रुस–युक्रेन युद्धमा मारिएकामध्ये दुई नेपालीका परिवारले क्षतिपूर्तिबापतको पहिलो किस्ता पाएका छन् । परिवारले पहिलो किस्ताको रकम मस्कोमै बुझेको हो । रकम तीन किस्तामा दिने रुसी रक्षा मन्त्रालयले परिवारजनलाई जानकारी दिएको छ ।
परराष्ट्र स्रोतका अनुसार रुसी सेनाका तर्फबाट युक्रेनी सेनासँगको लडाइँमा मृत्यु भएका गणेश श्रेष्ठ र विराजन विष्टको परिवारलाई रुस सरकारले क्षतिपूर्ति दिन थालेको हो । रुस सरकारले रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएका सैनिकका परिवारलाई प्रतिव्यक्ति करिब दुई करोड ३१ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेको छ । रुसी सेनामा कार्यरत रहेका नेपालीहरूमध्ये हालसम्म ५६ नेपालीको मृत्यु पुष्टि भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएका नेपालीहरूको परिवारलाई क्षतिपूर्तिका लागि सरकारले प्रयास जारी राखेको बताए । ‘मस्कोस्थित नेपाली राजदूतावासले रुस सरकारसँग आवश्यक समन्वय गरिरहेको छ,’ प्रवक्ता ढकालले नयाँ पत्रिकासँग भने, ‘रुसी सेनामा कार्यरत रहेका नेपालीहरूको मुद्दा सरकारको प्राथमिकतामा छ ।’
मृतकका परिवारजनले क्षतिपूर्तिका लागि रुस जाने इच्छा जनाएको, तर सरकारले उनीहरूलाई एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) नदिएको रुसी सेनामा कार्यरत रहेका परिवारजन र सरकारबिच समन्वय गराइरहेकी सामाजिक अभियन्ता कृतु भण्डारीले बताइन् । ‘सरकारले एनओसी नदिएका कारण परिवारजन मस्को जान पाएका छैनन्, उनीहरू मस्को गएर क्षतिपूर्ति दाबी गर्न चाहन्छन्,’ भण्डारीले भनिन् ।
कन्सुलर सेवा विभागमार्फत डिएनए परीक्षणसहित ४९ जना मृतकको विवरण पठाएकोमा त्यसमा रुसले केही प्रतिक्रिया जनाएको छैन । तर, मृतकका दुई परिवार आफैँ मस्को गएर अनुरोध गरेपछि रुस सरकारले क्षतिपूर्ति दिन थालेको हो । उनीहरूलाई रुस जान नो अब्जेक्सन लेटर (एनओसी) रुसस्थित नेपाली राजदूतावासले उपलब्ध गराएको थियो ।
परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागलाई परिवारबाट हालसम्म परेको ३४३ निवेदनमध्ये परिवारसँग सम्पर्कमा नभएका १२४ जनालाई खोजी गरी फिर्ता ल्याउन माग गरिएको छ । घाइते तथा अन्य कारणले उद्धार गर्नुपर्नेहरूको संख्या १७१ पुगेको छ । अन्य विषयमा थप ४८ वटा निवेदन परेका छन् ।
युक्रेनमा १७ नेपाली बन्दी
सरकारी तथ्यांकअनुसार युक्रेनी सेनाको हिरासतमा हालसम्म सातजना नेपाली छन् । तर, परिवारजनबाट प्राप्त विवरणअनुसार थप १० जना नेपाली युक्रेनी सेनाको बन्दी छन् । विवेक खत्री, सिद्धार्थ ढकाल, विकास राई, प्रतीक पुन, सुजन सुवेदी, ईश्वर लामिछाने र कृष्णबहादुर घिमिरे युक्रेनी सेनाको हिरासतमा छन् ।
बाँकी १० जनाको विवरण भने सार्वजनिक भएको छैन । ‘१० जनाले रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीमार्फत परिवारलाई चिठी पठाएर यो जानकारी गराएकाले पुष्टि भएको छ । थप नेपाली छन् कि भनेर खोजी कार्य गर्दै छौँ,’ अभियन्ता भण्डारीले भनिन् ।
भर्ना र करार नवीकरण रोकियो
रुस सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना रोकेको छ । यसैगरी, रुसी सेनामा रहेका नेपालीको करार नवीकरण पनि रोकेको छ । ‘रुसी सेनामा कार्यरत रहेकाहरूमध्ये त्यहाँकै नागरिकता लिएकाहरूले सेवा नवीकरण गरेका छन् भन्ने जानकारी आएको छ । तर, नेपाली नागरिकका रूपमा अब कसैको पनि नवीकरण हुँदैन भन्ने जानकारी आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । रुसी सेनाबाट करिब २५० जना स्वदेश फर्केका छन् । यीमध्ये केही बिदामा आएको र अधिकांशले रुसी सेना छाडेको सामाजिक अभियन्ता भण्डारीले बताइन् ।
रुसी सेनामा कार्यरत रहेका नेपालीहरूमध्ये हालसम्म ५६ जना नेपालीको मृत्यु पुष्टि
रुसी सेनामा कार्यरत रहेका नेपालीहरूमध्ये हालसम्म ५६ जना नेपालीको मृत्यु पुष्टि भएको छ । नयाँ पत्रिकालाई उपलब्ध कन्सुलर सेवा विभागको रेकर्ड अनुसार राजकुमार रोका, शुक्रबहादुर तामाङ, भरतबहादुर शाह, देवान राई, प्रितम कार्की, गंगाराज मोक्तान, रूपक कार्की, सन्दीप थपलिया, कुन्दनसिंह नागाल, हरिप्रसाद अर्याल, राजकुमार गिरी, धनसिंह पुन, पूर्णबहादुर गुरुङ, सुन्दर मुक्तान, गंगाराम अधिकारी, पदमबहादुर घिमिरे, सन्जय केसी र नबीन शाहीको मुत्य भएको छ ।
यसैगरी जितबहादुर विक, अनितकुमार साह, खगेन्द्र रैका मगर, वीरवल राई, बलराम गुरुङ, तेजबहादुर शाही, सुरेन्द्र राना, लालबहादुर बुढा, राजु थारु, फुर्वा शेर्पा, सुरज विक, नेत्रबहादुर घर्ती, शंकर दमाई, साजन गुरुङ, शान्त बहादुर भोलान र घनश्याम परियारले पनि ज्यान गुमाएका छन् ।
यसबाहेक संजोग आचार्य, नवीन शाही, विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले, सुवास थापा, मोहन तामाङ, रञ्जित गुरुङ र ध्रुव घर्तीमगर, बिराज बिष्ट, लोकेन्द्रबहादुर बिष्ट, जीवन राई, ओमबहादुर पुन मगर र जीवन लिम्बुको पनि मृत्यु भएको छ ।
यस्तै नेत्रबहादुर थापा, उदयराज थारु, प्रितम राई, ललितसिंह डोवाल, हेमकुमार मगर, तारा प्रकाश घर्ती, रामहादुर बुढा मगर र लरबहादुर बुढाको निधन भएको छ ।