मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
दाउद कुत्ताब
२o८१ पौष २२ सोमबार o९:१७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्यालेस्टिनी पत्रकारमाथिको अत्याचारमा मौनता प्रत्युत्पादक

Read Time : > 2 मिनेट
दाउद कुत्ताब
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार o९:१७:oo

पत्रकारको सामूहिक हत्यालाई सामान्य बनाउने इजरायली प्रयास प्यालेस्टिनी सञ्चार श्रमिकका लागि मात्र नभई सबै पत्रकारका लागि खतरा हो

इजरायली सेनाले २६ डिसेम्बर २०२४ मा एक विज्ञप्ति जारी गर्दै युद्ध अपराधको बचाउ गर्ने प्रयास गरेको थियो । सेनाले केन्द्रीय गाजाको नुसैरात शरणार्थी शिविरस्थित अल–अब्दा अस्पतालनजिक स्पष्ट रूपमा प्रेस चिह्नित गाडीभित्र रहेका पाँच प्यालेस्टिनी पत्रकारको हत्या गरेको स्विकारेको थियो । ती पत्रकार इब्राहिम सेख अली, फैसल अबु अल–कुमसान, मोहम्मद अल–लादा, फादी हसौना र अयमान अल–गिदी थिए । यसमा थप दुःखको कुरा के हो भने अयमान आफ्नी श्रीमतीलाई अस्पताल पु¥याउन आएका थिए, जहाँ उनी पहिलोपटक सुत्केरी हुँदै थिइन् । त्यहीँ उनले आफ्ना सहकर्मीलाई भेट्न गाडीमा गएका वेला हमला भयो । र, केही घण्टापछि उनको छोराको जन्म भयो, तर विडम्बना छोराले पितालाई देख्न पाएनन् ।

इजरायली सेनाले ती पाँच प्यालेस्टिनीलाई ‘पत्रकारका भेषमा रहेका आतंककारी’ भन्ने दाबी गर्दै प्यालेस्टिनी इस्लामिक जिहादसँग सम्बन्धित अल–कुद्स अल–यौम टिभीमा काम गर्ने भएकाले ‘युद्ध प्रोपोगान्डा’ फैलाएको आरोप लगाएको थियो । तर, सेनाले तिनले हतियार बोकेको वा कुनै पनि अन्य किसिमका सशस्त्र गतिविधिमा संलग्न रहेको दाबी भने गरेको थिएन । धेरै पश्चिमा सञ्चारगृहले इजरायली सेनाको विज्ञप्तिलाई वस्तुपरक तथ्य मान्दै कुनै प्रश्न नउठाई उद्धृत गरेका थिए । पश्चिमा सञ्चारगृहले यी पत्रकारले ‘प्रोपोगान्डा’ फैलाएकै भए पनि आक्रमण गरिनु युद्ध अपराध हो भन्ने बुझेनन् । अन्तर्राष्ट्रिय कानुनअनुसार सेनाले रुचाउने वा नरुचाउने जस्तोसुकै रिपोर्टिङ गरे पनि पत्रकारले संरक्षण पाउँछन् । जेनेभा महासन्धिको एडिसनल प्रोटोकलको अनुच्छेद ७९ अनुसार युद्ध क्षेत्रमा खतरनाक पेसागत मिसनमा संलग्न सबै पत्रकारलाई नागरिकका रूपमा लिइनेछ । र, यी पत्रकारले सेनाबाट प्रमाणित हुनुनपर्ने गरी संरक्षण पाउनुपर्छ । अन्तर्राष्ट्रिय कानुनी प्रावधानलाई पूर्ण रूपमा बेवास्ता गर्दै इजरायली सेनाले गत १५ महिनादेखि प्यालेस्टिनी पत्रकारको हत्या गरिरहेको छ । गाजा सरकार मिडिया कार्यालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा दुई सय एक पत्रकारको हत्या गरिएको छ । अन्य स्रोतले यो संख्या दुई सय १७ को वरिपरि रहेको जनाएका छन् ।

