मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
२o८१ माघ ९ बुधबार o७:२४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानले गर्‍यो पूर्वकप्तान सन्दीपलाई एक खेलमा प्रतिबन्ध 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार o७:२४:oo

जय ट्रफीका दौरान आर्मी र बागमतीबिचको खेलमा अम्पायरद्वय विनयकुमार झा र हिरालालको क्षमतामाथि प्रश्न उठाएका सन्दीप लामिछानेलाई आचारसंहिताको धारा २.७ विपरीत कार्य गरेको भन्दै क्यानको कारबाही

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार जय ट्रफी पुरुष इलिट कप क्रिकेट प्रतियोगितामा अम्पायरको क्षमतामाथि प्रश्न उठाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई एक खेलमा प्रतिबन्ध लगाएको छ । स्पष्टीकरण चित्त बुझ्दो नभएको र आचारसंहिताको धारा २.७ विपरीत कार्य गरेको भन्दै क्यानले उनलाई घरेलु क्रिकेटको एक खेलमा प्रतिबन्ध लगाएको हो । क्यानले आयोजना गर्ने कुनै पनि राष्ट्रियस्तरको प्रतियोगितामा उनले एक खेल गुमाउनेछन् । 

जय ट्रफीअन्तर्गत २५ पुसमा विभागीय क्लब त्रिभुवन आर्मी र बागमती प्रदेशबिच खेलमा अम्पायरका निर्णय र उनीहरूको क्षमतामाथि प्रश्न गर्दै सन्दीपले सोसल मिडियामा प्रतिक्रिया राखेका थिए । उनले जय ट्रफीमा बागमतीको कप्तान गरेका थिए । अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका विनयकुमार झा र हिरालाल राउतले खेल सञ्चालन गरेका थिए । प्रतिस्पर्धा दौरान बागमतीका शुभ कंसाकार आउट भएपछि फिल्ड अम्पायरद्वयले दिनकोे खेल सकिएको जनाए । 

सन्दीपले यसै विषयलाई लिएर खेलपछि अम्पायरद्वय झा र राउतसँग आपत्ति पोखे । मैदानभित्र र बाहिर खेलाडी र अम्पायरबिच टीकाटिप्पणी भएको थियो । २६ पुसमा सन्दीपले सोसल मिडियामा नेपालको अम्पायरको स्तर सुधार नभएको र अम्पायरको विषयमा कदम नचालिए गलत निर्णय हुने लेखेका थिए । अम्पायरका कारण नै नेपाली खेलाडी सधैँ पीडित बनेको उनको भनाइ थियो । उनले आफ्नो स्टाटसमा अम्पायरका नाम भने उल्लेख गरेका थिएनन् । 

प्रतियोगिताको प्राविधिक कमिटी र म्याच अम्पायरले क्यानलाई बुझाएका प्रतिवेदनमा सन्दीपबाट अनुशासनहीन कार्य भएको उल्लेख छ । जसैकारण अम्पायरले उनलाई तीन डिमेरिट अंक दिएका थिए । ‘हामीले म्याच रेफ्री र प्राविधिक कमिटीको प्रतिवेदनअनुसार क्रिकेटर सन्दीपलाई घरेलु प्रतियोगितामा एक खेलका लागि प्रतिबन्ध लगाएका छौँ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘प्रतिवेदनमा सन्दीपले क्यानको आचारसंहिताको धारा २.७ को उल्लंघन गरेको उल्लेख छ ।’ 

आचारसंहिताको धारा २.७ मा सेन्ट्रल कन्ट्र्याक्टमा रहेका खेलाडीले क्यानका पदाधिकारी, अफिसियल तथा अम्पायरहरूविरुद्ध सार्वजनिक रूपमा लेख्न वा आक्रोश पोख्नमाथि रोक छ । सम्झौता रहेका खेलाडीले नियमविपरीत काम गरे यसैअनुसार कारबाही हुने लामाले बताए । ‘क्यानले आचारसंहिता र म्याच अफिसियलको रिपोर्टका आधारमा निर्णय गरेको हो । यसमा खेलाडीप्रति कुनै पनि पूर्वाग्रह राखिएको होइन,’ उनले भने ।

