निजामती प्रशासनलाई सुधार गरेर यसप्रति नागरिक धारणा बदल्नुपर्ने आवश्यकतामा एकमत, सहज तरिकाले सेवा दिनुपर्ने पक्षमा
सामान्यतया सन् १९९७ देखि २०१२ बिचमा जन्मेको पुस्तालाई जेन–जीको परिभाषाले जोड्न थालिएको छ । प्रविधिको विकासले प्रारम्भिक गति समाउन थालेको र त्यसको प्रयोगमा अभ्यस्त हुँदै जन्मे–हुर्केको यो समूहको भिन्नतालाई जेन–जीले परिभाषित गर्छ । उस्तै जीवनशैली अपनाउने यो पुस्ताको सोच, रुचि, बानी, व्यवहारमा फरकपन छ । हरेक पेसा र व्यवसायभित्र पनि यो पुस्ताको फरकपन छुट्याउन सकिने गरी अलग छ ।
अलग पहिचान र कार्यव्यवहार निजामती प्रशासनभित्रका जेन–जीमा पनि देखिन्छ । निजामती प्रशासनलाई स्थायी सरकारका रूपमा मान्ने गरिन्छ । निश्चित कानुन, जिम्मेवारी र करिअर पथका आधारमा निजामती प्रशासन सञ्चालन हुन्छ । तर, संसारभर प्रक्रियामुखी र सेवाभन्दा स्वार्थमा लालायित हुने भनेर यो आलोचित पनि छ । यसका पछाडि प्रशासनयन्त्रको ढिलासुस्ती, प्रक्रियामुखी शैली, नागरिक सेवामा भन्दा व्यक्तिगत लाभमा रमाउने प्रवृत्ति जिम्मेवार छन् । प्रशासनको यो पुरातन शैलीप्रति भने जेन–जी आफैँ दिक्क छ । यसमा व्यापक सुधार गर्नुपर्नेमा जेन–जी एकमेल छ । अर्थात्, जेन–जी परम्परागत र पुरातन शैलीलाई फेर्न चाहन्छ ।
जेन–जीको अधिकतम उमेर अहिले २७ वर्ष छ । यसआसपास उमेरका जेन–जी कति छन् त निजामती प्रशासनमा ? यसका लागि लोकसेवा आयोगको पछिल्लो वार्षिक प्रतिवेदन हेर्नुपर्छ । आयोगको ६५औँ वार्षिक प्रतिवेदन ०८०/८१ ले यस अवधिमा सिफारिस भएका उमेर समूहअनुसारको संख्यात्मक वर्गीकरण गरेको छ । प्रतिवेदनअनुसार सिफारिस भएका उम्मेदवारको औसत उमेर २९ वर्ष छ । यो जेन–जी वा त्यससँग निकटतम् उमेर हो ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा दुई हजार ६८८ उम्मेदवार आयोगको परीक्षा पास गरेर निजामती सेवाका लागि सिफारिस भए । प्रतिवेदनले १८–२०, २१–२५, २६–३०, ३१–३५, ३६–४०, ४१–४५ र ४५ भन्दा माथिको समूहमा सिफारिस भएका उम्मेदवारको वर्गीकरण गरेको छ । त्यसमा अघिल्लो तीन वर्गीकरण अर्थात् न्यूनतम १८ देखि अधिकतम ३० वर्षको उमेर समूहका सिफारिस उम्मेदवार एक हजार ९०८ जना छ । अर्थात् यो कुल सिफारिसको करिब ७१ प्रतिशत हिस्सा हुन आउँछ । ३० वर्ष उमेरमाथिकाको सिफारिस हिस्सा भने २९.०२ प्रतिशत मात्र देखिन्छ । ठ्याक्कै जेन–जीको समूहअनुसारको नभए पनि प्रतिवेदनको वर्गीकरणले जेन–जी वा त्यसआसपासको उमेर समूहको सहभागिता निजामती सेवामा बलियो रहेको स्पष्ट आधार दिन्छ ।