न्युयोर्क आधारित कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सिपिजे)का अनुसार ७ अक्टोबर २०२३ देखि ३१ डिसेम्बर २०२४ सम्म गाजा र कब्जा गरिएका वेस्ट बैंकमा एक सय ३८ जना प्यालेस्टिनी पत्रकारको हत्या गरिएको छ, जसमा २६ डिसेम्बरको इजरायली सेनाको आक्रमणमा मारिएका पाँच पत्रकार पनि समावेश छन् । पेरिसमा आधारित रिपोर्टर्स विदाउट बोर्डर्सले इजरायली पत्रकारको हत्यालाई ‘अभूतपूर्व रक्तपात’ र प्यालेस्टाइनलाई ‘पत्रकारका लागि सबैभन्दा खतरनाक देश’को संज्ञा दिएको छ । सिपिजेले इजरायललाई ‘पत्रकार थुन्ने देश’का रूपमा सूचीबद्ध गरेको छ र इजरायली सरकारले प्यालेस्टिनी सञ्चार श्रमिकलाई संरक्षण दिन अस्वीकृत मात्र गरेको छैन विदेशी पत्रकारलाई समेत गाजामा प्रवेश गर्नबाट रोकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गाजामा विदेशी पत्रकारको प्रवेशमा लगाइएको प्रतिबन्धको विरोध गर्न खासै कदम चालेको देखिँदैन । गर्मीयाममा ६० मिडिया संस्थाले मात्र एक याचिकासँगै समर्थन जनाएपछि कुनै ऐक्यबद्धता अहिलेसम्म देखिँदैन । सामान्यतया, जब कुनै प्रमुख सञ्चारगृहलाई स्थानविशेषमा पहुँच दिइँदैन तब यस्ता प्रतिबन्धलाई समाचार रिपोर्टमा विरोधका रूपमा उल्लेख गरिन्छ । तर, गाजाको मामलामा इजरायललाई विशेषतः मूलधारका पश्चिमा सञ्चारगृहले कमै विरोध गरेका छन्, अर्थात् यी सञ्चारगृहले इजरायली प्रेस विज्ञप्तिलाई प्रायः आँखा चिम्लेर तथ्यका रूपमा स्वीकार गर्छन् ।

यो भागीदारीले इजरायललाई भाष्यको नियन्त्रण गर्न र यसका कार्यलाई ‘सबैभन्दा नैतिक सेनाले’ अन्तर्राष्ट्रिय कानुनभित्र रही प्रतिरक्षा युद्धका रूपमा प्रस्तुत गर्न अनुमति दिएको छ । राष्ट्र संघका विशेषज्ञ, बिसेलेमजस्ता इजरायली गैरसरकारी संस्था, र प्रमुख अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले इजरायलका क्रियाकलापको आलोचना गरे पनि परम्परागत मिडियाले अझै इजरायललाई शंकाको लाभ दिने गर्छन् । पश्चिमा सञ्चारगृहले इजरायली दाबीमाथि अनुसन्धान गरेका केही दुर्लभ घटना देख्न भने सकिन्छ । उदाहरणका लागि हालै दी न्युयोर्क टाइम्सले गम्भीर अपराधको उजागर गरेको थियो । तथापि, यस्ता अनुसन्धान प्रायः अरब र केही वामपन्थी इजरायली सञ्चारमाध्यमले महिनौअघि गरिसकेका हुन्छन् । यसो हुनुको पछाडि आफूलाई ‘मध्यपूर्वको एक मात्र लोकतन्त्र’ भनेर दाबी गर्ने इजरायलले दण्डहीनतासाथ पत्रकारको हत्या गर्ने गर्छ । र, इजरायलले वर्षौँदेखि सञ्चार श्रमिकविरुद्धको हिंसामा कहिल्यै जवाफदेही हुनुपरेको छैन । प्यालेस्टिनी–अमेरिकी पत्रकार सिरिन अबु अक्लेको सन् २०२२ मा जिनिनमा भएको हत्या यसको उदाहरण हो । यस मामिलामा भने पश्चिमा सञ्चारगृहले हत्याबारे समाचार र अनुसन्धान गरेका थिए । इजरायलले घटनालाई एक ‘विकृत अपवाद’ भन्दै टाल्यो र दोषी सैनिकलाई जवाफदेही बनाउने पनि भन्यो, तर त्यस्तो केही पनि भएन ।

हाम्रा विदेशी सहकर्मीले इजरायलले पत्रकारको सामूहिक हत्यालाई सामान्य बनाउने प्रयासले केवल प्यालेस्टिनी सञ्चार श्रमिकका लागि मात्र नभई सबै पत्रकारका खतरा हो भन्ने बुझ्नुपर्छ । यदि युद्ध क्षेत्रमा यस्ता घृणित व्यवहार सामान्य बनाइन्छन् भने कुनै पनि पत्रकार जहाँसुकैको राहदानी बोके पनि सुरक्षित हुनेछैन । अन्तर्राष्ट्रिय सञ्चार समुदायले इजरायलको आलोचनामा बहानाबाजी बन्द गर्नुपर्छ र यसका क्रियाकलापलाई जस्ताको त्यस्तै भन्नुपर्छ अर्थात् युद्ध अपराध भन्न हिच्किचाउनु हुँदैन । विश्वभरिका पत्रकारले आफ्ना प्यालेस्टिनी सहकर्मीसँग ऐक्यबद्धता जनाउने र जवाफदेहिता माग गर्ने समय आएको छ । यी पत्रकारले आफ्ना सरकारबाट इजरायलमाथि प्रत्यक्ष प्रतिबन्ध लगाउन माग गर्न ढिला भइसकेको छ ।

(कुत्ताब वरिष्ठ प्यालेस्टिनी पत्रकार हुन्) 
अल जजिराबाट