मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
२o८१ माघ ९ बुधबार o९:२o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार o९:२o:oo

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूले उम्मेदवारी दर्ता गरेका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यसमितिको निवर्तमान सचिवसमेत रहेका खम्बूले यही माघ १२ गते हुने राष्ट्रिय निर्वाचनका लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।  

देशमा भइरहेको शैक्षिक विकृति, विसंगति तथा शैक्षिक दलालहरूको अन्त्य गर्दै शिक्षा क्षेत्रमा आमूल रूपान्तरण गर्नका लागि आफूले केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको खम्बूले बताएका छन् । ‘समग्र विद्यार्थी आन्दोलनलाई नयाँ रूपमा विकास गर्दै आजको समयमा थप विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नु छ । १० वर्षे महान् जनयुद्धको जगमा भएको ०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू खतरामा पर्दै गएको छ,’ उपमहासचिव पदमा उम्मेदवारी दर्तापछि खम्बूले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्राप्त उपलब्धिहरूको रक्षा गर्दै शिक्षा र स्वास्थ्यजस्तो जनताको आधारभूत, संवेदनशील विषयलाई पूर्ण रूपमा निःशुल्क गराउन तथा विद्यार्थी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाएर नेकपा (माओवादी केन्द्र)लाई ०६४ सालको शक्तिमा फर्काउन पनि मैले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको हुँ ।’

काेशी प्रदेशबाट केन्द्रीय उपमहासचिव पदका उम्मेदवार खम्बूले यही माघ १२ गते हुने २३औँ राष्ट्रिय सम्मेलनमा निर्धक्क भएर मतदान गर्न देशभरका प्रतिनिधिहरूसमक्ष आग्रहसमेत गरेका छन् । केन्द्रीय उपमहासचिवमा खम्बूको उम्मेदवारी दर्ता भएसँगै प्रचारप्रसारलाई तीव्र गतिमा अगाडि बढाइएको जिल्ला अध्यक्ष डार्बिन चाम्लिङले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पाचिउरीडाँडानिवासी खम्बू दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा स्नातकोत्तर अध्ययनरत छन् । पहिचानको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका खम्बू ०७९ कातिक १७ गते नेकपा अखिल क्रान्तिकारीमा समाहित भएका हुन् । प्रत्येक प्रदेशबाट एक–एक जना उपमहासचिव चयन गर्ने अखिल क्रान्तिकारीको विधानअनुसार आफूले काेशी प्रदेशबाट उम्मेदवारी दर्ता गरेको खम्बूले बताएका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा खम्बूसँगै खोटाङबाट लालबहादुर मगर ‘एलबी’ले समेत केन्द्रीय सदस्यमा आफ्नो उम्मेदारी दर्ता गराएका छन् । पहिचानको आन्दोलनमा खम्बूसँगै होमिएका मगर नेपाली कांग्रेस दिक्तेल रूपाकोट मझुवागढी नगरसमिति सदस्य परित्याग गरेर नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन् ।

हरेक जिल्लाबाट एक–एकजना केन्द्रीय सदस्य छनोट गर्ने अखिल क्रान्तिकारीको विधानअनुसार खोटाङबाट मगर एकजनाको मात्र उम्मेदवारी दर्ता गराइएको जिल्ला अध्यक्ष चाम्लिङले जानकारी दिए । दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत मगरलाई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनाउने पूर्वसहमतिअनुसार सर्वसम्मत उनको मात्र एकल उम्मेदवारी दर्ता गरिएको छ ।