सामूहिक निर्णय ज्ञान, अनुभव वा पूर्वाग्रहबाट कम प्रभावित हुने सम्भावना भएकाले यो थप प्रभावकारी हुन सक्छ
करिब ३७५ इसापूर्वमा लेखिएको प्लेटोको ‘द रिपब्लिक’ प्राचीन ग्रिक दर्शनको एक महत्वपूर्ण कृति हो र यसले पश्चिमा राजनीतिक चिन्तनलाई गहिरो ढंगले प्रभाव पारेको छ । ग्रिसलाई प्रायः ‘लोकतन्त्रको उद्गमस्थल’ भनेर चिनिन्छ, जहाँ विश्वकै पहिलो लोकतान्त्रिक प्रणाली एथेन्समा विकसित भएको थियो । डेमोक्रेसी अर्थात् ‘लोकतन्त्र’ शब्द नै ग्रिक भाषाबाट विकास भएको हो । यद्यपि प्लेटोको द रिपब्लिकमा लोकतन्त्रको तीव्र आलोचना गरिएको छ र यसलाई आधुनिक पश्चिमा समाजको लोकतन्त्रले उच्च महत्व दिएको सन्दर्भमा अनौठो लाग्न सक्छ । प्रायः सबै पश्चिमा राष्ट्र लोकतान्त्रिक प्रणालीमा सञ्चालन भइरहेका छन् र राजनीतिक बहस यही शासन प्रणालीको रक्षामा केन्द्रित हुन्छन् । उदाहरणका लागि हालसालैको अमेरिकी निर्वाचनमा ट्रम्प र ह्यारिसका समर्थक दुवैले आफूहरूले लोकतन्त्रको रक्षा गर्ने दाबी गरेका थिए । त्यसैगरी बेलायतमा वर्तमान लेबर सरकारले १६ वर्ष उमेरका व्यक्तिलाई मताधिकार दिने प्रस्ताव अघि सारेको छ । प्रश्न उठ्छ, प्लेटोले लोकतन्त्रको विरोध किन गरे ? र, के उनका तर्कले पश्चिमा विश्वमा लोकतन्त्रप्रतिको विश्वास घट्दो क्रममा रहेको कारणलाई बुझ्न मद्दत पुर्याउन सक्छ ?
प्लेटोको द रिपब्लिकमा लोकतन्त्रप्रतिको आलोचना उनका गुरु सुकरातमार्फत व्यक्त गरिएको छ, जसले ईसापूर्व पाँचौँ र चौथो शताब्दीको एथेन्सको लोकतन्त्रलाई चुनौती दिएका थिए । आधुनिक प्रतिनिधि लोकतन्त्रभन्दा फरक एथेन्सको लोकतन्त्रमा मात्र पुरुष नागरिकले मतदान गर्न र गोलाप्रथामार्फत छानिने सरकारी भूमिकामा सेवा गर्न पाउँथे । जनसंख्याको ठुलो हिस्सा रहेका महिला, दास र विदेशी पूर्णतः बहिष्कृत थिए । यो प्रणाली कहिलेकाहीँ क्रूर पनि हुन्थ्यो, जहाँ नागरिकले व्यक्तिलाई निर्वासन गर्न र मृत्युदण्ड दिन मतदान गर्थे । सुकरातकै मृत्युदण्ड पनि यही प्रक्रियाबाट थियो ।
प्लेटोको द रिपब्लिकमा सुकरातको लोकतन्त्रप्रतिको आलोचना शासन एक दक्षता र प्रशिक्षण आवश्यक पर्ने सीप हो, जुन सबैमा हुँदैन भन्ने धारणामा केन्द्रित छ । उदाहरणका लागि उडानका लागि पाइलट चयनलाई लिन सकिन्छ, यदि यात्रुले आफूमध्ये एकलाई पाइलटका रूपमा चुनिने गरी मतदान गरे भने योग्य र अनुभवी पाइलट उपेक्षित हुन सक्छन् । यो विशेषतः यदि अरूले उडानको कुनै विशेषज्ञता आवश्यक पर्दैन भनेर झुटो दाबी गरे, पाइलटबारे गलत प्रचार गरे वा घुस र धोखाधडीले चुनाव जितेको खण्डमा देखिन्छ । पहिलो दृष्टिमा उल्लिखित दृष्टान्तबाट प्रेरित यो तुलना लोकतन्त्रले शासनमा कुशल नेता सुनिश्चित गर्दैन भन्ने संकेत गर्छ । तर, अन्य प्रणालीले पनि यसको प्रत्याभूति गर्दैन । कुनै राज्य भाग्यशाली भएर शासन कौशलका केही प्रतिभा भएका शासक पाउन सक्छ, तर त्यो राज्यले एक क्रूर र अयोग्य तानाशाह पाउने सम्भावना पनि त्यत्तिकै हुन्छ ।
