मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
कमलराज भट्ट काठमाडाैं
२o८१ माघ ९ बुधबार o८:२८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘नैतिक प्रश्न’ भन्दै विपक्षीले मागे लेखा समिति सभापतिको राजीनामा, कांग्रेस सांसदको पनि साथ

सहकारी ठगीमा जोडिएपछि नैतिक प्रश्न उठेको सांसदहरूको आरोप

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार o८:२८:oo

विपक्षी दलहरूले नैतिक प्रश्न उठेको भन्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । संसदीय अभ्यासअनुसार लेखा समिति सभापति प्रतिपक्षी दलले पाउनुपर्ने सैद्धान्तिक अवधारणाको समर्थन गर्दै सत्तारूढ कांग्रेसका सांसदले पनि त्यसमा सर्मथन जनाएका छन् । समितिको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी माओवादी र विपक्षी रास्वपाका सांसदले अहिलेका सभापति सत्तापक्षको हुँदा समिति सरकारको लाचार छायाजस्तो बनेको, उनीमाथि सहकारी ठगीको विषयमा नैतिक प्रश्न उठेको भन्दै राजीनामा मागेका हुन् । तर, एमालेका सांसदहरूले भने समितिको नेतृत्वबारे निर्णय राजनीतिक शीर्ष तहको सहमतिपछि मात्रै हुन सक्ने धारणा राखेका छन् । 

माओवादी सांसद लेखनाथ दाहालले सत्तापक्षको दलबाट सभापति रहिरहँदा समितिका कामकारबाही प्रभावित भएको बताए । उनले सरकारका गलत कामसँग सम्बन्धित उजुरीमा छलफल नभएको र सभापतिमाथि नैतिक प्रश्न उठ्दा पनि पदमा कायम रहनुले सरकारले गरेका कुकर्मलाई वैधानिकता दिन खोजिएको शंका उत्पन्न भएको बताए । सरकारले गरेका दुष्कर्मको प्रतिवाद गर्ने र उजुरी छानबिन गर्ने भन्दा पनि उजुरी रोक्ने, छोप्ने र कुकर्मलाई वैधानिकता दिन खोजेको हो कि भन्ने आशंका गर्ने पर्याप्त ठाउँ रहेको उनको भनाइ थियो । माओवादी उपमहासचिव जनार्दन शर्माले संसदीय परम्पराअनुसार लेखा सभापति विपक्षीले पाउनुपर्ने बताए । यस्तै, माओवादीकै अमनलाल मोदीले सभापतिलाई नैतिकता देखाउन आग्रह गरे । 

रास्वपा सांसद हरि ढकालले पनि लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र विगतमा सत्तारूढ दलका सांसदले सभापति नछाडेको गलत उदाहरण दिएर कुतर्क नगर्न अनुरोध गरे । कांग्रेस सांसद अर्जुननरसिंह केसीले पनि मार्गप्रशस्त गर्न सभापतिलाई अनुरोध गरे । विपक्षीले सभापतिको राजीनामा मागेपछि प्रमुख सत्तारूढ एमाले सचिव योगेश भट्टराईले राजनीतिक शीर्ष तहमा सहमति भए समितिको नेतृत्व छोड्न तयार रहेको बताए । कांग्रेस सांसद देव तिम्सिनाले अर्काे बैठकमा नेताहरूसँग बसेर सभापति फलानोलाई दिने निर्क्योल गरेर आउन माग गरे । सभापति ऋषिकेश पोखरेलले राजनीतिक रूपमा उठाएका विषय राजनीतिक तहबाटै हल हुने भन्दै आफूले टिप्पणी नगर्ने दोहोर्‍याए ।