लोकसेवाबाट सिफारिस भएका २०३ जना शाखा अधिकृतहरू अहिले सेवा प्रवेशअघि लिनैपर्ने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी छन् । ब्याच ३९ को यो समूहको ६ महिने लामो प्रशिक्षण गत मंसिरदेखि चलिरहेको छ । स्टाफ कलेजको सेवा प्रवेश प्रशिक्षण केन्द्रका प्रमुख (निर्देशक) राजेन्द्र अधिकारीका अनुसार समूहभित्र जेन–जीको संख्या यकिन गरेर ननिकालिए पनि तिनको हिस्सा करिब २७ प्रतिशत भएको बताउँछन् ।
जेन–जीको साझा स्वभाव र प्रवृत्ति नियालेका अधिकारीका अनुसार जेन–जीको विश्व दृष्टिकोण उन्नत छ । संसारलाई हेर्ने जेन–जीको दृष्टिकोण फरक रहेको तथा वैश्विक नयाँ प्रविधि र विकासबाट समूह निर्देशित रहेको उनको भनाइ छ । ‘खासगरी प्रविधि र ज्ञानमा जेन–जीको राम्रो पहुँच देखिन्छ,’ उनले भने, ‘उनीहरूको ज्ञान, सीप र व्यवहारमा निखारता ल्याउन तथा त्यसलाई हाम्रो शासकीय ढाँचामा कसरी उपयोगमा ल्याउने भन्ने सन्दर्भमा काम गर्नु आवश्यक छ ।’ जेन–जीको ज्ञानलाई व्यावहारिक उपयोगमा ल्याउनेबारे प्रशिक्षण आवश्यक रहेको उनको बुझाइ छ । यसैका लागि स्टाफ कलेजले काम गर्ने उनले बताए ।
स्टाफ कलेजको प्रशिक्षणमा सहभागी जेन–जी समूहका १० जनासँग नयाँ पत्रिकाले अन्तक्र्रियासमेत गरेको छ । जेन–जीले के सोच्छ ? कसरी काम गर्छ ? अघिल्ला या उदीयमान नयाँ पुस्तासँगको उसको समन्वय/साझेदारी, निजामती सेवाभित्र सुधारका उपायका विषयमा कुराकानी गरिएको छ ।
निजामती सेवामा नवप्रवेशी अधिकृत दीपशिखा आले सहज र प्रभावकारी तरिकाले नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने दायित्व निजामती प्रशासनले वहन गर्नुपर्ने बताउँछिन् । यही रूपमा आफूले निजामती प्रशासनलाई बुझेको उनको भनाइ छ । यद्यपि, व्यक्तिगत करिअर र सुरक्षाका विषयले पनि सेवातर्फ आफूलाई आकर्षण गरेको उनले बताइन् ।
अर्का अधिकृत तर्कराज जैशीको अलि फरक बुझाइ छ । उनका अनुसार अब नागरिकका समस्या तथा उनीहरूको धारणासमेतलाई प्रतिबिम्बित गरेर समाधानका उपायसहित नीति निर्माण गर्नु आवश्यक छ भने कार्यान्वयन तहमा पनि प्रभावकारिता ल्याउनु जरुरी छ । ‘सीधै माथिबाट आएको नीतिको कार्यान्वयन गर्दा समस्या देखिएका छन्,’ उनले भने, ‘अब तलैदेखि नागरिकका पृष्ठपोषण लिएर नीति बन्नुपर्छ र त्यसको प्रभावकारी कार्यान्वयनमा जानुपर्छ ।’
अर्का अधिकृत दीपक बराल निजामती प्रशासन र कर्मचारीप्रति आमबुझाइ नकारात्मक रहेको पाउँछन् । ‘कर्मचारीले घुस खान्छन् भन्ने बुझाइ जनमानसमा छ । यसलाई चिर्नुपर्ने ठूलो चुनौती हामीमाझ छ,’ उनले भने । अधिकृत नवराज खड्काको बुझाइ पनि बरालसँग मिल्दोजुल्दो छ । कर्मचारीप्रति नागरिकको व्यापक असन्तुष्टि रहेको अनुभूति उनले गरेका छन् । यो नागरिक असन्तुष्टिको समाधान गर्ने गरी काम र सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए । कर्मचारीतन्त्र भ्रष्ट भएको नागरिक आक्षेपलाई अर्का अधिकृत टेकबहादुर कार्कीले पनि बुझेका छन् । ‘तर, कर्मचारी वृत्तमा असलहरू पनि छन् भन्ने आभास नागरिकलाई दिलाउनुपर्ने चुनौती हामीमाझ छ,’ उनले भने । प्रशासन र राजनीतिबिच एकापसमा दोषारोपणको प्रवृत्तिलाई चिरेर सामाञ्जस्य कायम गर्नुपर्ने आवश्यकता पनि उनी देख्छन् ।
