आफूलाई कट्टर मार्क्सवादी भन्ने कतिपय कम्युनिस्ट पार्टीहरू मार्क्सवादी दर्शनलाई धर्मशास्त्रको मन्त्रजस्तो गरी व्याख्या गर्ने गर्छन्
मार्क्सवाद बीसौँ शताब्दीमा भूराजनीतिलाई सर्वाधिक प्रभाव पर्ने राजनीतिक दर्शन रह्यो । तथापि जर्मन दार्शनिक कार्लमार्क्सको दर्शनको ‘बुझाइ’ र ‘व्यावहारिक प्रयोग (प्राक्टिकल एप्लिकेसन)’मा अनेकौँ भ्रम र समस्या रहे । सन् १८४८ मा मार्क्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र जारी गरेपछि त्यसले वैचारिक एवं राजनीति विश्वमा हलचल ल्यायो । भ्लादिमिर लेलिनले सोभियत संघमा सन् १९१७ को अक्टोबरमा मार्क्सवादको प्रयोग गरे । सोभियत रुसमा ससाजवादी सत्ता आएपछि मार्क्स र एङ्गेल्सको देवत्वकरण गरियो । उनका रचनालाई मुस्लिम धर्मग्रन्थ ‘बाइबल’ र ‘कुरान’ जस्तै असंशोधनीय र अन्तिम ठानियो र मार्क्सवाद रुसको राजधर्मजस्तो बन्न पुग्यो । त्यस प्रकारको ‘प्रयोग’ हुनु मार्क्सवादको भद्दा प्राविधिक नक्कल (स्क्रिन सट) थियो । त्यसले मार्क्सवाद र त्यो दर्शनको बुझाइमा पनि अन्योल र साँघुरोपन ल्याइदियो । अन्धानुकरणको कारण सन् १८७१ मा फ्रान्स स्थापित हुन पुगेको सर्वहारा (मजदुर) वर्गको सत्ता अर्थात् पेरिस कम्युन ७२ दिनकै अल्पायुमा ढल्न पुग्यो ।
सन् १९८९ मा सोभियत संघको समाजवादी सत्ता ढलेपछि कम्युनिस्ट विश्वमा संकट बढ्यो । यद्यपि अहिले पनि आधा दर्जनबढी मुलुकमा विभिन्न मोडेलका मार्क्सवादी विचार निर्देशित समाजवादी सत्ता सञ्चालित छन् । समाजवादी चीनले मार्क्सवादी सत्ताको आफ्नै खालको मोडेल प्रयोग गर्यो । सन् १९४९ देखि चीनले सफलतापूर्वक मार्क्सवादको अनुप्रयोगबाटै देशलाई स्थिर, विकसित र समृद्ध बनाउँदै अमेरिकालाई चुनौती दिने अवस्थामा पुर्याएको छ । क्युबामा पनि सन् १९६० देखि समाजवादी सत्ता सञ्चालनमा देखिन्छ । उनीहरूले सोभियत रुसको समाजवादको ‘स्क्रिन सट’ नगरी मार्क्सवादको ‘रचनात्मक’ र ‘सिर्जनात्मक प्रयोग’ गरे । मार्क्सले समाजलाई विचार निर्देशित क्रान्तिको उपज भने ।
क्रान्ति एउटा व्यापक र निरन्तर गतिविधि हो । त्यसका निम्ति व्यक्तिभन्दा वर्गहरूको अवस्थिति र अवस्था जान्नुपर्छ भन्ने उनको मान्यता थियो । मुुलुकअनुसार वर्गको अवस्था र अवस्थिति फरक हुने भएकाले मार्क्सवादी विचारको प्राविधिक अनुकरण अवस्तुवादी र अवैज्ञानिक हुन्छ । क्रान्ति आफैँमा व्यापक खालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको मार्गचित्र हो, जसमा व्यवस्थापन र नियन्त्रणको ज्ञान, कला, सीप र क्षमता आवश्यक हुन्छ । मार्क्सवादलाई सूत्रमा बुझ्ने र हुबहु प्रयोग गर्नेहरूले मार्क्सवादको हुर्मत काढेका छन् ।
