मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
२o८१ माघ ८ मंगलबार o९:o१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु गर्न माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार o९:o१:oo

संघीय सरकारले १५ हिमाली जिल्लामा १ वैशाखदेखि लागू गरेको नयाँ शैक्षिक सत्र हटाएर फागुनदेखि नै सुरु गर्ने विषयमा आवाज उठ्न थालेको छ । शिक्षा मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ६ माघ ०७९ मा देशभरका विद्यालयलाई ०८० को शैक्षिक सत्र १ वैशाखदेखि लागू गर्न निर्देशन दिएको थियो । जसकारण अहिले सबै जिल्लामा १ वैशाखदेखि नयाँ शैक्षिक सत्र लागू हुँदै आएको छ । 

विद्यार्थीको पठनपाठनभन्दा पनि आफ्नो अनुकूल हुने गरी यो नीति लागू गरिएको भन्दै जुम्लाका स्थानीय तहले फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने आवाज उठाउन थालेका छन् । गत १९ वैशाखमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा आयोजित बैठक र २० मंसिरमा माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो । त्यसवेलाको परिपत्रअनुसार वैशाखदेखिको शैक्षिक सत्रलाई नमान्ने र फागुनदेखिको शैक्षिक सत्रलाई मान्यता दिने विषयमा हिमा गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको थियो । 

जुम्लासहित हिमाली जिल्लामा १० पुसदेखि माघ मसान्तसम्म जाडो बिदा हुने र बिदा सकिएलगत्तै १ फागुनदेखि नयाँ शैक्षिक सत्र सञ्चालन हुँदै आएको थियो । तर शिक्षा मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ६ माघ ०७९ मा देशभरका विद्यालयलाई १ वैशाख ०८० देखि नयाँ शैक्षिक सत्र लागू गर्न निर्देशन दिएको थियो । जुन निर्णय जुम्लाका लागि अनुकूल नहुने हिमा गाउँपालिकाले ठहर गरेको थियो । ‘संघीय सरकारले फागुनमा पाठ्यपुस्तक नै नपठाएपछि वैशाखदेखिकै शैक्षिक सत्रलाई मान्नुपर्ने बाध्यता बनायो,’ हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भने, ‘हाम्रोजस्तो हावापानी नमिलेको हिमाली जिल्लामा वैशाखदेखि शैक्षिक सत्र उपयुक्त छैन । तर, संघीय सरकारले जबर्जस्ती निर्णय लाद्यो ।’ 

कर्णाली माध्यमिक विद्यालय अनामनगरका प्रधानाध्यापक मीनराज शर्मा हिमाली जिल्लाका लागि वैशाखदेखिको शैक्षिक सत्र अनुकूल नहुने बताउँछन् । ‘फागुनदेखि सुरु हुने शैक्षिक सत्र अनुकूल थियो,’ उनले भने, ‘फागुनदेखि सुरु भएको शैक्षिक सत्र पुस पहिलो–दोस्रो सातासम्म वार्षिक परीक्षा लिएर सम्पन्न हुने गरेको थियो । वार्षिक परीक्षापछि ५० दिन जाडो बिदा हुन्थ्यो । अहिले शैक्षिक सत्र वैशाखमा सुरु भएर चैतमा वार्षिक परीक्षा हुने गरेको छ । यसले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ ।’

अहिलेको नयाँ शैक्षिक सत्रमा वार्षिक परीक्षा नहुँदै अगाडि ५० दिन बिदा हुने भएकाले घरमा पढ्ने वातावरण नहुने उनको भनाइ छ । ‘विद्यार्थीले पढेर सिकेका कुरा फागुनमा स्कुल सञ्चालन हुँदासम्म बिर्सिसकेका हुन्छन् । नयाँ शैक्षिक सत्रको भर्ना अभियानजस्ता समस्याले गर्दा ७० प्रतिशत कोर्ष पूरा नहुँदै बार्षिक परीक्षामा विद्यार्थीले भाग लिनुपर्ने बाध्यता छ,’ उनले भने ।

देवीमहादेव माध्यमिक विद्यालय रुखेडाचौर तिला गाउँपालिकाका प्रधानाध्यापक झुपे रावत वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि जुम्लाजस्ता हिमाली जिल्लाका लागि उपयुक्त नभएको बताउँछन् । ‘भौगोलिक वातावरण र हावापानीले पुस र माघमा ५० दिन जाडो बिदा गर्नैपर्ने हुन्छ । फागुनदेखि पुनः विद्यालय सञ्चालन गरी चैतमा वार्षिक परीक्षा लिनुपर्ने हुन्छ । वार्षिक परीक्षा नहुँदै दुई महिना विद्यार्थी घरमा बिदा बस्ने हुँदा पढेका कुरा सबै बिर्सिसक्छन् । फागुनमा विद्यालय खुला हुन्छ, चैतमा वार्षिक परीक्षा हुन्छ । वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भइहाल्छ,’ उनले भने ।

शैक्षिक सत्रका कारण पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै १ फागुनदेखि शैक्षिक सत्र सुरु गर्न माग गरिएको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख रमेश मल्लले बताए । उनका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरलाई पठाइएको पत्रमा शैक्षिक सत्र संशोधनको माग गरिएको हो । ‘१९ वैशाख ०८१ मा जिल्ला समन्वय समिति जुम्लाका प्रमुखको अध्यक्षतामा बसेको बैठक र २० मंसिरमा माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको थियो । बैठकमा आठवटा स्थानीय तहका प्रमुख, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखलगायत अन्य सरोकारवालाहरूको सहभागिता थियो,’ उनले भने । जुम्लामा १४५ आधारभूत र ५५ सामुदायिक विद्यालय छन् । ४३ हजार ४१९ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।