मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ पौष २० शनिबार o६:२४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सहकारी ठगीमा जोडिएका एमाले नेता पोखरेल घुस प्रकरणमा पनि मुछिए

Read Time : > 3 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार o६:२४:oo

एमबिबिएसमा नाम निकालिदिने भन्दै ३८ लाख घुस लिने एमाले मोरङका जिल्ला सदस्य अनिल पोखरेलविरुद्ध तीन वर्षअघि पार्टीमा परेको उजुरीलाई गुपचुप राखे, उल्टै पुरस्कृत गर्दै पिए बनाए, अदालतले परामादेश जारी गरेपछि बल्ल पिएबाट हटाए

सहकारी ठगीमा मुछिएका एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको नाम एमबिबिएसमा भर्ना गराइदिने भन्दै ठगी गरेको मुद्दामा पनि जोडिएको छ । उनका पिए अनिलकुमार पोखरेलले सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का ५७ वर्षीय बौआलाल चौधरीसँग ३८ लाख ८० हजार घुस लिएका थिए । यसको जानकारी सांसद पोखरेललाई ०७८ मै थियो । तर, उनले गलत कामका लागि निरुत्साहित गर्नुको साटो अनिललाई उल्टै पुरस्कृत गरे, ०७९ मा सांसदमा निर्वाचित भएपछि पिए नै बनाए । 

सांसद पोखरेलले आफ्नै पहलमा खोलेको मोरङको उमागौरी कृषि सहकारीले योजनाबद्ध रूपमा गरेको बचतकर्ताको २० करोड ४९ लाख हिनामिनामा उनकी पत्नी अञ्जला कोइराला प्रत्यक्ष संलग्न छिन् । लामो समय राजनीतिक शक्तिका बलमा जोगिए पनि चौतर्फी विरोध भएपछि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको छ । तैपनि अहिले ‘फरार’ छिन् । अञ्जला कार्यरत विद्यालयमा उनको बिदा स्वीकृतिका लागि पोखरेलले दबाब दिँदै आएका छन् । यहीबिच उनका पिए पनि ठगीमा संलग्न रहेको सार्वजनिक भएको छ । ठगीबारे थाहा हुँदाहुँदै राजनीतिक संरक्षण गरेकाले पोखरेलको समेत यसमा ‘कनेक्सन’ हुन सक्ने अनुमान गरिएको छ । 

सप्तरी घर भई विराटनगर बस्दै आएका ५७ वर्षीय बौआलाल चौधरीले आफ्नी छोरी दीक्षालाई एमबिबिएस पढाउन खोजेका थिए । अनिलले पार्टीको कोटामा नाम निकालिदिने भन्दै चौधरीसँग ३८ लाख ८० हजार घुस लिएका थिए । अनिलले काम त गरेनन् नै, पैसासमेत फिर्ता दिएनन् । उल्टै ५० लाख ऋण लिएको कपाली लिखतम बनाएर चौधरीलाई धम्क्याउँदै आएका थिए । यसका लागि स्थानीय प्रहरीलाई समेत राजनीतिक रूपमा दबाब दिँदै आएका थिए । 

अनिलले पैसा फिर्ता नगरेपछि चौधरीले आफू ठगिएको भन्दै एमाले मोरङदेखि प्रहरीसम्ममा उजुरी दिएका थिए । उनले उजुरी दिँदा ०७८ मा पोखरेल मोरङ एमालेको अध्यक्ष थिए । चौधरीले सुरुमा इलाका प्रहरी कार्यालय रंगेली र पछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । जिल्ला प्रहरीले त उजुरीको रेकर्ड नै गायब बनाएको छ । त्यसपछि चौधरीले अदालतको ढोका ढकढक्याए । हुलाकबाट पठाएको जाहेरी पनि दर्ता नभएपछि चौधरीले अनिलविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिन मागसहित ३१ साउन ०७९ मा उच्च अदालतमा रिट दर्ता गराएका थिए । 

उजुरी अघि बढाउन उच्च अदालत विराटनगरले प्रहरीका नाममा परमादेश जारी गरेको छ । ३१ भदौ ०८१ मा परमादेश जारी भए पनि ११ पुसमा प्रमाणीकरण भएको छ । ‘एमबिबिएस प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार लिएको र अनुसन्धानको मागसहित दायर रिटमा जाहेरी दर्ता गरी अनिलमाथि कानुनअनुसार अनुसन्धान अगाडि बढाउनू’ परमादेशमा भनिएको छ । 

चौधरीले हुलाकमार्फत पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालय मोरङले १९ साउन ०७९ मा बुझे पनि दर्ता नगरेको उल्लेख गर्दै न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले भनेको छ, ‘कानुनमा विभिन्न विकल्पसहित कार्यसम्पादन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकामा ती व्यवस्थाको प्रतिकूल वा अनादर हुने गरी इन्कार गर्ने छुट विपक्षी प्रहरी कार्यालयलाई हुन सक्दैन । कानुनी कर्तव्य वहन नगरेको वा गर्न इन्कार गरेको वा विलम्ब गरेको अवस्थामा सम्बद्ध सार्वजनिक पदाधिकारी वा कार्यालयका विरुद्धमा सो कार्य सम्पादन गर्न–गराउन वा कानुनी कर्तव्य वहन गराउन परमादेशको उपचार आवश्यक हुन्छ ।’ 

