त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी समूह ‘बी’को विजेता तथा बागमती उपविजेता हुँदै अन्तिम चारको स्थान पक्का गरेका हुन् । यसअघि समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिम प्रदेशले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए । धनगढीको फाप्ला मैदानमा मंगलबार भएको पहिलो खेलमा आर्मीले कोशीलाई ९ विकेटले र बागमतीले मधेशलाई ७ विकेटले निराश पार्दै अन्तिम चार स्थान पक्का गरेका हुन् ।
आर्मीले तीन खेलमा दुई जित र एक हार सामना गरी चार अंक बटुल्यो । बागमतीले पनि समान खेलबाट चारै अंक जोड्यो । कोशी प्रदेशले पनि तीन खेलमा दुई जित र एक हार निकालेको थियो । तर, दोस्रो स्थानमा रहेको बागमतीभन्दा थोरै रनरेटले पछि रहँदा कोशी अन्तिम चारमा पुग्न सकेन । यस समूहमा मधेशले लगातार तीन खेल गुमायो । समूह ‘ई’मा एपिएफले चार खेलबाट सर्वाधिक सात अंक जोडेको थियो । सुदूरपश्चिमले चार खेलबाट ६ अंक हात पारेको थियो । समूह ‘ए’बाट ललितपुर, गण्डकी र कर्णाली समूह चरणबाटै बाहिरिएका छन् ।
कोशीमाथि आर्मीको सानदार जित
आर्मी र कोशीबिचको खेल हुस्सुका कारण ७–७ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको कोशीले सात ओभरमा ५ विकेटको क्षतिमा ३६ रनको मध्यम योगफल बनायो । प्रत्युत्तरमा आर्मीले ६.२ ओभरमा एक विकेट गुमाएर ४० रन जोड्यो । प्रतिस्पर्धामा आर्मीकी मनीषा चौधरी म्यान अफ दी म्याच भइन् । उनले सात रन खर्चेर तीन विकेट लिएकी थिइन् । लक्ष्य पछ्याएको इनिङ्समा सम्झना खड्काले २३ बलमा ३२ रनको योगदा दिइन् । उनले पाँच चौका प्रहार गरेकी थिइन् ।
अञ्जली विश्वकर्माले १४ बल सामना गरी ६ रन बनाइन् । यसअघि कोशीको ब्याटिङमा मनीषाले दुई ओभर बलिङ गरेकी थिइन् । सुस्मिता भुसालले दुई ओभरमा १३ रन खर्चेर दुई विकेट हात पारेपछि कोशीले आर्मीलाई मध्यम योगफल प्रस्तुत गरेको थियो । कोशीको ब्याटिङमा स्मृति कटवालले सर्वाधिक १३ बलमा १४ रन बनाइन् ।
बागमतीसँग मधेश सात विकेटले पराजित
प्रतियोगिताको १४औँ खेलमा मधेशले पहिलो ब्याटिङ गरेको थियो । बागमतीकी कञ्चन श्रेष्ठले घातक बलिङ गरेकी थिइन् । उनले चार ओभरमा १२ रन खर्चेर सर्वाधिक चार विकेट लिँदा मधेशको ब्याटिङ कमजोर भएको हो । मधेशले १५.५ ओभरमा सबै विकेट गुमाएर ४० रन बनायो । सो इनिङ्सको सर्वाधिक रन नै अतिरिक्त रह्यो । बागमतीले मधेशलाई १० अतिरिक्त रन दिएको थियो । मधेशको ब्याटिङमा सखी यादव र कप्तान सरस्वती कुमारीले समान ६ स्कोर गरेका थिए । मधेशको ब्याटिङमा कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
लक्ष्य पछ्याएको इनिङ्समा बागमती यशु पाण्डेले सर्वाधिक १९ बलमा १९ रन बनाइन् । उनले तीन चौका प्रहार गरेकी थिइन् । ओपनर कञ्चन श्रेष्ठ रनआउट हुनुअघि नौ रन बनाइन् । बलिङमा रोजी कडारीले एक ओभरमा मेडन राखी दुई विकेट लिइन् । उनले इनिङ्सको ५.२ र ५.४ ओभरमा विकेट लिएकी थिइन् ।