मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २२ सोमबार १o:४९:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कृषि थोकबजारमा मन्त्रालय राखेकोमा हेटौँडा उपमहानगरद्वारा विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १o:४९:oo

बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालय निर्माणाधीन प्रादेशिक कृषि थोकबजारमा राखेको भन्दै हेटौँडा उपमहानगरपालिकाले विरोध गरेको छ।

हेटौँडा उपमहानगरपालिकाको वार्षिक समीक्षा तथा आगामी कार्यादेश सम्बन्धमा जनप्रतिनिधिहरूसँग गरेको छलफलमा उपमहानगरपालिकासमेतको लागत साझेदारीमा निर्माण भइरहेको उक्त भवनमा मन्त्रालय राखिएको भन्दै विरोध गरिएको हो।

चितवनको सौराहामा भएको छलफलले प्रदेश सरकारसँग लागत साझेदारीमा हेटौँडा– ११ थानाभर्‍याङस्थित निर्माणाधीन फलफूल तथा तरकारी थोकबजारमा मन्त्रालय स्थापना गरिएकोप्रति ध्यानाकर्षण भएको उपमहानगरका अधिकृत भीम तिमल्सिनाले जानकारी दिए।

कृषि उपजको बजारीकरणका लागि निर्माण गरिएको संरचनामा मन्त्रालय स्थापना गर्नु उपयुक्त नभएको छलफलको निष्कर्ष रहेको उनको भनाइ छ। निर्माण कार्य पूरा गरेर उपमहानगरपालिकामार्फत थोकबजार सञ्चालन गर्नुपर्ने छलफलको निचोड रहेको उनले जानकारी दिए।

प्रदेशमा हालै गठन भएको सहकारी तथा गरिबी निवारण मन्त्रालय भवन अभावका कारण हेटौँडा– ११ स्थित निर्माणाधीन कृषि थोकबजारमा सारिएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको निर्माणाधीन कृषि थोकबजार हस्तान्तरण हुन बाँकी छ। करिब ९० प्रतिशत भौतिक प्रगति रहेको उक्त भवनमा मेसिनरी औजार जडान तथा विद्युतीकरणलगायतको काम बाँकी नै रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

आफूहरूलाई नसोधी राजनीतिक नेतृत्वले मौखिक सहमतिका आधारमा सहकारी मन्त्रालयका लागि भवन प्रयोग गर्ने प्रक्रिया अघि बढाएको भन्दै प्रदेशको कृषि मन्त्रालयले समेत असहमति जनाउँदै आएको छ। हस्तान्तरणविना उद्देश्यविपरीत कार्यमा भवन प्रयोग गर्ने विषयमा मन्त्रालयको असहमति रहँदै आए पनि राजनीतिक नेतृत्वको दबाबका कारण मौन बस्नुपरेको कृषि मन्त्रालयका एक कर्मचारीले बताए।

प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनाअन्तर्गत कृषकहरूको उपज बिक्री–वितरण गर्ने गरी उक्त भवन निर्माण गरिएको थियो। प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोकबजार निर्माण गरिएको हो। प्रदेश सरकारको ७० र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गरिएको उक्त थोकबजारमा चारवटा सुविधासम्पन्न भवन छन्। दुईवटा प्रशासनिक र दुईवटा व्यापारिक भवन तथा एउटा कोल्डस्टोर रहेको उक्त कृषि थोकबजारको काम चार प्रतिशत सम्पन्न हुन बाँकी छ।