एक सन्त आफ्ना शिष्यलाई ज्ञान र भक्तिको प्रवचन दिइरहेका थिए । अचानक एक शिष्यले प्रश्न गरे– गुरुदेव, ईश्वर सर्वत्र छन् भनेर हामीलाई सिकाइएको छ । तर, सर्वत्र छन् भने हामीले ईश्वरलाई किन देख्न सक्दैनौँ ? यस्तोमा ईश्वर सर्वत्र छन् भनेर हामीले कसरी मान्ने ? अनि, हामी उनलाई कसरी प्राप्त गर्न सक्छौँ ?
शिष्यको प्रश्न सुनेपछि सन्त मुस्कुराए र अर्का एक शिष्यलाई एक लोटा पानी र थोरै नुन ल्याउन आदेश दिए । शिष्यले तुरुन्तै आदेशको पालना गरे । सन्तले पुनः तिनै शिष्यलाई नुनलाई लोटामा हालेर घोल्न आदेश दिए । शिष्यले तत्काल आदेशको पालना गरे । सन्तले सबैलाई पानी देखाउँदै प्रश्न गरे– तपाईंहरूले यसमा नुन देख्नुभयो त ? सबैले ‘अहँ देखेनौँ’ भन्ने भावमा टाउको हल्लाए । सन्तले भने– ठिक छ, अब यो पानी चाखेर यसमा नुन छ कि छैन भनेर जाँच्नुहोस् त । एक शिष्यले पानी चाखेर त्यसमा नुन भएको बताए ।
सन्तले तिनै शिष्यलाई आदेश दिँदै भने– अब यसलाई केही समयसम्म उमाल । शिष्यले केही समय पानी उमालेपछि सबै पानी बाफ बनेर उड्यो । सन्तले लोटा देखाउँदै प्रश्न गरे– के अब यसमा नुन देखिन्छ ? सबैले ‘हो, देखिन्छ’ भन्ने भावमा टाउको हल्लाए ।
सन्तले मुस्कुराउँदै भने– जसरी तिमीहरूले पानीमा नुन नदेखे पनि त्यसको स्वादको अनुभव गर्यौ, ठिक त्यसैगरी ईश्वर सर्वत्र भए पनि तिमीहरूले देख्न सक्दैनौ, केवल अनुभव गर्न सक्छौ । तर, जसरी अग्निको रापका कारण पानी बाफ बनेर उड्यो, अनि नुन देखियो, ठिक त्यसैगरी तिमीहरूले पनि भक्ति, ध्यान र सत्कर्मद्वारा आफ्ना विकारलाई अन्त्य गरेपछि ईश्वरलाई प्राप्त गर्न सक्छौ ।