नेपाली राजनीतिमा मार्क्सवादी विचारको प्रभाव निरन्तर रहेको देखिन्छ । दर्जनबढी मार्क्सवादी–लेलिनवादी विचारमा आस्था राख्ने राजनीतिक दलहरू नेपाली राजनीतिमा क्रियाशील रहेका छन् । यिनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र दुई ठुला शक्ति हुन्, जसको नेपाली राजनीतिमा प्रत्यक्ष भूमिका र प्रभाव रह्यो । कम्युनिस्ट नामका पार्टीहरूको राजनीतिक आदर्श मार्क्सवाद, लेलिनवाद, माओवाद र साम्यवाद भनिए पनि तिनका बुझाइ र व्याख्यामा भिन्नता देखिन्छ । कस्तो मार्क्सवाद ? किन मार्क्सवाद ? कसरी मार्क्सवादको प्रयोग गर्ने ? भन्नेजस्ता आधारभूत विषयमा भ्रमपूर्ण र आग्रही बुझाइ देखिन्छ । नाम र लोगो कम्युनिस्टको भएपछि मार्क्सवाद हुने हो कि कम्युनिस्ट भनेको रुसमा जसरी लेलिन र मूलतः जोसेफ स्टालिनले चलाएकोजस्तो सत्ता सञ्चालन गर्नेहरू हुन ? यस्ता विषय अहिले पनि राजनीतिक, दार्शनिक तथा वैचारिक बहसमा आइरहन्छन् ।
मार्क्सवाद के हो ? आफूलाई मार्क्सवादी भन्नेहरू यसमै प्रस्ट छैनन् । मार्क्सवाद र मार्क्सवादी दर्शन भनेको जीवन र जगत्लाई बुझ्ने, अध्ययन गर्ने र समाजलाई बदल्ने वैज्ञानिक, भौतिक र वस्तुवादी विचार, मान्यता, दर्शन र सिद्धान्त हो । मार्क्सको सबल पक्षमध्येमा ‘सोच’ र ‘सोच्ने तरिका’ रह्यो । हरेक विषयको इतिहास हुन्छ र त्यसको अध्ययन गरी नयाँ विचार दिनुपर्छ भन्ने उनको विचार थियो । सोच्ने तरिकामा चिन्तन, मनन, निरन्तरता र फड्को हुनुुपर्छ भन्ने मार्क्सको दृष्टि हो । मार्क्सले मानव समाजलाई गतिशीलतामा बुझ्नुपर्छ भने । तत्कालीन समयमा प्रचलित थुप्रै दर्शन, सिद्धान्त र विचारको अध्ययनपछि मार्क्सले द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको विकास गरेका हुन् । लन्डनमा रहँदा उनको रुचि अर्थशास्त्रमा पनि गयो । उनले ‘दास क्यापिटल’जस्ता चर्चित पुस्तक लेखे । जर्मनका तत्कालीन दार्शनिक हेगेलको आदर्शवादी द्वन्द्ववादलाई उनले गहन अध्ययनपश्चात् त्यसलाई खारेज गर्दै द्वन्द्वात्मक भौतिकवादको सूत्रपात गरे । सत्रौँ शताब्दीअघिसम्मका सबैजसो दार्शनिक ईश्वर, प्रकृति, धर्म र पादरीहरूको आदेश र इच्छाबाटै समाज सञ्चालित हुन्छ भन्नेमा विश्वास गर्थे ।
लेलिनले लेखेका थिए, ‘हेगेल नपढ्दासम्म कार्लमार्क्सलाई बुझ्न नसकिने रहेछ ।’ हेगेल आदर्शवादी, धार्मिक राज्यमा विश्वास गर्ने, अदृश्य शक्तिप्रति विश्वास राख्ने र मूल रूपमा भन्दा आर्थिक असमानता र गरिबीका कारण अदृश्य शक्ति वा धार्मिक कारण हो भन्ने मान्यता राख्थे । हेगेलको त्यस्तो आदर्शवादी, अवैज्ञानिक र अवस्तुवादी दर्शनलाई मार्क्सले शतप्रतिशत सुल्टो पारे । गरिबीको कारण आर्थिक शोषण र असमानता हुने, पुँजीपति वा धनी वर्गले निरन्तर श्रमिक, किसान र आमजनतालाई वर्गीय शोषण गर्ने मार्क्सको दृष्टिकोण रह्यो । आर्थिक असमानता, राजनीतिक र सामाजिक मुक्तिका लागि श्रमिक, किसान र आमनागरिकले निरन्तर क्रान्ति र संघर्ष गर्नुपर्ने उनको विचार थियो ।
