करिब साढे दुई वर्षदेखि घटिरहेको आयात–निर्यात पछिल्ला महिनामा उत्साहप्रद, निर्यात ३२% र आयात ७% वृद्धि एक सय ५७ देशसँग व्यापार गरेको नेपालको एक सय २४ देशसँगको व्यापार घाटामा छ भने ३३ देशसँग न्यून नाफामा छ
भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढेपछि चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट हुने निर्यातमा उत्साहप्रद वृद्धि देखिएको छ । उक्त अवधिमा नेपाली वस्तुहरूको निर्यात ३१.७८ प्रतिशतले बढेको हो ।
साउनदेखि पुससम्म ६ महिनामा नेपालबाट ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा ७४ अर्ब ९७ करोडबराबरको मालवस्तु निर्यात भएको थियो । चालू आवको निर्यातमा भटमास र सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, ऊनी गलैँचा कार्पेट, अलैँची, तयारी कपडा, प्लाइउड, फलामे पातालगायतको योगदान उच्च रहेको छ । मंसिर र पुसमा भटमास र सूर्यमुखी तेलको निर्यात उच्च दरले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
पछिल्लो ६ महिनामा भटमासको प्रशोधित तेल १८ अर्ब ९१ करोड र सूर्यमुखी प्रशोधित तेल चार अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । जबकि, गत वर्षको पहिलो ६ महिनमा ४१ करोड ५२ लाखको भटमासको प्रशोधित तेल र १४ करोड ८७ लाखको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको थियो । यसै अवधिमा २४ अर्ब ३७ करोडको भटमासको कच्चा तेल र १३ अर्ब ५७ करोड रुपैयाँबराबरको सूर्यमुखी तेलको आयात भएको देखिन्छ ।
चालू आवकै सुरुवाती महिनाहरू साउन, भदौ र असोजमा गत वर्षको सोही महिनाको तुलनामा निर्यात घटेको भए पनि कात्तिक, मंसिर र पुसमा एकाएक उछाल आएको हो । असोजमा कुल १३ अर्ब २८ करोडको मालवस्तु निर्यात भएकोमा कात्तिकमा बढेर १४ अर्ब ३० करोड, मंसिरमा करिब २१ अर्ब र पुसमा २५ अर्ब ३० करोडको निर्यात भएको छ ।
भन्सार विभागका अनुसार ६ महिनामा सेन्थेटिक यार्न ६ अर्ब ८६ करोडको निर्यात भएको छ भने ऊनी गलैँचा कार्पेट पाँच अर्ब ६१ करोड, अलैँची चार अर्ब ५७ करोड, तयारी कपडा चार अर्ब ३८ करोड, प्लाइउड चार अर्ब २४ करोड, फलामे पाता चार अर्ब आठ करोड, फलफूलको जुस तीन अर्ब ४५ करोड, चिया तीन अर्ब १७ करोड, जमोठ कपडा दुई अर्ब ६४ करोड, जुटका कपडा दुई अर्ब ५९ करोड, कुकुर–बिरालोको खाना एक अर्ब ८१ करोड, पिना एक अर्ब ७८ करोड, पश्मिनाको सल एक अर्ब ७२ करोड, ऊनी–सुती–टेरिकटनको कपडा एक अर्ब ५४ करोड, प्रशोधित पाम आयल एक अर्ब १३ करोड, खयर कत्था एक अर्ब १३ करोड, चाउचाउ–पास्ता एक अर्बको निर्यात भएको छ ।
आयात ७ प्रतिशत वृद्धि
६ महिनाको अवधिमा विभिन्न देशबाट आठ खर्ब २२ अर्ब ३७ करोडको मालवस्तु आयात भएको छ । यो आयात गत वर्षको पहिलो ६ महिनाको तुलनामा ७.०७ प्रतिशतले वृद्धि हो । गत वर्षको पहिलो ६ महिनामा सात खर्ब ६८ अर्ब १७ करोडको मालवस्तु आयात गरिएको थियो । यो पुस महिनामा मात्रै एक खर्ब ६० अर्बभन्दा बढीको आयात भएको छ ।
विश्वव्यापी मन्दीका कारण करिब साढे दुई वर्षसम्म घटिरहेको आयात–निर्यात पछिल्लो महिनामा बढ्न थालेको हो । आयात बढ्नुले बजारमा माग पनि बढ्न थालेको संकेत दिने अर्थशास्त्रीको आकलन छ । यस वर्ष भटमासको कच्चा तेल, शुद्ध फलाम, सूर्यमुखीको कच्चा तेल, धान, एलपी ग्यास, तयारी कपडा, एलोप्याथिक औषधि, मोबाइललगायत वस्तुको आयात बढेपछि समग्र आयात सुधारोन्मुख देखिएको हो । ६ महिनामा सबैभन्दा धेरै डिजेल र पेट्रोल आयात भएको छ । यो अवधिमा ५४ अर्ब ३७ करोडको डिजेल र ३२ अर्ब १५ करोडको पेट्रोल आयात भएको छ । २९ अर्ब ८० करोडको एलपी ग्यास, २५ अर्ब ७२ करोडको शुद्ध फलाम, २४ अर्ब ३७ करोडको भटमासको कच्चा तेल, २२ अर्ब १० करोडको तयारी कपडा, २१ अर्ब २२ करोडको एचआर सिट आयात भएको देखिन्छ ।
विभागका अनुसार १७ अर्ब ८५ करोडको मोबाइल तथा टेलिफोन, १५ अर्ब ४३ करोडको एलोप्याथिक औषधि, १३ अर्ब ५७ करोडको सूर्यमुखीको कच्चा तेल, १३ अर्ब २२ करोडको पोलिथिन दाना, १३ अर्ब ११ करोडको विद्युतीय कार, जिप र भ्यान, १० अर्ब ४२ करोडको धान, नौ अर्ब ८९ करोडको कोइला, नौ अर्ब ६० करोडको युरिया, नौ अर्ब ४३ करोडको एटिएफ, नौ अर्बको औद्योगिक मेसिनरी, आठ अर्ब ६७ करोडको चामल, आठ अर्ब ३६ करोडको अनएसेम्बल्ड मोटरसाइकल तथा स्कुटर, आठ अर्ब २८ करोडको सुन आयात भएको देखिन्छ ।
नेपालले पुससम्म एक सय ५७ देशसँग व्यापार गरेको छ । जसमध्ये एक सय २४ देशसँगको व्यापार घाटामा छ भने ३३ देशसँग मात्रै न्यून व्यापार नाफामा छ । नेपालको सबैभन्दा धेरै भारतसँग चार खर्ब २९ अर्ब, चीनसँग एक खर्ब ५६ अर्ब, अर्जेन्टिनासँग २२ अर्ब, युक्रेनसँग १३ अर्ब, युनाइटेड अरब इमिरेट्ससँग नौ अर्ब ६३ करोड, अस्टे«लियासँग आठ अर्ब ६० करोड, थाइल्यान्डसँग सात अर्ब ६१ करोड, इन्डोनेसियासँग सात अर्ब ३६ करोड, मलेसियासँग सात अर्ब ३० करोड घाटामा छ ।