कपिलवस्तुको कृष्णनगर भन्सारबाट वास्तविकभन्दा कम तौल देखाएर मालवाहक साधानहरू भित्रिने गरेको पाइएको छ । भन्सारका कर्मचारीहरूकै मिलेमतोमा भारतबाट आयात हुने मालसामानमा न्यून बिजक तथा कम तौल देखाई गाडी भित्रिने कृष्णनगर क्षेत्रका व्यापारीहरू बताउँछन् । भन्सार कार्यालयमै रहेको तौल मेसिन मर्मतसमेत नगराउने र ओभरलोड गाडीलाई कम तौल देखाएर पठाउने गरिएको स्थानीय व्यापारीहरूको भनाइ छ ।
सोही कारण दुई साताअघि डिजेल जेनेटर लोड भएको भारतीय नम्बर प्लेट एनएल ०१ एएच ५१८९ गाडीका कारण दुम्कीबासमा रहेको पुल नै भासिएको थियो । सोे घटना बाहिरिएपछि कृष्णनगर भन्सार नाकाबाट कम तौल देखाएर ओभरलोड गाडीहरू पास भएको देखिएको हो । उक्त गाडी कृष्णनगर भन्सारबाट जाँचपास भई गएको र ओेभरलोडले गर्दा पुल भासिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाको भनाइ छ ।
७२ चक्के र सय टनभन्दा बढी भार भएकाले गाडीका कारण पुल भासिएको थियो । ४ माघमा पनि भन्सार पास भई कृष्णनगरबाट सिद्रा माछा बाकेर चन्द्रौटातर्फ जाँदै गरेको ५३ एफटी ६८६९ नम्बर मिनिट्रकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले चेकजाँच गर्दा वास्तविकभन्दा कम तौल देखाइएको पुष्टि भएको छ । भर्पाईमा दुई हजार ६ सय २६ किलो देखाए पनि तौल गर्दा भने दुई हजार आठ सय ३० किलो भेटिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । भर्पाईभन्दा २५ किलो माछा बढी देखिएको उनले बताए ।
गाडीका चालक भारत गोरखपुरका शिवशंकर राय र व्यवसायी कपिलवस्तु शिवराज नगरपालिकाका दुर्गाप्रसाद यादवलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
भन्सार कार्यालय सूचना अधिकारी लेखनाथ भट्टराईले भने भन्सारमा सय टनसम्म तौल गर्ने मात्र धर्मकाँटा भए पनि व्यापारीहरूले देखाउने बिलकै आधारमा भन्सार गर्ने गरेको बताए ।
सामान्यभन्दा बढी नै फरक देखिने गरी मालसामान भएको शंका लागेमा मात्र तौल गर्ने गरिएको उनको भनाइ छ । ‘हामीले व्यापारीहरूले देखाएको बिलकै आधारमा भन्सार गर्दै आएका छौँ,’ उनले भने, ‘यसमा हाम्रो अरू कुनै संलग्नता छैन ।’ भन्सार प्रमुख फणीन्द्र खतिवडाले सडकको क्षमता र ओभरलोडभन्दा आफूहरूले भन्सार सामानको भन्सारको मूल्यांकन गरेर पास गर्ने गरेको बताएका छन् । सडकको भारको विषय आफूहरूको नभएको उनको भनाइ छ ।