दार्शनिक कार्लमार्क्स र लेलिनको दर्शनबाट प्रेरित भएर सन् १९४९ अप्रिल २२ मा नेपालमा कम्युनिस्ट पार्टीको गठन गरियो । सोही दर्शन, सिद्धान्त, मूल्य र आदर्शबाट सन् १९५१ देखि निरन्तर सामाजिक–राजनीतिक, आर्थिक अधिकार तथा सांस्कृतिक अधिकारको आन्दोलन र राजनीतिक संघर्ष हुँदै आएका छन् । सन् १९९१ पछिका सबैजसो निर्वाचनमा मार्क्सवादी भनिएका राजनीतिक दलहरूले निरन्तर जनताको मत प्राप्त गरे । नेपालको संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य प्रणालीका लागि जनताका व्यापक सामाजिक, राजनीतिक, आर्थिक अधिकारको पक्षमा राज्यले कार्य गर्ने उल्लेख गरिएको छ । धारा १६ देखि ४६ सम्म विभिन्न मौलिक हकको सुनिश्चितता संविधानले गरेको पाइन्छ । यद्यपि, समाजको व्यापक सुधार र परिवर्तनमा मार्क्सवाद कति सहायकसिद्ध भयो भन्ने प्रश्न अहिले पनि छ ।
आफूलाई कट्टर मार्क्सवादी भन्ने कतिपय कम्युनिस्ट पार्टीहरू मार्क्सवादी दर्शनलाई धर्मशास्त्रको मन्त्रजस्तो गरी व्याख्या गर्ने गर्छन् । मार्क्सले यो भनेका छैनन् भन्दै जनताको आवश्यकता र गतिशीलताविरोधी तर्क गर्न पुग्छन् । सिद्धान्तलाई जुन देश, पार्टी वा समूहले धर्मशास्त्र वा कुरानजस्तो बनाए वा सम्झे वा सोअनुसारको सिद्धान्त लागू गरे, ती सकिए भन्ने हेक्का राख्नुपर्छ । त्यस्तो सोच, शैली र व्यवहार मार्क्सवादको ‘स्क्रिन सट’को शैली हो । बदलिँदो समय, आवश्यकता र औचित्यका आधारमा आफूलाई सुधार र परिवर्तन गर्न आवश्यक छ । नेपालमा मार्क्सवादी दर्शनको ‘सिर्जनात्मक प्रयोग’को विचार र सिद्धान्त पहिलोपटक तत्कालीन एमाले नेता मदनकुमार भण्डारीले अघि सारेका थिए, जसलाई जनताको बहुदलीय जनवाद (जबज) भनियो । वास्तवमा मार्क्सवादी दर्शनलाई कुनै पार्टीको विचार वा सिद्धान्तको रूपमा सीमित गर्नु आवश्यक छैन । आवश्यकता र औचित्यअनुसार त्यसको सिर्जनात्मक प्रयोग गर्नु व्यावहारिक र बुद्धिमानी कुरा हो । न्यूनतम भौतिक सुविधाको प्रयोग गर्दा मार्क्सवादीविरोधी भइने होइन । तथापि, आवश्यकताभन्दा बढी भौतिक साधनको प्रयोग गर्ने र बिलासी जिन्दगी बिताउने कथित मार्क्सवादीबाट कस्तो परिवर्तनको अपेक्षा गर्ने भन्ने प्रश्न निरन्तर उठ्ने गरेको छ ।
मार्क्सवादी विचार र दर्शनलाई जडसूत्रमा बुझ्नेहरूले मार्क्सवादको ‘स्क्रिन सट’ मात्र गरे । सिद्धान्त गतिशील हुनुपर्छ । विचार र सिद्धान्त केवल सिद्धान्तका लागि होइनन्, मानव समाजको हितका लागि हुन् । समाजका आफ्ना विशेषता हुन्छन् । सोहीअनुसार अघि बढ्नुपर्छ । संसार बदल्ने र इतिहासका निर्माता कुनै राजा–महाराजा, ईश्वर, पादरी वा महात्मा होइनन् । श्रमजीवी र मजदुर, किसान र परिश्रमी स्वतन्त्र नागरिक हुन् । यो कुरा मार्क्सले स्थापित गरिदिए । मार्क्सवादको सिर्जनात्मक प्रयोग आजको सन्दर्भमा अझ बढी सान्दर्भिक छ । यद्यपि, सिर्जनात्मक प्रयोग भनेर मार्क्सवादी दर्शनको ‘हुर्मत काढ्ने (स्किन कट)’ प्रवृत्तिले मार्क्सवादी भनिएका राजनीतिक दलहरूलाई नै क्षति पुर्याउनेतर्फ सचेत हुनु जरुरी छ । मार्क्सवादको ’स्क्रिन सट’ र ‘स्किन कट’ गर्ने दुवै विचार अतिवादी हुन् । दुवैको सन्तुलन भनेको ‘सिर्जनात्मक/गतिशील’ र ‘वैज्ञानिक प्रयोग (साइन्टिफिक एप्लिकेसन)’ गर्नु नै हो ।
(सिलवाल कानुनविद् हुन)