने, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु । अमेरिकाको सम्प्रभुता फर्काइनेछ । सुरक्षा पुनः स्थापित हुनेछ । र, न्यायको सन्तुलन कायम गरिनेछ । हाम्रो मुख्य प्राथमिकता एउटा यस्तो देश बनाउनु हो, जसले गर्व, समृद्धि र स्वतन्त्रताको भावना बोकेको होस् ।’

ट्रम्पले गैरकानुनी प्रवेश रोक्ने नीति तत्काल लागू गर्ने बताए । अमेरिकामा एक करोडभन्दा धेरै गैरकानुनी आप्रवासी छन् । उनीहरूप्रति ट्रम्पले कठोर कदम उठाउने घोषणा गरेका छन् । अवैध प्रवेशलाई तत्काल रोक्ने र सरकारले लाखौँ ‘अपराधी आप्रवासीहरू’लाई उनीहरूको देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्ने ट्रम्पको घोषणा छ । दक्षिण सीमामा उनले आपत्काल लागू भएको घोषणा गरे । मेक्सिको सीमाबाट हुने घुसपैठ रोक्न सेना पठाउने र पर्खाल लगाउने ट्रम्पले घोषणा गरे । 

अर्कोतर्फ मेक्सिकोकी गृहसचिव रोजा इसेला रोड्रिग्वेजले ‘मेक्सिकोले तपाईंलाई अँगाल्छ’ नामक परियोजना घोषणा गरेकी छिन्, जसले डोनाल्ड ट्रम्पको पद ग्रहणपछि संयुक्त राज्य अमेरिकाबाट देश निकाला हुन सक्ने मेक्सिकन नागरिकहरूलाई सहयोग प्रदान गर्नेछ । ‘मेक्सिकोले पुनः स्वदेश फर्काइएका नागरिकहरूको स्वदेश फिर्ता प्रक्रिया सहज बनाउन, उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र आवश्यक सहयोग प्रदान गर्न आवश्यक सबै उपायहरू गर्नेछ,’ रोड्रिग्वेजले पत्रकार सम्मेलनमा भनिन् । 

लागुऔषध तस्करलाई आतंकवादीका रूपमा कारबाही गरिने ट्रम्पले बताए । उनले अमेरिकामा सबैलाई बोल्न स्वतन्त्रता रहने पनि बताए । ट्रम्पले वैदेशिक व्यापारमा कर र ट्यारिफ बढाउने घोषणा गरेका छन् ।

उनले अमेरिकामा कोही पनि तेस्रोलिंगी नहुने बताए । तेस्रोलिंगीप्रति दुनियाँभर उदार नीति अपनाइएको वेला ट्रम्पको घोषणाले ठुलो अर्थ राख्नेछ । यद्यपि, उनले यसको कार्यान्वयन भविष्यमा कसरी गर्छन् भन्ने चासो साथ हेरिनेछ । 

राष्ट्रपति ट्रम्पले अमेरिका शान्तिको पक्षमा रहेको बताए । ट्रम्पले अमेरिकी सेनाको अधिकार बढाउने पनि उद्घोष गरेका छन् । ट्रम्पले आफूलाई ‘शान्तिका निर्माता र एकताका प्रतीक’को रूपमा स्थापित गर्न चाहने बताएका छन् । साथै उनले ‘इतिहासकै सबभन्दा बलियो सैन्य शक्ति’ निर्माण गर्ने लक्ष्य प्रस्तुत गरे । ‘सन् २०१७ जस्तै, हामी फेरि विश्वकै सबभन्दा बलियो सैन्य शक्ति निर्माण गर्नेछौँ । हाम्रो सफलता हामीले जितेका युद्धहरूबाट मात्र होइन, हामीले अन्त्य गरेका युद्धहरूबाट र सबैभन्दा महत्वपूर्ण, हामीले कहिल्यै संलग्न हुनु नपरेका युद्धहरूबाट मापन हुनेछ,’ ट्रम्पले सम्बोधनमा भने । उनले मध्यपूर्वको विषय उठाए पनि रुस–युक्रेन युद्धबारे भने केही भनेनन् । 

राष्ट्रपति ट्रम्पले आफ्नो उद्घाटन सम्बोधनमा मंगल ग्रहको अन्वेषणतर्फ कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी हाम्रो भाग्यलाई ताराहरूको बिचमा अगाडि बढाउनेछौँ, अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई पठाउँदै मंगल ग्रहमा ‘स्टार्स एन्ड स्ट्राइप्स’को झन्डा गाड्नेछौँ,’ ट्रम्पले भने । उनले मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर ‘अमेरिकाको खाडी’ राख्ने र डेनालीको नाम फेरि परिवर्तन गरी ‘माउन्ट म्याककिन्ली’ राख्ने योजना पनि प्रस्तुत गरेका छन् । पानामा नहरबाट चिनियाँ कब्जा हटाउने ट्रम्पको भनाइ छ । 

शपथग्रहणपछि ट्रम्पले करिब सयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यी आदेशमध्ये केही कानुनको रूपमा लागू भएका छन् भने केही घोषणा छन् । कार्यकारी आदेश राष्ट्रपतिद्वारा जारी गरिने यस्तो आदेश हो, जसलाई लागू गर्न अमेरिकी संसद् अर्थात् कंग्रेसको स्वीकृति आवश्यक हुँदैन । यसरी नीतिहरू कानुनअन्तर्गत कार्यान्वयन गरिन्छन् । तर, यी आदेशलाई अदालतमा चुनौती दिन भने सकिन्छ । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले २२० कार्यकारी आदेश जारी गरेका थिए, जसमा धेरै अदालतमा विवादको विषय बनेका थिए । 

शपथलगत्तै विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखले बधाई दिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई दोस्रो कार्यकालको शपथग्रहणको अवसरमा बधाई दिँदै ‘हाम्रो गठबन्धनका उत्कृष्ट दिनहरू अझै आउन बाँकी छन्’ भनेका छन् ।