मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ ९ बुधबार o८:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काठमाडौंसँग हिमालयनको फराकिलो हार

काठमाडौं माभरिक्सले पहिलो संस्करणको नेपाल कबड्डी लिगमा विपक्षीविरुद्ध सर्वाधिक ५६ अंक बटुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार o८:१३:oo

पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा काठमाडौं माभरिक्सले फराकिलोअन्तरले पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा काठमाडौंले लिगमा दोस्रो जित निकाल्ने क्रममा हिमालयनलाई ५६–३४ को फराकिलो अन्तरले हराएको हो । यस खेलबाट काठमाडौंले महत्वपूर्ण पाँच अंक बटुलेको छ । 

चालू लिगमा काठमाडौंले हिमालयनविरुद्ध जोडेको ५६ अंक सर्वाधिक योगफल हो । यसअघि धनगढी वाइल्ड क्याट्समाथि विराटनगर ब्यान्डिट्सले ४६ स्कोर गरेको थियो । काठमाडौंले हिमालयनविरुद्ध एकपक्षीय खेल बनाएको थियो । काठमाडौंले हिमालयनलाई तीनपटक अलआउट गरेको थियो । पहिलो हाफमा काठमाडौं हिमालयनविरुद्ध ३६–१३ को फराकिलोअन्तर बनाउँदै जिततर्फ अग्रसर भएको थियो । काठमाडौंले ट्याकलबाट पहिलो हाफमा सर्वाधिक १८ अंक बनाएको थियो । 

हिमालयनले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्ने अपेक्षा थियो । तर, अनुभवी खेलाडी सम्मिलित काठमाडौंले हिमालयनलाई दोस्रो हाफमा खेलमा फर्कने मौका दिएन । जसका कारण हिमालयन दोस्रो हाफमा पनि निरीह भयो । काठमाडौंले चौथोपटक दोस्रो हाफमा हिमालयनलाई अलआउट गर्दै अंक बटुल्यो । हिमालयनले दोस्रो हाफमा काठमाडौंलाई एकपटक अलआउट गरेको थियो । 

काठमाडौंका रेहमान उत्कृष्ट
प्रतिस्पर्धामा काठमाडौंका मोहम्मद मिजानुर रेहमानले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले काठमाडौंका लागि सर्वाधिक २१ अंक ल्याए । कोर्टमा सबैतिर छाएका मिजानुरले टचबाट १६, ट्याकलबाट तीन र बोनसबाट दुई अंक जोडेका थिए । काठमाडौंका कप्तान घनश्याम रोक्का मगरले टोलीलाई जित दिलाउन १८ अंकको योगदान दिए । हिमालयनसँगको प्रतिस्पर्धामा काठमाडौंले टचबाट सर्वाधिक २७ अंक जोडेको छ ।

यसैगरी, ट्याकलबाट १५, अलआउटबाट आठ अंक जोडेको काठमाडौंले बोनसबाट ६ अंक बटुल्यो । यसविपरीत हिमालयनले टचबाट १९, बोनसबाट १०, ट्याकलबाट ३ र अलआउटबाट दुई अंक हात पारेको थियो । काठमाडौंले लिगमा तीनमध्ये दुई खेलमा जित निकाली ११ अंक बनाएको छ । दोस्रो हार व्यहोरेको हिमालयनले पाँच अंक जोडेको छ ।