अनिलले चौधरीबाट रकम लिएको उनको बैंक स्टेटमेन्टबाट पनि पुष्टि पनि हुन्छ । अदालतको आदेशमा उल्लेख भएअनुसार नबिल बैंकमा रहेको अनिलको खाता नं. ३५१००१७५०३९८१ मा चौधरीले जम्मा गरेको देखिन्छ । 

आफ्ना पिएले गरेको ठगीका विषयमा तीन वर्षअघि नै थाहा पाए पनि पोखरेलले अदालतको परमादेशपछि बल्ल शुक्रबार अनिललाई स्वकीय सचिवबाट हटाएका छन् । उनले अनिललाई जिम्मेवारीबाट हटाएको जानकारी संघीय संसद् सचिवालयलाई दिएका छन् । 

लेखा समिति सभापति पोखरेलले भने अनिलले गरेको ठगीबारे विगतमा आफूलाई थाहा नै नभएको दाबी गरे । ‘म मोरङ एमालेको अध्यक्ष हुँदा उजुरी आएको विषयमा मलाई जानकारी भएन । यस्तो कुरा सुनेको पनि थिएन, आजै सुनेँ,’ उनको दाबी छ, ‘मिडियामा समाचार आएपछि अनिलकुमार पोखरेललाई स्वकीय सचिवबाट हटाएको हुँ । लेनदेनको विषय पनि मिडियाबाट थाहा पाएँ । त्यसैले आजै हटाएँ । भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोकोहीमाथि निष्पक्ष छानबिन र दोषीउपर कारबाही हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमोरियाले बौआलाल चौधरीले हुलाकबाट पठाएको जाहेरी अझै पनि प्रहरीको रेकर्डमा फेला नपरेको बताए । अदालतको आदेश अझै प्राप्त भइनसकेको उनको भनाइ छ । पीडित पनि सम्पर्कमा आउनुभएको छैन । ‘बौआलालले अदालतको आदेशसहित किटानी जाहेरी लिएर आएमा कानुनी सल्लाह गरेर कारबाही प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ उनले भने । 

ऋषिकेश एमाले मोरङ अध्यक्ष रहेकै वेला ०७८ पुसमै परेको थियो अनिलविरुद्ध पार्टीमा उजुरी, तर पुरस्कृत गर्दै बनाए स्वकीय सचिव

ऋषिकेश सांसदमा निर्वाचित हुनुअघि एमाले मोरङ अध्यक्ष थिए । एमालेकै जिल्ला सदस्य रहेका रंगेली नगरपालिका– २ मंगलबारेका अनिलकुमार पोखरेलविरुद्ध ०७८ मा पार्टीमा उजुरी परेको थियो । चौधरीले एमबिबिएसको प्रवेश परीक्षामा आफ्नो छोरीको नाम ननिस्किएकाले अनिलबाट रकम फिर्ता गराइदिन मागसहित २७ पुस ०७८ मा एमाले पार्टी मोरङलाई पत्र लेखेर उजुरी दिएको देखिन्छ । एमाले मोरङका नेताहरूका अनुसार यसबारे जिल्ला कमिटी बैठकमा छलफलसमेत गरिएन । बौआलालले जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य र एमाले रंगेली नगर कमिटीलाई पनि बोधार्थ दिएका थिए, तर पोखरेलबारे कतैबाट पनि सोधपुछ भएन । पोखरेलले ०७९ को संसदीय निर्वाचनमा टिकट पाएपछि एमाले मोरङ जिल्ला अधिवेशनका लागि बाबुराम कार्कीको नेतृत्वमा अधिवेशन आयोजक समिति बनेको थियो । अनिलले प्रदेशमा चुनाव लड्न खोजे पनि टिकट पाएका थिएनन् । पछि पोखरेलले उनलाई स्वकीय सचिव बनाएका थिए । 

हुलाकमार्फत पठाइएको उजुरी प्रहरीमा पुग्यो, तर गायब पारियो
अदालतको आदेश खण्डमा उल्लेख भएअनुसार हुलाकमार्फत आएकोे पत्र १९ साउन ०७९ मा प्रहरीले हुलाक निर्देशनालय विराटनगरबाट प्राप्त पोस्टम्यान बुकबाट बुझेको प्रस्ट देखिन्छ । तर, प्रहरीले बौआलाल चौधरीको नामबाट कुनै जाहेरी प्राप्त नभएकाले दर्ता नभएको भन्दै उच्च अदालत विराटनगरलाई दुईपटक जवाफ पठाएको थियो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमोरियाले पनि बौआलालले हुलाकबाट पठाएको जाहेरी अझै पनि प्रहरीको रेकर्डमा फेला नपरेको बताए । प्रहरीले अदालतलाई पनि सोही जवाफ दिएको थियो । ‘बौआलालले हुलाकबाट पठाएको जाहेरी अझै पनि प्रहरीको रेकर्डमा फेला परेको छैन । तर, अदालतको आदेश प्राप्त भइसकेको छैन । पीडित पनि सम्पर्कमा आउनुभएको छैन । बौआलालले अदालतको आदेशसहित किटानी जाहेरी लिएर आएमा कानुनी सल्लाह गरेर कारबाही प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ एसपी चिमोरियाले भने ।