मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका मकवानपुर
२o८१ पौष २३ मंगलबार १९:५७:oo
Read Time : < 1 मिनेट
समाचार

राजनीतिक निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको एमालेका प्रमुख सचेतक बर्तौलाको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १९:५७:oo

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको आरोप लगाएका छन् । उद्योग संघ मकवानपुरको २३औँ साधारणसभालाई सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले प्रशासनिक नेतृत्वको कारणले नागरिकलाई विकास निर्माण तथा सेवा प्रवाहमा समस्या भइरहेको दाबी गरे ।

‘प्रशासनिक नेतृत्वको कारण डेलिभरीमा समस्या छ । राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको छ,’ उनले भने । मध्यवर्ती क्षेत्रको नाममा हेटौँडाको मयूरधाप औद्योगिक क्षेत्र निर्माणको काममा रोक्ने काम गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘९ वर्षदेखि मयूरधाप औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । उद्योग मन्त्रालयले समस्या हटाउन फाइल उठाउने पेस गर्ने काम गर्‍यो, तर वनको विभिन्न कारणले औद्योगिक क्षेत्रको काम हुन सकेको छैन,’ बर्तौलाले भने ।

उद्योगमैत्री वतावरण निर्माण राज्यले गर्नुपर्ने भन्दै उनले राजनीतिक अस्थिरताका कारण उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको बताए । आर्थिक संकटका कारण हेटौँडा सिमेन्ट उद्योग कोमामा पुगेको उनको भनाइ छ ।

लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले कच्चा पदार्थमा कम राजस्व लगाएको उल्लेख गर्दै राज्यले प्रशासनिक समस्या हल गर्दै उत्पादित वस्तुको बजार राज्यले गर्नु जरुरी रहेको उनको बताए । 

उद्योगहरूको समस्याका बारेमा नीति संवादका माध्यमबाट छलफल गरी बलियो अर्थतन्त्र, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनका लागि काम गर्नुपर्नेमा उनले जोड दिए ।
वर्तमान एमाले–कांग्रेस गठबन्धनको सरकारले केही गर्ने प्रयत्न गरिरहेको उनको दाबी छ । अघिल्लो सरकारले बनाएको बजेटमा काम गर्नुपर्ने अवस्था रहेकाले केही असहज अवस्था आइपरेको उनले बताए । 

कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले राजस्व वृद्धिमा सरकारको ध्यान जाँदा आयात बढिरहेको र सरकार आयातमुखी बन्दा उद्योगमैत्री वातावरण बन्न नसकेको उनले बताए ।