तसर्थ, सुकरातलाई लोकतन्त्रप्रति अझ सुदृढ एवं लक्षित तर्कको आवश्यकता पर्छ । द रिपब्लिकका दोस्रोदेखि चौथो खण्डसम्म यसबारे एक विशेष तर्क प्रस्तुत गरिएको छ । यसमा सुकरातले शासन एक सीपयुक्त काम हो, जुन अधिकांश मानिससँग हुँदैन भनेका छन् । अर्थात्, शासन सीपमा दक्ष व्यक्तिले मात्र शासन गर्नुपर्छ । तर, लोकतन्त्रमा बहुमतले शासन गर्छ त्यसैले लोकतन्त्र ठिक होइन । र, यो तर्क सबै लोकतन्त्रविरुद्ध सामान्य रूपमा लागू हुन्छ, न कि केवल एथेन्सको वा आधुनिक लोकतन्त्रविरुद्ध मात्र लागू हुन्छ । उल्लिखित दृष्टान्तमा भनेझैँ विमान उडाउन हामी बहुमत नभई दक्ष पाइलट चाहन्छौँ, त्यसैगरी राज्य चलाउन पनि हामीलाई बहुमत नभई दक्ष शासक चाहिन्छ ।
यो तर्कसँग तीन स्पष्ट समस्या छन् । पहिलो के शासन वास्तविकतामा विमान उडाउनजस्तै सीप हो ? यो सीपको अर्थ के हो ? प्लेटोको उत्तरअनुसार कुशल शासनले ‘सत्य र असल के हो’ भन्ने ज्ञानलाई समेट्छ, तर यो धेरै विश्वासयोग्य लाग्दैन ।
दोस्रो यदि शासन एक सीप हो भने पनि अधिकांश मानिससँग यो सीप हुँदैन भन्ने निष्कर्ष निकाल्न सकिँदैन । जीवनका विभिन्न क्षेत्रमा, राजनीतिबाहेकका क्षेत्रमा निर्णय लिने कुशल शासक पाइन्छन् । वास्तवमा सामूहिक निर्णय थप कुशल हुन सक्छन्, किनभने त्यो सानो समूहको ज्ञान, अनुभव वा पूर्वाग्रहबाट कम प्रभावित हुने सम्भावना हुन्छ ।
तेस्रो, यदि शासन एक दक्षता आवश्यक काम हो र अधिकांश मानिससँग यो सीप छैन भने पनि राजनीतिक निर्णयमा ती सीप नभएका व्यक्तिलाई समावेश गर्नुपर्ने केही कारण छन् । सम्भवतः हामी यिनलाई समावेश गरेर शासन सीपमा प्रशिक्षण दिन सक्छौँ । वास्तवमा निर्णय प्रक्रियामा सबै वा अधिकांश व्यक्तिलाई समावेश गर्नु सरल रूपमा न्यायपूर्ण हुन्छ र न्याय ‘सबैभन्दा राम्रो’ निर्णय प्राप्त गर्नुभन्दा महत्वपूर्ण हुन सक्छ ।
उसो त सुकरातले भनेझैँ लोकतन्त्रले कहिलेकाहीँ अयोग्य शासक उत्पादन गर्छन्, जसले खराब सम्भवतः दुष्ट निर्णय लिन्छन्, तथापि यसले हामीले लोकतन्त्रलाई अस्वीकृत गर्नुपर्छ भन्ने अर्थ लाग्दैन । यदि हामी सुकरातको केवल राज्यमा दक्ष व्यक्तिले मात्र शासन गर्नुपर्छ र अधिकांश मानिससँग यो दक्षता छैन भन्ने विचार स्वीकार गर्छौं भने पनि हामी लोकतन्त्रलाई सबैको राजनीतिक सीपलाई विकास गरेर बचाउन सक्छौँ । यसले सबैका प्रतिभा र अनुभवको राम्रो उपयोग गर्न मद्दत पुर्याउँछ, किनभने मानिसले आफूलाई प्रभावित गर्ने निर्णयमा आवाज राख्न पाउनु उचित हुन्छ ।
(ड्यानकोम्ब नटिंघम विश्वविद्यालयको दर्शनशास्त्रका सह–प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट