मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
रञ्जन भण्डारी महाेत्तरी
२o८१ माघ ७ सोमबार १o:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्दीबासमा गुम्दै ट्रान्जिट प्वाइन्ट, २४० होटेलको लगानी जोखिममा

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १o:३o:oo

कुनै वेला आन्तरिक तथा भारतलगायतका अन्य मुलुकका पर्यटकले गुल्जार हुने बर्दीबासमा अहिले पर्यटक घट्न थालेका छन् । पर्यटक कम हुन थालेपछि साना, मझौला र ठुला गरी दुई सय ४० होटेलको लगानी जोखिममा परेको छ । बर्दीबासमा पर्यटकलाई राम्रो खाना र वासस्थानको व्यवस्था भए पनि समय व्यतीत गर्न सक्ने ठाउँको अभाव हुँदा पर्यटक घट्दै गएको होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीले बताए । उनका अनुसार पर्यटक घट्न थालेसँगै तीनवटा ठुला होटेल व्यवसायी पलायन भइसकेका र थप चार बन्द हुने अवस्थामा छन् ।

बर्दिबास मात्रै नभएर महोत्तरीभित्र नै पर्यटकले समय व्यतीत गर्न सक्ने स्थान नरहेको कार्कीको भनाइ छ । यहाँ विभिन्न धार्मिक तथा सांस्कृतिक महत्वका ठाउँ, गिद्ध वासस्थान वा खयरमारामा पर्ने चनौटे डाँडाको सुन्तला खेतीलगायत ठाउँमा पनि पर्यटक पु¥याउन सकिने भए पनि प्रचारप्रसार गर्न नसकिएको उनको भनाइ छ ।

‘देशको अर्थतन्त्र सबल बनाउन पर्यटन फस्टाउनुपर्छ । तर, अझै स्थानीय, प्रदेश वा केन्द्र सरकारकै पर्यटक भित्र्याउन कुनै ठोस कदम चालेको छैन,’ कार्कीले भने, ‘महोत्तरीका सबै मुख्य स्थलमा पर्यटकको भिड नै खडा गर्न सक्ने सम्भावना छ । ती सबै स्थल जोड्ने र प्रचारप्रसार गरी पर्यटक टिक्न सक्ने गरी स्थलहरू निर्माण भएका छैनन्, भएका स्थललाई पनि पर्यटकीय हिसाबले परिमार्जित नै गर्न सकिएको छैन ।’

बर्दीबासको माथिल्लो क्षेत्रमा स्काई साइक्लिङ, बन्जी जम्प, जिपलाइन र अन्य साहसिक खेल व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । यसका साथै सबै पर्यटकीय स्थलहरूमा पार्क उपयुक्तताका आधारमा मिनी चिडियाखानाहरू, अन्य घुम्ने ठाउँ, पोखरी र होमस्टेलगायतका व्यवस्थापनले समेत पर्यटकको संख्यामा वृद्धि हुने बताउँछन् ।

वैदेशिक रोजगारी र अध्ययनकै लागि युवा विदेश जाँदा त्यसको प्रभाव होटेल क्षेत्रमा परेको छ । उनले भने, ‘होटेलमा बस्ने र पर्यटकीय हिसाबले घुम्ने युवाहरू नै हुन्, तर उनीहरू नै नहुँदा आन्तरिक पर्यटनमा समेत प्रभाव परेको छ ।’ बर्दीबासमा रहेको थ्री स्टार होटेल नाव्या र सोहीसरहका अन्य होटेलहरू गौतम होटेल, विनायक होटेल, होटेल पावन, मिथिला होटेल, रेड क्राउन होटेल, होटेल रोयल सेन, होटेल गुञ्ज र बर्दीबास रिसोर्टलगायतका होटेलमा पाँच सयभन्दा बढी युवा रोजगारमा छन् । तर, पर्यटक घट्दै गएपछि उनीहरूको रोजगारी जोखिममा परेको छ ।

काठमाडौंबाट निजगढ हुँदै बर्दीबास भएर पूर्व जाने फास्ट ट्र्याक निर्माणपछि यात्री सहजै र कम समयमै गणतव्यमा पुग्नेछन् । दूरी छोटो भएपछि यात्रीलाई बर्दीबासमा विश्राम गर्नुपर्ने बाध्यता हट्दै छ ।

त्यस्तै, कुनै वेला सिन्धुली, रामेछाप, ओखलढुंगा र सोलुसम्मका मानिसलाई पूर्व जानुपर्दा बर्दीबास हँुदै जानुपथ्र्यो । तर, अब भिमानबाटै धरान–चतरा (मदन भण्डारी राजमार्ग) सडक निर्माणले उताका यात्रीसमेतलाई बर्दीबास आइरहनुपर्ने बाध्यता हटेको छ । जसले गर्दा होटेल व्यवसायमा थप प्रभाव परेको छ । ‘बर्दीबासले आफ्नो ट्रान्जिट प्वाइन्ट गुमाउँदै गएकाले अब तिनै यात्रीको आसमा यहाँको व्यापार–व्यवसाय चल्ने अवस्था हराउनेछ’ ।