सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि सुरु हुँदै छ । २५औँ संस्करणको प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा हुने आयोजकले जनाएको छ ।
५४ होलको तीन दिनसम्म चल्ने गल्फमा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गर्नेछन् । माछापुच्छ्रे हिमालको मनमोहक दृश्य र विजयपुर नदीको किनारमा अवस्थित प्राकृतिक रूपमा आकर्षक हिमालयन गल्फ कोर्सलाई नेपालकै कठिन कोर्स मानिन्छ ।
प्रतिस्पर्धी गल्फरसँगै गल्फ कोर्सको चुनौती पनि खेलाडीलाई रहनेछ । यो कोर्सलाई गल्फ डाइजेस्टले संसारकै रोमाञ्चक गल्फ कोर्सहरूमध्ये एक भनेर मूल्यांकनसमेत गरेको छ । यसपटक पुरस्कार राशि वृद्धि गरिएको छ ।
गत वर्षको तुलनामा यो पटक आठ लाख ८२ हजार पुरस्कार धनराशि बनाइएको छ । विजेताले एक लाख ५० हजार र दोस्रोले एक लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुने गल्फरले ७२ हजार प्राप्त गर्नेछन् ।
साबिक विजेता भुवन नगरकोटीसँगै, नीरज तामाङ, धन थापा, सञ्जय लामा र जयराम श्रेष्ठलाई मुख्य उपाधि दाबेदारका रूपमा हेरिएको छ । गत वर्ष भुवनले कोर्स रेकर्ड स्कोरमा उपाधि जितेका थिए । उनले यस सिजन कुनै पनि उपाधि जित्न सकेका छैनन् ।