उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन् । मंगलबार कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए । विगतमा जनताको गुमेको अधिकार कांग्रेसले पुनःस्थापित गरेको दावी गर्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकताबद्ध कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए ।
त्यस्तै, उनले अहिले कांग्रेस र एमालेबिचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे । सरकार सात बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमतिअनुसार कांग्रेस–एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे । ‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन् । स्थिर सरकार बनोस् भन्ने जनचाहनाअनुरूप नै वर्तमान सरकार बनेको हो,’ सिंहले भने, ‘सात बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ ।’
उनले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए ।