मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार १५:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आफूलाई लिन नआएको भन्दै उपाध्यक्षले गरिन् पालिकाको स्कर्पियो तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १५:२७:oo

घरबाट आफूलाई लिन जिप समयमा नपठाएको भन्दै सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले पालिकाको जिप तोडफोड गरेकी छिन् । गाउँपालिका उपाध्यक्ष सिंहले आइतबार बिहान करिब १० बजेतिर गाउँ कार्यपालिकाअगाडि राखिएको बा.२ झ ३६४३ नम्बरको स्कर्पियो  तोडफोड गरेकी हुन् ।

स्कर्पियोचालक बाबुनाथ यादवका अनुसार उपाध्यक्ष यादवलाई लिन गाडीमा बसिसकेका वेला एक्कासि ढुंगा–इँटा हानेर अगाडि र बायाँपट्टिको सिसा काम नलाग्ने गरी फुटेको छ । ‘उपाध्यक्षले हानेको ढुंगा–इँटाले सिसा फुटाएर भित्र पस्दा मुस्किलले आँखा जोगाएँ,’ उनले भने, ‘त्यसपछि पनि ढुंगा–इँटा हान्न नछोडेपछि गाडीबाट ओर्लिएर भागेपछि ज्यान जोगाएँ ।’

उपाध्यक्ष सिंहले भने गाउँपालिका अध्यक्षसँग बिहान १० बज्नुअघि नै विभिन्न वडाको अनगुमन गर्न स्कर्पियो मागेको बताइन् । ‘चिसो बढेपछि गाउँपालिकाले वडा कार्यालयमार्फत सम्बन्धित वडा क्षेत्रमा दाउरा वितरण गरिएपछि अनुगमनमा जानुपर्ने थियो,’ उनले भनिन्, ‘आफूले भनेको समयमा पालिकाको गाडी नपठाएपछि बाध्य भएर मोटरसाइकलमा पालिकासम्म आएँ ।’  ‘ढिलो भयो भन्दैमा  सरकारी स्वामित्वको गाडीलाई उपाध्यक्षजस्तो व्यक्तिले तोडफोड गर्न मिल्छ त’ भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले कुनै जवाफ दिइनन् । 

चेक च्यात्नेदेखि झ्याल–ढोका तोडफोडसम्म 

गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले कार्यालयको स्कर्पियो तोडफोड भएलगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र स्थानीय प्रहरीलाई समेत मौखिक जानकारी गराएको बताए । ‘स्कर्पियोको अगाडि र बायाँतर्फको सिसा फुटेको छ,’ उनले भने ।

उनका अनुसार उपाध्यक्षले यसअघि पनि पालिकाको लेखा शाखामा योजनाको भुक्तानीका लागि तयार भएको चेक खोसेर च्यात्नुका साथै झ्याल–ढोकासमेत तोडफोड गरेकी थिइन् । ‘त्यति वेला कानुनी कारबाहीको प्रक्रियामा गएनौँ,’ उनले भने ‘यसपटक त गाडी तोडफोडसहित चालकलाई समेत चोटपटक लागेकाले गाउँ कार्यपालिकाको बैठक बसेर के गर्ने भन्ने विषयमा निर्णय गर्छौँ ।’