जुम्लाका तीन स्थानीय तहमा कम्तीमा आठ करोड खर्चेर निर्माण गरिएका १६ वटा लिफ्ट सिँचाइ आयोजनामध्ये १२ वटा लथालिंग अवस्थामा
जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । तर, अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्रै खेती भएको छ । जिल्लामा खतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नहुने जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेष गरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ ।
सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशकअघिदेखि नजिकको नदी–खोलाको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याइएको छ । संघीयतापछि पहिलो स्थानीय तहले गैरसरकारी संस्थासँगको साझेदारीमा सोलार प्रणालीमार्फत लिफ्ट सिँचाइ आयोजना निर्माण भए । विशेष गरी तिला, तातोपानी र हिमा गाउँपालिकामा यस्ता आयोजना निर्माण भएका हुन् । तर, अध्ययन नै नगरी निर्माण गरिएका सोलार प्रणालीमार्फत पानी तान्ने सिँचाइ आयोजना अहिले उपलब्धिविहीन भएका छन् । यस्ता आयोजनाका सोलार प्यानल र जिआई पाइप खोला, नदी–किनारामा लथालिंग भेटिन्छन् ।
तिलामा चारवटा, हिमामा चारवटा र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा ५० लाख खर्च गरिएका यस्ता आयोजनामा कम्तीमा आठ करोड बजेट खर्च भएको छ । तर, अहिले चारवटा आयोजना मात्रै सञ्चालनमा रहेका छन् । १२ वटा लिफ्ट सिँचाइका आयोजना लथालिंग अवस्थामा छन् ।
तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुईवटा मात्रै सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताए । उनले भने, ‘यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँचवर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालू आर्थिक वर्षमा १ र ६ नम्बर वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माण हुँदै छन् ।’
हिमा गाउँपालिकामा चारवटा सोलार प्रणालीमार्फत निर्माण भए पनि अहिले सबै आयोजना सञ्चालनमा नरहेको सूचना अधिकारी रतन रावतले बताए । उनले भने, ‘सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना सक्सेस भएनन् ।’
हिमा गाउँपालिका– ३, मोप्लागाउँमा दुई सय ८५ घरधुरीले सिँचाइ पुग्ने गरी ०७७ सालमा लिफ्ट सिँचाइ आयोजना निर्माण भएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाख रुपैयाँमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो ।
सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिवेलासम्म सिँचाइ गर्न सकिने अपेक्षा गरिएको थियो । तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तिलामा चारवटा लिफ्ट सिँचाइ आयोजना हुन् । चारवटा आयोजनामध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुईवटा आयोजना मात्रै सञ्चालनमा छन् ।