‘अध्यादेशका प्रावधान आपत्तिजनक छन्, छलफल चलाऔंँ’
माओवादी सांसद लेखनाथ दाहाल, कांग्रेस सांसद सञ्जय गौतम र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएका अध्यादेशका प्रावधान आपत्तिजनक र संविधानसँग बाझिने खालको रहेको भन्दै समितिमा छलफल चलाउन प्रस्ताव गरे । सांसद गौतमले बजेट रकमान्तर गर्ने अध्यादेशको व्यवस्थाले नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिने भन्दै छलफल चलाउने माग गरे । सांसद दाहालले भने, ‘जे–जस्ता गम्भीर प्रकृतिका दीर्घकालीन असर राख्ने विषय आएका छन्, यसले सीमित केही व्यक्ति र व्यापारीलाई पोस्न आएको हो कि कि भन्ने आशंका छ । यसबारेमा छलफल गर्नुपर्छ ।’ सिंहले अध्यादेश संविधानसम्मत नरहेको र लेखा समितिको अधिकार खोस्ने गरी आएको टिप्पणी गरे । विपक्षीबाट अध्यादेशको आलोचना भएपछि एमाले सांसद गोकुल बाँस्टोकाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको र संविधानमै व्यवस्था रहेको स्मरण गराए ।

माओवादी सांसद दाहाल र एमालेका लामाबिच घोचपेच
माओवादी सांसद लेखनाथ दाहाल र एमाले सांसद तारालामा तामाङबिच जुहारी चल्यो । तामाङले अबदेखि बैठकमा राजीनामाको विषय उठाए राम्रो नहुने चेतावनी दिएपछि विवाद भएको हो । दाहालले ‘राम्रो हुँदैन भनेर कुस्ती खेल्न खोजेको हो’ भनेर प्रश्न गर्दा ‘त्यही बुझ्दा हुन्छ’ भनेर तामाङले जवाफ दिए । त्यसपछि विवाद झन चर्किएको थियो । 

असंसदीय शब्द प्रयोग गरेर आफूहरूको बोल्ने अधिकारमाथि धावा बोलेको, मुख बन्द गर्न खोजेको भन्दै दाहालले रेकर्डबाट हटाउनै माग गरे । एमाले सांसद योगेश भट्टराईले माओवादीभन्दा २० वर्षअघिदेखि संसद्मा रहेको उल्लेख गर्दै अबदेखि राम्रो हुँदैन भन्ने शब्द कसरी असंसदीय भन्दै प्रतिप्रश्न गरे । तामाङले आफूले कसैलाई इंगित गरेर नबोलेको प्रस्टीकरण दिए । दाहालले ‘जे भए पनि धम्क्याउने भाषा नबोल्नुस्’ भनेका थिए । माओवादी सांसद अमनलाल मोदीले एमालेलाई प्रतिपक्ष भएकै कारण लेखा सभापति दिएको उल्लेख गर्दै प्रतिपक्षको साथीहरू बोल्दा धम्की दिने कुरा स्वीकार्य नहुने बताए । सांसद तामाङले सुरुवातमा सभापति पोखरेललाई भोट गरेर नल्याएको भन्दै भाइरल हुनका लागि एउटै कुरा दोहोर्‍याएर नबोल्न चेतावनी दिएका थिए । 

ऊर्जामन्त्रीको विषयमा माओवादी सांसदले गरे छलफलको माग
माओवादी सांसद अमनलाल मोदीले करोडौँ आर्थिक चलखेलमा ऊर्जामन्त्री दीपक खड्काले स्वार्थ बाझिने गरी रातारात कार्यविधि बनाएर कर्णाली र किमाथांका आयोजना निश्चित समूहलाई दिने विषयमा छलफलको माग गरे । ‘ऊर्जामन्त्रीसँग जोडिएर विषय उठेको छ । करोडौँ चेकको कुरा आएको छ । यो विषयमा छलफल गर्नुपर्छ,’ उनले भने । यसअघि ऊर्जामन्त्री खड्कासँग जोडिएको स्काउट जग्गा कब्जा तथा भाडा भुक्तानी नगरेको विषयमा राज्य व्यवस्थामा उजुरी परेको छ । ऊर्जामन्त्री खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले जग्गा भाडाबापतको रकम तिरेको छैन । सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिमा गोकुल बाँस्कोटा, राजन दाहाल, अमरेश सिंह, हरि ढकाल, प्रेम आले र मञ्जु खाण सदस्य छन् । समितिमा सयवटा उजुरी परेका छन् । मंगलबार सदस्यहरूलाई उजुरी वितरण गरिएको छ ।