४ माघमा सन्दीपले सोसल मिडियामा सुरुमा समर्थकलाई धन्यवाद दिए । सन्दीपले राष्ट्रिय टोलीबाट सन्न्यास लिने अनुमान समर्थकले लगाएका थिए । क्यानले कारबाहीको तयारी गरिरहेको संकेत पाएपछि सन्दीपले सोमबार सोसल मिडियाबाट व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको जानकारी दिँदै ह्वाट्सएपमा सम्पर्क गर्न आग्रह गरेका थिए । 

अम्पायरका क्षमताबारे यस्तो लेखेका थिए सन्दीपले
मैले भन्नुहुन्छ वा हुँदैन, त्यो थाहा छैन तर नेपालमा अम्पायरिङको स्तरमा निकै सुधार आवश्यकता महसुस गरेको छु । लामो समयदेखि फितलो अम्पायरिङ भइरहेको छ । तत्काल आवश्यक कदम सुरु भएन भने भविष्यमा गलत निर्णयका कारण असंख्य खेलाडी पीडित बन्नेछन् । रिपोर्ट बुझाए पनि कुनै परिवर्तन आइरहेको छैन । खेलाडीको विकास र खेलको स्वास्थ्य प्रवद्र्धनमा अम्पायरिङको स्तरवृद्धि महत्वपूर्ण हुन्छ । आशा छ, सरोकारावाला निकायले यसलाई ध्यान दिनेछन् र आवश्यक सुधारका निम्ति काम गर्नेछन् ।

यस्तो छ खेलाडीलाई कारबाही गर्ने आइसिसीको नियम
कुनै पनि अन्तर्राष्ट्रिय खेल दौरान खेलाडीले अभद्र व्यवहार गर्दा आइसिसीले कारबाही गर्छ । सन् २०१६ देखि आइसिसीले खेलाडीलाई अनुशासनको दायराभित्र राख्न ‘डिमेरिट’ अवधारणा लागू गरेको हो । अहिले आइसिसीले यही नियमअनुसारै खेलाडीलाई कारबाही गरिरहेको छ । आइसिसीले चार लेभलमा अंक बनाएर कारबाही गर्ने गर्छ । पहिलो लेभलमा १–२ अंक पाउँदा खेलाडीलाई सामान्य चेतावनी मात्र दिइन्छ ।

दोस्रो लेबलमा खेलाडीलाई ३–४ डिमेरिट अंक दिँदा एक टेस्ट, दुई एकदिवसीय र टी–२० खेल प्रतिबन्ध सुनाइन्छ । तेस्रो लेबलमा ५–६ डिमेरिट अंक पाउँदा पनि आइसिसीले अम्पायर र अनुशासन कमिटीले सिफारिसअनुसार खेलाडीमाथि प्रतिबन्ध लगाउने गर्छ । लेबल ४ मा ७–८ डिमेरिट अंकअनुसार खेलाडी दुई टेस्ट वा चार एकदिवसीय र टी–२० खेलमा प्रतिबन्धित हुनेछन् । 

आइसिसीसँग आबद्ध हरेक राष्ट्रिय क्रिकेट संघले यही नियमअनुसार खेलाडीमाथि कारबाही गरेको देखिन्छ । क्रिकेट संघहरूले घरेलु प्रतियोगिता आयोजना गरेको अवस्थामा यसै नियम लागू गरेका हुन्छन् । क्यानले सन्दीपमाथि लेबल दुईअनुसारै कारबाही गरेको देखिन्छ । आइसिसीले डिमेरिट नियम लागू गरेको वर्षमा भारतका रवीन्द्र जडेजा कारबाहीमा पर्ने विश्वकै पहिलो क्रिकेटर बनेका थिए । बिसिसिआईले उनलाई एक टेस्टमा प्रतिबन्ध लगाएको थियो ।