प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई नाै विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोरनजिक पुगेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरु हुँदा खेल २० ओभरबाट सातमा झारिएको थियो ।
बलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याचसमेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई विकेट लिइन् ।
आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ .२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि सम्झना खड्काले अविजित ३२ रनको पारी खेलिन् ।
यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ दी सिरिजलाई ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । रासस