मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ माघ ९ बुधबार o६:o६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

छाउनी संग्रहालयमा नेपाल एकीकरणदेखिका हातहतियार प्रदर्शनीमा

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार o६:o६:oo

साना–ठुला गरी १० हजारभन्दा धेरै हातहतियार संरक्षित, नेपालको एकीकरण बुझ्न र बाह्य शक्तिसँग गरेको लडाइँको इतिहास भावी पुस्तालाई बुझाउन उपयोगी

भूकम्पपछि स्टोरमा थन्क्याइएका ऐतिहासिक हातहतियार सर्वसाधारणका लागि पुनः प्रदर्शनमा राखिएको छ । छाउनीस्थित राष्ट्रिय संग्रहालयले ऐतिहासिक भवनको पहिलो तलामा वि.सं. १६१६ देखि यता राणाकालसम्मका पुराना हातहतियार २७ पुसदेखि प्रदर्शनमा राखेको हो । संग्रहालयमा साना–ठुला गरी १० हजारभन्दा धेरै हातहतियार छन् । 

यहाँ नेपाल एकीकरणदेखि राजा–महाराजाका पालामा लडाइँ, युद्ध तथा आफ्नो सुरक्षाका लागि प्रयोग भएका हतियार छन् । संग्रहालयमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लडाइँका वेला प्रयोग गरेका हातहतियारसमेत सुरक्षित छन् ।

संग्रहालयका अनुसार प्रदर्शन गरिएकामध्ये सबैभन्दा महत्वपूर्ण र पुरानो हतियार द्रव्य शाहले वि.सं. १६१६ देखि १६२७ सम्म प्रयोग गरेका खुकुरी, तरबार र खुँडालगायतका हुन् । त्यस समयका १४ हतियार संग्रहालयमा छन् । 

त्यस्तै, पृथ्वीनारायण शाहले वि.सं. १७७९ देखि १८३१ सम्म प्रयोग गरेका दुई दर्जनभन्दा बढी हतियार राखिएको छ । संग्रहालयका अनुसार नेपालको एकीकरणताका प्रयोग भएका विभिन्न आकार–प्रकारका धनु–वाण, खुँडा, ढाल, खड्ग, तरबारलगायत हातहतियार प्रदर्शनमा छन् । सबैभन्दा महत्वपूर्ण संग्रहमध्ये पृथ्वीनारायण शाहले प्रयोग गरेका निजी हातहतियार हुन् । 

त्यस्तै, मल्लकालीन तथा शाहकालीन राजाहरू काजी, सरदार, भारदार र प्रधानमन्त्रीहरूले प्रयोग गरेका निजी हातहतियारसमेत सर्वसाधारणले हेर्न पाउने गरी राखिएको छ । यसले नेपालको इतिहास, युद्ध र एकीकरणबारे भावी पुस्तालाई जानकारी गराउने संग्रहालयका अधिकारीहरू बताउँछन् । शूरप्रताप शाहका पालाका हतियार पनि प्रदर्शनीमा छन् । संग्रहालयले मल्लकालीन समयका पनि थुप्रै हातहतियार संरक्षण गरेको छ । 

भक्तपुर राज्यका अन्तिम राजा रणजित मल्ल, पाटनका अन्तिम राजा तेजनरसिंह मल्ल र कान्तिपुर राज्यका अन्तिम राजा जयप्रकाश मल्लका निजी हातहतियारसमेत संग्रहालयले प्रदर्शनमा राखेको छ । यस समयमा तीन राज्यका अन्तिम राजाले आफ्नो निजी प्रयोगका लागि प्रयोग गर्ने गरेका घरेलु हातहतियार, चुलेसी, खुकुरी, खुँडा, चक्कु, वाण, धनुष र तरबार गरी तीन दर्जन हाराहारी हतियार संग्रहालयमा सुरक्षित छन् । 

संग्रहालयमा सन् १७७२ को प्रथम नेपाल–भोट युद्धमा विदेशीसँग जफत गरेको छालाको ऐतिहासिक दुर्लभ तोप पनि सुरक्षित छ । योसँगै त्यस समयमा जफत भएका तरबारलगायत फरक–फरक डिजाइन तथा कलात्मक हातहतियार प्रदर्शनमा राखिएको छ । त्यस्तै, मिरकासीको फौजबाट जफत गरिएका बन्दुकसहितका हतियार पनि सर्वसाधारणले संग्रहालयमा अवलोकन गर्न पाउँछन् । 

संग्रहालयमा मकवानपुरका राजा दिग्बन्धनसेनबाट जफत गरिएका हतियारसमेत सुरक्षित छन् । युुद्धको वेला प्रयोग भएका ती हतियार निकै महत्वपूर्ण र ऐतिहासिक मानिन्छन् । काजी कालु पाँडेले प्रयोग गरेका कलात्मक स्वरूपका दर्जन हाराहारी हातहतियार संग्रहित गरिएको छ । कीर्तिपुरबाट जफत गरिएका, चौतारिया फत्तेजंगले प्रयोग गरेका, वि.सं. १८०१ मा नुवाकोटबाट जफत गरिएका, चौतारिया हस्तदल शाहका, बहादुर शाहका र रणबहादुर शाहलगायतका हातहतियार प्रदर्शनमा छन् । 

