मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २२ सोमबार o७:oo:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समयमै लिन नआएको झोकमा विष्णुपुरकी उपाध्यक्षले फोडिन् सरकारी गाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार o७:oo:oo

आफूलाई लिन समयमा नआएको झोकमा सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले पालिकाकै गाडी तोडफोड गरेकी छिन् ।

सिंहले आइतबार बिहान करिब १० बजेतिर गाउँ कार्यपालिकानजिककै प्रमुख प्रशासकीयको क्वार्टरअगाडि राखिएको बा.२झ ३६४३ नम्बरको स्कर्पियो तोडफोड गरेकी हुन् । स्कर्पियोचालक बाबुनाथ यादवका अनुसार यादवलाई लिन जान गाडीमा बसिसकेका वेला एक्कासि ढुंगा–इँटा हानेर अगाडि र बायाँपट्टिको सिसा काम नलाग्ने गरी फुटेको छ ।

‘उपाध्यक्षले हानेको ढुंगा–इँटा सिसा फुटाएर भित्र पस्दा मुस्किलले आँखा जोगाएँ,’ उनले भने, ‘त्यसपछि पनि ढुंगा–इँटा हान्न नछोडेपछि गाडीबाट ओर्लिएर भागेर ज्यान जोगाएँ ।’ उपाध्यक्ष सिंहको घर पालिका कार्यालयबाट तीन किलोमिटरको दूरीमा गौरीपुरमै छ । उपाध्यक्ष सिंहले भने गाउँपालिका अध्यक्षसँग बिहान १० बज्नुअघि नै वडाको अनुगमन गर्न स्कर्पियो मागेको बताइन् ।

‘चिसो बढेपछि गाउँपालिकाको वडा कार्यालयमार्फत दाउरा वितरण भएको छ, त्यसैको अनुगमनमा जानुपर्ने थियो,’ उनले भनिन्, ‘भनेको समयमा पालिकाको गाडी नपठाएपछि मोटरसाइकलमा पालिकासम्म आएँ ।’ ‘ढिलो भयो भन्दैमा सरकारी स्वामित्वको गाडी तोडफोड गर्न मिल्छ त’ भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले कुनै जवाफ दिइनन् ।

गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले कार्यालयको स्कर्पियो तोडफोड भएलगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र स्थानीय प्रहरीलाई समेत मौखिक जानकारी गराएको बताए । ‘स्कर्पियोको अगाडि र बायाँतर्फको सिसा पूरै फुटेको छ,’ उनले भने । उनका अनुसार उपाध्यक्षले गत वर्ष पालिकाको लेखा शाखामा योजनाको भुक्तानीका लागि तयार भएको चेक खोसेर च्यात्नुका साथै झ्याल–ढोकासमेत तोडफोड गरेकी थिइन् ।