मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
२o८१ माघ ८ मंगलबार o९:३१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

चिकित्सक हत्याका दोषीलाई आजीवन कारावास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार o९:३१:oo

भारतका एक प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई आजीवन काराबासको सजाय सुनाइएको छ । बलात्कारपछि हत्याका दोषी सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको हो ।

कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजीवन कारावासको सजाय गर्न प्रशासनलाई आदेश दिए ।

अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।

पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सक थप सुरक्षा माग गर्दै विरोध प्रदर्शनमा सामेल भएका थिए । प्रतिवादी सञ्जय रोयको मुद्दा द्रुत गतिमा सुनुवाइ अघि बढाइएको थियो । यस मुद्दामा एक हप्ताअघि मात्र बहस सकिएको थियो । अस्पतालका स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका थिए ।

सुनुवाइका क्रममा रोयले लगातार आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गरेका थिए । भारतमा एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो । राज्यभरिका चिकित्सकले पीडितलाई न्याय दिन र सरकारी अस्पतालमा कडा सुरक्षा उपायको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । 

मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको बीभत्स प्रकृतिको तुलना गरिएको थियो ।