महोत्तरीको मटिहानी नगरपालिकास्थित रंगशालामा सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ। प्रतियोगिताको नगर प्रमुख हरिप्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
नगर प्रमुख मण्डलले खेलकुद र शिक्षाको विकासका लागि पालिका कटिबद्व रहेको बताए। खेलकुदले विद्यार्थीको आत्मबल बढाउनुका साथै देशका लागि कर्णधार युवा तयार गर्न सहयोग पुग्ने उनको भनाइ थियो। यता प्रमुख जिल्ला अधिकारी कवारीले खेलकूदले ब्यक्तित्व बिकास गराउनुको साथै शारीरिक तथा मानसिक विकास गर्न समेत मद्दत गर्ने उल्लेख गरे।
दुई दिनसम्म चल्ने प्रतियोगितामा पालिकाका पाँच वटा माध्यमिक विद्यालय सहभागी छन। प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङजम्पसहित २३ खेलमा प्रतिस्पर्धा हुनेछ।