अधिकृत वसन्तबहादुर धामी अबको सार्वजनिक सेवाप्रवाहलाई प्रविधिसँग जोड्नुपर्ने आवश्यकता देख्छन् । प्रविधिको अधिकतम प्रयोग, आमसञ्चार र नागरिक अन्तक्र्रियालाई घनीभूत पार्नुपर्ने उनको मत छ । ‘सार्वजनिक प्रशासनलाई अधिकतम सहभागितामूलक र समन्वयात्मक बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने । तर, नयाँ पुस्तालाई विश्वास नगर्ने प्रवृत्ति विद्यमान रहेकोप्रति भने उनलाई चित्त बुझेको छैन । अधिकृत विश्वक्रान्ति ठाकुर निजामती कर्मचारीमा राजनीतिक तटस्थता हुनुपर्ने बताउँछन् । कर्मचारीले राजनीतिक रूपमा निष्पक्ष भएर जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
अधिकृत जगतबहादुर तामाङले सार्वजनिक प्रशासन सेवामा पारदर्शिताको अहं प्रश्नलाई पहिचान गरेका छन् । ‘सेवाप्रवाहको म्यानुअल पद्धतिले भ्रष्टाचार बढाएको देखिन्छ,’ उनले भने, ‘अब सेवाहरूलाई डिजिटाइजेसन गर्ने, कारोबारलाई नगदरहित बनाउने र रियलटाइम हेर्न मिल्ने गरी प्रणाली विकास गर्नुपर्छ ।’ सरकारी निकायबिच आपसमा समन्वय र सहकार्यको वातावरणलाई पनि सौहार्द पार्नुपर्ने चुनौती उनी देख्छन् । अधिकृत नरेश बोहराका अनुसार हरेक पुस्ता र समूहलाई त्यसैअनुकूल सेवा प्रवाह गर्नुपर्ने चुनौती जेन–जीलाई छ । अब १०–५ मा मात्र सीमित नगरी सार्वजनिक सेवाप्रवाहलाई २४ घण्टा नै सञ्चालन गर्ने गरी प्रणाली विकास गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
अर्की अधिकृत निशु झाको बुझाइमा प्रविधिको उच्चतम विकासको विद्यमान समयमा सेवा लिन सरकारी कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य गरेर नागरिकलाई घरमै सेवा पु¥याउनुपर्ने चुनौती आएको छ । सरकारी निकायमा डकुमेन्टेसनको समस्या उनी देख्छिन् । सेवालाई अब कागजरहित बनाउनुपर्ने आवश्यकता उनी औँल्याउँछिन् । जेन–जीमा धैर्य नभएको आरोपलाई यो समूहले चिर्नुपर्ने आवश्यकता पनि उनले महसुस गरेकी छिन् ।
जेन–जी समूहका अधिकृतहरू निजामती प्रशासनलाई सुधार गरेर यसप्रति नागरिक धारणा बदल्नुपर्ने आवश्यकतामा एकमत देखिन्छन् । नागरिकलाई हैरानी दिने होइन, सहज तरिकाले सेवा दिने वातावरण सिर्जना गर्नुपर्ने उनीहरू बताउँछन् । त्यस्तै, नीतिगत समन्वय, विद्युतीय सुशासनको पक्ष, पूर्वाधार विकास, नागरिकलाई पनि सुसूचित गराउनुपर्नेलगायत यावत् पक्षमा सुधारको आवश्यकता उनीहरूले औँल्याएका छन् ।