मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

सहकारी ठगीमा प्रत्यक्ष जोडिए पनि जसलाई मिलेको छ सत्ताको आशीर्वाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १o:१८:oo

सहकारी ठगी प्रकरणमा सरकारले व्यक्ति हेरी–हेरी प्रतिशोध साँध्ने र जोगाउने काम गरिरहेको छ । फरक विचार राख्ने व्यक्ति वा समूहका सदस्यलाई थपी–थपी अनावश्यक मुद्दासमेत लगाउने, तर सत्तारूढ दलनिकट व्यक्ति प्रत्यक्ष जोडिएका भए पनि प्रहरी अनुसन्धान नै प्रभावित गरेर जोगाउने गरिएको छ । 

यसको पछिल्लो उदाहरण स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण हो । यसको अभियोजनमा पनि सत्तारूढका सांसदलाई नै जोगाइएको छ । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनछेक बहस सकिनै लाग्दा सरकारले रास्वपा सभापति रवि लामिछानेलगायत ३९ विरुद्ध काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको मुद्दा पनि दायर गरेको छ । तर, सहकारीमा सहसचिव रहेकी कांग्रेस केन्द्रीय सदस्य तथा सांसद माया राईलाई सामान्य सोधपुछसमेत नगरी उन्मुक्ति दिइएको छ ।

सहकारी ठगी मुद्दामा प्रत्यक्ष जोडिए पनि सत्तानिकटलाई उन्मुक्ति दिएको घटना यो नै पहिलो भने होइन । कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता राजीव पहारी, एमाले नेता ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइराला थप ताजा उदाहरण हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रहरीले एमाले केन्द्रीय सदस्य राजीव पहारीलाई जोगाएर मुद्दा दायर गरेको छ । उनले १२ चैत ०७४ मा १५ लाख पेस्की लिएको सहकारीको रेकर्डमा उल्लेख छ । तर, सहकारीबाट आफूले पैसा नलिएको भनेर बताएकै आधारमा प्रहरीले प्रहरीलाई साक्षी मात्रै बनाएको छ । स्रोतका अनुसार अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले उनलाई प्रतिवादी बनाउनुपर्ने राय राखे पनि उच्च तहको दबाबपछि उनलाई पछि साक्षी मात्रै बनाइएको हो ।

त्यस्तै, ललितपुरको मितेरी सहकारीबाट पूर्वश्रीमती ज्योति गुरुङले लिएको रकमको ८४ लाख एकैपटक तिरेका कांग्रेस उपसभापति धनराजको हकमा पनि प्रमाण नपुगेको भन्दै सामान्य सोधपुछ मात्रै गरेको छ । जब कि उनले जोगिनका लागि ज्योतिसँग कागजी सम्बन्धविच्छेद गरेको पनि सार्वजनिक भइसकेको छ । संसदीय छानबिन समितिले पनि धनराज र ज्योतिको सम्बन्धविच्छेदसमेत शंकास्पद रहेको भन्दै उनीमाथि विस्तृत छानबिन गर्नुपर्ने बताएको थियो । सहकारीबाट ठगेको रकम ज्योतिमार्फत क्रिप्टोमा लगानी गरेको प्रमाणसमेत फेला परिसकेको छ । तर, सिआइबीले दबाबमा परेर विस्तृत अनुसन्धान नै अघि बढाउन सकेको छैन ।

मोरङको उमागौरी सहकारी ठगीमा प्रत्यक्ष जोडिएकी एमाले नेता ऋषिकेश पोखरेलपत्नी अञ्जलालाई पनि सत्ताको आशीर्वाद मिलेको छ । सहकारी सञ्चालकको हैसियतमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत आकर्षित हुने मुद्दामा प्रहरीले अञ्जलालाई अनुसन्धान नै नगरी मुद्दा चलाएको छ । घरमै रहेकी उनलाई फरार रहेको भनेर प्रहरीले पक्राउ नै गरेन । अदालतमा मात्रै उपस्थित भए हुने सुविधा दिएर मुद्दा दायर ग¥यो ।