चार सय वर्षअघि नै प्रयोग भएका सुन्दरी राइफल, लस्करी बन्दुक, दुईनाले तोप, ३४२ धार्नीको भैरव तोप संग्रहालयमा राखिएका कलात्मक हातहतियार हुन् । त्यस्तै, गेहेन्द्रशमशेर राणाद्वारा डिजाइन भएका वीरगन्ज नामक हतियार पनि प्रदर्शनमा छ । त्यस्तै, युरोप यात्राको क्रममा जंगबहादुरलाई लुइस नेपोलियन तृतीयले उपहार दिएको तरबार पनि संग्रहालयमा छ । ती हातहतियारले नेपालको एकीकरण बुझ्न र बाह्य शक्तिसँग गरेको लडाइँको इतिहास भावी पुस्तालाई बुझाउन सकिने अनुमान गरिएको छ । 

संग्रहालय अवलोकनका लागि दैनिक दुई सयदेखि पाँच सयसम्म अवलोकनकर्ता आउँछन् । संग्रहालय प्रवेश शुल्क नेपाली सर्वसाधारणलाई २५ रुपैयाँ, फोटो खिचेको ५० रुपैयाँ, भिडियो खिच्दा सय रुपैयाँ, विदेशी सार्क मुलुकका पर्यटकलाई प्रवेश शुल्क ५० रुपैयाँ र उनीहरूले क्यामेरा प्रयोग गरेको १५० रुपैयाँ लाग्छ । 

त्यस्तै, सार्कबाहेक अन्य देशका पर्यटकलाई प्रवेश शुल्क १५० रुपैयाँ लिने गरिएको छ भने उनीहरूले क्यामेरा प्रयोग गर्दा दुई सय रुपैयाँ लिने गरिएको छ । त्यस्तै, विद्यार्थीलाई १० रुपैयाँ मात्रै शुल्क लाग्छ भने शनिबारको दिन विद्यालयले विद्यार्थी ल्याउँदा शुल्क लाग्दैन । 

संग्रहालयका निमित्त प्रमुख नवराज अधिकारीले सयौँ वर्ष पुराना फलाम तथा विभिन्न धातुले बनेका ती हतियारमा खिया नलाग्ने गरी संरक्षण गरिएको बताए । उनका अनुसार प्रदर्शनी कक्षमा द्रव्य शाह, पृथ्वीनारायण शाह र उनका सेनाले प्रयोग गरेका हातहतियार राखिएको छ । ‘यहाँ राखिएकामध्ये नेपाल एकीकरणताका मिकासिको  फौजलाई हराउँदा र अन्य विदेशीलाई हराउँदा उनीहबाट जफत गरिएका हातहतियार महत्वपूर्ण छन्,’ उनले भने, ‘विषयगत रूपमा छुट्याएर हातहतियार समयक्रमका आधारमा प्रदर्शनीमा राखिएको छ । सबै हातहतियारको अभिलेख छ । केही हतियार स्टोरमा छन्, ठाउँ अभावका कारण प्रदर्शनीमा राख्न सकेका छैनौँ ।’ उनका अनुसार हतियार सुरक्षित र जोगाएर राख्न चुनौती छ । ‘खिया लाग्न नदिन सरसफाइ र तापक्रम मिलाइएको हुन्छ । खिया लागेको छ भने विभिन्न रसायनको प्रयोग गरेर सफा गरिन्छ,’ उनले भने । 

पृथ्वीनारायण शाहले लगाउने फलामे लुगा पनि प्रदर्शनमा 
संग्रहालयले प्रदर्शनमा राखेको तेस्रो लहरमा एउटा पुरानो र थोत्रो लुगाजस्तो वस्तु देखिन्छ । हेर्दा टी–सर्टझैँ लाग्ने त्यो वस्तु पृृथ्वीनारायण शाहले लडाइँका वेला लगाउने फलामैफलामले बनाएको फलामे वस्तु हो । यसलाई फलामे कवच भनेर लेखिएको छ । संग्रहालयका अनुसार यो कवच पृथ्वीनारायण शाहले गोलीको छर्रा रोक्ने गरी बनाएका थिए । फलामको भएकाले हतियार प्रहार गर्दा पनि चोटपटकबाट जोगिन सक्ने खालको छ । 

ऐतिहासिक भवन, हातहतियार सुरक्षित राख्न दैनिक लाहाछाप
छाउनी संग्रहालय नेपालकै सबैभन्दा ठुलो संग्रहालय हो । हाल संग्रहालयमा राखिएका हातहतियार तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले हतियार भण्डारणका लागि विशेष रूपमा निर्माण गराएको भवन, सिलखानामा राखिएका छन् । ऐतिहासिक महत्व बोकेको यो भवनमा संग्रहालयले हातहतियार सुरक्षित रूपमा संग्रहित गरेको छ । संग्रहालयका कोठा बन्द गर्दा हरेक दिन संग्रहालय र नेपाली सेनाको रोहवरमा ढोकामा लाहाछाप लगाइन्छ र थरीथरीका ताला–चाबीहरूको प्रयोग गरिन्छ । ऐतिहासिक वस्तुहरूको सुरक्षा सुनिश्चित गर्न यो विधि अपनाइएको हो । बिहान संग्रहालयका कर्मचारीले नेपाली सेनाको उपस्थितिमा ढोका खोल्छन् । संग्रहालयको चारैतिर नेपाली सेनाले सुरक्षा दिन्छ । साँझ पुनः ढोका बन्द गर्दा पनि सेनाले सुरक्षा जाँच गर्छ । राणाकालीन हातहतियार भने संग्रहालयले संग्रहित गरेको छैन ।