मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
२o८१ माघ ९ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चैत १४ देखि १८ गतेसम्म काभ्रेमा विश्व युवा महोत्सव हुने

महोत्सवमा ७५ भन्दा बढी देशका १० हजार युवाले भाग लिने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार १o:२४:oo

आगामी चैत १४ देखि १८ गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा विश्व युवा महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नेपालमा पहिलोपटक विश्व युवा महोत्सव हुन लागेकाे हाे । महोत्सवमा विश्वभरका करिब १० हजार युवा प्रत्यक्ष सहभागी हुने आयोजकको अनुमान छ ।

जिल्ला समन्वय समिति काभ्रेले मंगलबार सञ्चारकर्मीहरूसँग अन्तर्क्रियाको आयोजना गरी सो कुराको जानकारी दिएको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमका अनुसार महोत्सवका लागि हालसम्म ७५ देशबाट ७७८ जना सहभागीले अग्रिम नाम दर्ता गराइसकेका छन् । 

कार्यक्रमअगावै नाम दर्ता गर्नेलाई सात हजार पाँच सय र कार्यक्रम अवधिमा दर्ता गर्नेलाई १० हजार शुल्क तोकिएको उनले जानकारी दिए । गौतमको भनाइअनुसार दुई सयभन्दा बढी विज्ञ, वक्ता सहभागी हुने कार्यक्रममा २५ भन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

सरकारकोे भिजन २०२५, राष्ट्रिय योजना आयोगको १६औैँ पञ्चवर्षीय योजनाका साथै दिगो विकास लक्ष्यका सूचकहरू पूरा गर्न महोत्सव केन्द्रित हुने गौतमले जानकारी दिए ।

यस महोत्सवमा खेलकुद, सांस्कृतिक कन्सर्ट, सेमिनार, दृश्यावलोकनलगायतका ५० भन्दा बढी गतिविधि हुने गौतमले जानकारी दिए । उक्त महोत्सवमा तीन लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान छ । महोत्सवमा विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत युवाहरू सहभागी हुनेछन् ।

महोत्सवमा सबै देशका युवा सवालका साथै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, आयआर्जनलगायत विषयबारे कार्यपत्र, बहस, अन्तर्क्रिया र विज्ञसँग छलफल हुनेछ । महोत्सवको पूर्वसन्ध्यामा ‘ए’ डिभिजन फुटबल, फुटसल, महिला भलिबल र डिजिटल कविता प्रतियोगिता आयोजना गरिएको छ ।

जिल्ला समन्वय समिति काभ्रेले यसअघि १० हजारभन्दा बढीको सहभागितामा धुलिखेलमा लैंगिक हिंसाविरुद्धको अभियान, दुई हजारभन्दा बढी खेलाडी सहभागी गराएर खेलकुद महोत्सव र बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव सम्पन्न गरिसकेको छ ।